Logo
Logo

छिमेकी भारत र चीनको आर्थिक फड्को


डा. दीपेश केसी

0
Shares


विश्वको वास्तविक कुल गृहस्थ उत्पादनको वृद्धिमध्ये ४३ दशमलव ६ प्रतिशत योगदान चीन र भारतको मात्र रहेको तथ्याङ्क आएको छ । अन्तर्राष्ट्रिय मुद्राकोषले सार्वजनिक गरेको तथ्याङ्कमा चीनको २६ दशमलव ६ र भारतको १७ प्रतिशत योगदान छ । विश्वकै धनी देश अमेरिकाको योगदान ९ प्रतिशत छ ।

यो तथ्याङ्कलाई लिएर विश्वका सर्वाधिक धनी व्यवसायी एलन मस्कले विश्वको शक्ति सन्तुलन नै मोडिएको टिप्पणी गरेका छन् । उनको संकेत अबको शक्ति भारत र चीनतर्फ सर्दै गएको भन्ने हो । अर्थात्, पश्चिमा देशबाट बिस्तारै पूर्वतर्फ शक्ति स्थानान्तरण भइरहेछ ।

भारतले सन् २०२६ मा ७ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण छ । भारतीय आर्थिक सर्वेक्षणले सन् २०२७ मा ७ प्रतिशतसम्मको आर्थिक वृद्धिको प्रक्षेपण गरिसकेको छ । चीनको आर्थिक वृद्धिदर पनि द्रुत छ । सन् २०२६ मा चीनको आर्थिक वृद्धिदर ४ प्रतिशत माथि हुने विश्व बैङ्कको प्रक्षेपण छ । द्रुत आर्थिक वृद्धिले भारत जर्मनीलाई उछिन्दै विश्वको तेस्रो धनी देश बन्दै छ । अमेरिकालाई चुनौती दिन थालिसकेको चीन विश्वको दोस्रो धनी देश छ ।

२१औँ शताब्दीमा तीव्र आर्थिक वृद्धि हासिल गरेर चीन र भारतले जुन प्रगति गरेका छन् त्यसले पश्चिमा देशहरूमा केन्द्रित शक्ति सन्तुलन पूर्वतर्फ सर्दै गएको संकेत गर्दछ । एक्काइसौँ शताब्दी पूर्वको हो भन्ने जुन प्रक्षेपण थियो त्यही अनुसार विश्व ध्रुवीकरण हुँदै अघि बढिरहेको छ ।

भारतले गत वर्ष बेलायत, ओमान र न्युजिल्याण्ड जस्ता देशहरूसँग व्यापार सम्झौता ग¥यो । यसै वर्ष यूरोपेली युनियनसँग पनि व्यापार सम्झौता गरेको छ । अमेरिकी ‘ट्यारिफ’का बाबजुद भारतले आर्थिक वृद्धि झन् बढी हासिल गर्न सक्यो । यसकारण भारतसँग व्यापार सम्झौता गर्न शक्तिशाली देशहरूले नै सक्रियता बढाइरहेछन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसै हप्ता विश्वमा भूराजनीतिक अस्थिरता बढेको भन्दै नयाँ विश्व व्यवस्था भारततर्फ ढल्किएको टिप्पणी गरेका छन् । विश्वका धनी देशहरूमा बुढ्यौली उमेरको जनसङ्ख्या बहुसङ्ख्यक हुनु र भारतसँग युवा जनसङ्ख्या आधाभन्दा बढी नै हुनुले उसलाई लाभ मिलिरहेको छ ।

भारतसँग ६५ प्रतिशत जनसङ्ख्या ३५ वर्षमुनीको रहेको तथ्याङ्क छ । विश्वकै सर्वाधिक जनसङ्ख्या भएको देश भारतसँग युवा जनसङ्ख्या बढी हुनुले आर्थिक वृद्धिदरमा भरपुर साथ मिलिरहेको छ ।

विश्व राजनीतिमा पछिल्ला वर्षहरूमा धेरै उथलपुथलका घटनाहरू भए । कोरोना भाइरसको महामारीले विश्व अर्थतन्त्रमै हलचल ल्यायो । तर, भारत र चीनको आर्थिक वृद्धि रोकिएन । उनीहरूले संकटको घडीमा आर्थिक सन्तुलन मिलाउन सके । दुवै देशले आर्थिक फड्को मारिरहे । युक्रेन युद्धले विश्व राजनीतिमै तरङ्ग ल्यायो । विश्वभर कच्चा तेलको मूल्य वृद्धि भयो । विगत चार वर्षमा सुनचाँदी जस्ता बहुमूल्य धातुका मूल्य दोब्बरभन्दा बढीले वृद्धि भयो ।

भारत र चीनले कच्चा तेल सस्तो मूल्यमा खरिद गरेर लाभ लिए । युद्धका बेलामा रुसले भारत र चीनलाई भारी छूटमा कच्चा तेल बेच्यो । सुन अत्यधिक बचत गरे भारत र चीनले । दुवै देशले आफ्नो व्यापार फैलाउन थाले । यसले विश्व व्यवस्थालाई नयाँ मोड दियो ।

सन् २०२५ को सांघाई कोअरपरेशन अर्गनाइजेसनको सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन एक ठाउँमा भेला भएर विश्वलाई नयाँ सन्देश दिएका थिए । एक प्रकारले भन्ने हो भने, त्यो नयाँ विश्व व्यवस्थाको घोषणा नै थियो । विश्वकै बढी जनसङ्ख्या भएका भारत र चीन अनि विश्वकै ठूलो देश रुसका नेताहरूको एकसाथ भएको भेटले विश्व राजनीतिमै तरङ्ग ल्याइदियो । अमेरिका, बेलायत, यूरोपेली युनीयनका सदस्य राष्ट्रहरूका लागि भारत र चीन चुनौतीसँग बाध्यता पनि बन्न थाले ।

कुनैबेला पश्चिमाहरूको रणनीति र कदमले विश्व व्यवस्था नै निर्देशित हुन्थ्यो । भारत र चीनको द्रुत आर्थिक विकास, विश्वव्यापी फैलावट र सैन्य सुदृढीकरणले पूर्वतर्फ विश्वको शक्ति सन्तुलन नै स्थानान्तरण भएको यथार्थलाई अझ प्रस्ट पारिदियो ।

आजको बदलिँदो विश्वमा आर्थिक विकास मात्र शक्तिको मापन हुन सक्दैन । सैन्य शक्ति पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । भारत र चीनले सैन्य बजेटमा व्यापक वृद्धि गरेर शक्ति सञ्चयमा जोडबल गरिरहेका छन् । अत्याधुनिक हतियार र प्रविधि अमेरिका, रुस, फ्रान्स र बेलायतमा बढी छ । दुनियाँका सबैभन्दा बढी आणविक अस्त्र पनि यिनै देशहरूमा बढी छ ।

त्यसमाथि रुस र अमेरिका आणविक अस्त्रमा पहिलो र दोस्रो नम्बरमा छन् । यो यथार्थ बुझेका भारत र चीनले तीव्र सैन्य शक्तिमा वृद्धिको रणनीति बनाएको देखिन्छ । चीनले आफै अत्याधुनिक हतियार निर्माण गरेर सैन्य शक्ति वृद्धि गरिरहेछ ।

भारतले हतियार निर्माणमा स्वाबलम्ब बन्ने नीति अगाडि सारेको छ । फ्रान्ससँग थप राफेल युद्धक विमान खरिद गर्दै छ । रुससँग संयुक्त रूपमा मिसाइललगायत हतियार निर्माण गरिरहेछ । इजरायल, फ्रान्स र जर्मनी जस्ता देशसँग संयुक्त रूपमा अत्याधुनिक हतियार निर्माणमा भारत लागेको छ । यी घटना विश्व व्यवस्थामा आएको परिवर्तनका सङ्केतहरू मिलिरहेको छ ।

भारत र चीनको विश्वमै शक्तिशाली बन्ने दौडले उनीहरूका छिमेकमा विभिन्न शैलीमा राजनीतिक तरङ्गहरू आइरहेका छन् । पूर्व र पश्चिमबीचको शक्तिशाली बन्ने प्रतिस्पर्धामा त्यस्ता तरङ्गहरू आउनु स्वाभाविक पनि हो । बलिया देशहरू आफै सिधा जुध्दैनन् । उनीहरू छेउछाउका देशहरूबाट आफ्नो दाउपेच चलाइरहेका हुन्छन् । सामरिक महत्वका देशहरूमा उपस्थिति बढाउने र एकले अर्को देशमाथि दबाब बनाउने रणनीति चलिरहन्छ ।

भारत र चीनमाथि दबाब बढाउन कतिपय पश्चिमा देशहरूले नेपाल, बङ्गलादेश, श्रीलंका, मालदिभ्स जस्ता देशहरूमा चासो बढाइरहेको तथ्य लुकेको छैन । भारतलाई दबाबमा राख्न पाकिस्तानमा विभिन्न नाममा पश्चिमाहरूले लगानी गरेको समाचार बेला बेलामा छताछुल्ल भइरहने गरेको छ ।

आंतकवादविरुद्धको लडाइँ भन्दै अमेरिकाले पाकिस्तानलाई अरबौँ डलर विनास्वार्थ त्यसै दिएको थिएन । ट्रम्पले पाकिस्तानी सेनापति मुनिरलाई व्हाइट हाउसमा लन्च बैठक नै गरेका थिए । बंगलादेशमा अमेरिकाले ठूलो धनराशी खन्याएको राष्ट्रपति ट्रम्पले खुलाइसके । त्यहाँको सत्तापलटमा त्यो धनराशीले निकै ठूलो भूमिका खेल्यो । भारतको छिमेकमा बढ्दो राजनीतिक अस्थिरता र बाह्य चासो उसका लागि उत्तिकै चुनौती बनेको छ ।

ताइवानमा पश्चिमा लगानी चीनका लागि ठूलो चुनौती छ । जापानसँग अमेरिकी निकटता होस् या साउथ चाइना सीमा रहेको विवादका नाममा भएका सैन्य विस्तार, बाह्य भूमिका, द्वन्द्वको असर सिधा चीनमाथि नै बढी छ । यो विवादसँग सम्बन्धित देशहरू भियतनाम, फिलिपिन्सलगायत उत्तिकै प्रभावित छन् ।

बलिया देशहरूको द्वन्द्वका असर विभिन्न रूप बनेर वरपरका देशहरूमा देखिन्छन् । ती रूपहरूमा बाह्य चलखेल, छिमेकबीच युद्ध, आन्तरिक अस्थिरता देखि गृहयुद्धसम्मका घटनाहरू हुन सक्छन् । त्यस्ता चुनौती भविष्यमा चीन र भारतका छिमेकी देशहरूमा रहन सक्छन् ।

भारत र चीन जस्तो तीव्र आर्थिक वृद्धि र सैन्य शक्ति बनाइरहेका देशहरूको बीचमा छ नेपाल । एकातर्फ भारत र चीन नै प्रतिस्पर्धामा छन् । अर्कोतर्फ, तीव्र गतिमा पश्चिमबाट पूर्वतर्फ स्थानान्तरण भइरहेको शक्तिका कारण भारत र चीन नै चुनौतीको सामना गरिरहेछन् । यसको असर नेपालमा पनि परिरहेको छ । नेपालमा हुने गरेका ठुलो राजनीतिक घटनालाई नेपालको आन्तरिक मामिला मात्र हो भन्नु आलोकाँचो बुझाइ भन्नुपर्छ ।

यहाँ धेरै शक्ति खुल्ला तथा छद्म प्रतिस्पर्धामा सक्रिय छन् । नयाँ विश्व व्यवस्था र विश्वमा देखिएको शक्ति स्थानान्तरणको असर नेपालसम्म परेको छ । भविष्यमा यसले नयाँ नयाँ चुनौती थप्दै जाने नै छ । यसका लागि पूर्वतयारी अनिवार्य छ । जसमा राज्यका दिगो र महत्वपूर्ण संस्थाहरू चनाखो रहनुपर्छ । नेपाललाई केन्द्रमा राखेर देश हितका लागि कदम चाल्ने हो भने तीव्र विकास गरिरहेका भारत र चीनलाई समेत विश्वासमा लिएर बढ्नुपर्छ । यसैमा नेपाल र नेपालीको हित छ ।

प्रतिक्रिया दिनुहोस्