Logo
Logo

नीति निर्माणको थलो कि ‘चटके’हरूको रङ्गमञ्च ?


शरद् रिजाल

630
Shares

जेनजी विद्रोहले केपी शर्मा ओलीको दुई तिहाइको सरकार अपदस्त गर्दै सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भएर मुलुक निर्वाचनमा होमिएको छ । मुलुकको जटिल संक्रमणकालीन अवस्था पार गर्दै यस निर्वाचनले भावी राजनीतिक भविष्यको दिशानिर्देश गर्ने अपेक्षा गरिए पनि कतिपय उम्मेदवारहरूको क्रियाकलापले आगामी संसद् नीति निर्माण गर्ने थलो नभएर चटकेहरुको हाँस्या प्रहसन गृहमा सीमित हुने त होइन भन्ने संशय पैदा गरेको छ ।

आगामी फागुन २१ को चुनावी दौडमा लागेका अनेकौँ अमुक पात्रहरूको चर्तिकलाले राजनीतिलाई पुनर्परिभाषित गर्नुपर्ने बाध्यात्मक अवस्थामा पु¥याउँदै बग्रेल्ती नैतिक प्रश्न उठाएको छ । यसले निर्वाचन उत्साहमय बनाउने भन्दा पनि राजनीतिलाई सहजै पद–प्रतिष्ठा आर्जन गर्ने माध्यमको रूपमा स्थापित पुरानै भाष्यलाई बढोत्तरी गर्दै थप नैराश्यता बढाएको छ ।

आफ्नो पेसागत क्षेत्रमा उत्कृष्टता हासिल गरेका निपुण पात्रदेखि आफू आबद्ध क्षेत्रको उपहास गर्दै जनताको महादेश विपरीत बिचमै कार्यकाल अधुरै छाडेका जनप्रतिनिधि समेत चुनावी दौडमा सरिक भएका छन् । उनीहरूको चुनावी सहभागिताले राजनीतिलाई विशुद्ध सत्तारोहणको मूल्यहीन साधनका रूपमा चित्रित गर्ने पुरानै दलीय प्रवृत्तिलाई निरन्तरता दिएको छ ।

स्थानीय सरकार प्रमुख, प्रदेश सांसद, प्रशासक, प्रहरी प्रमुख, पत्रकार, चिकित्सकदेखि कथित अभियान्ताहरुको उम्मेदवारी मोहले राजनीति आदर्श भावले ओतप्रोत भएर गरिने निस्वार्थ सेवा भन्दा पनि राजकीय तहमा पुगेर सत्ता स्वार्थपूर्ति गर्ने साधनका रूपमा चित्रण गरेको छ । यसले विगतदेखि नेपाली राजनीतिमा व्याप्त वितृष्णा झनै बढाउने संकेत देखिन थालेको छ ।

स्वघोषित अभियन्ता आशाका तामाङको समग्र राजनीति नै लज्जित तुल्याउने चुनावी प्रचार शैली र अस्वाभाविक हर्कतले राजनीति सक्षम र योग्य व्यक्तिको लागि नभएर चटके र स्टन्टबाजहरुले अवसर प्राप्ति गर्ने साधनमा परिणत हुने जोखिम बढाएको छ ।

उनले उटपट्याङपूर्ण तवरले पशुपंक्षीलाई भोट दिन आग्रह गरेको दृश्य त्यस क्षेत्रका मतदातालाई लज्जित तुल्याउने खालको छ । यसको आशय कतै उनले विवेकशील मतदातालाई पशुतुल्य ठान्ने दुस्साहस त गरेकी हैनन् ? एक प्रतिनिधि पात्रको रूपमा रहेकी उनको यस्तो हर्कतले अनेकौँ प्रश्न उब्जिएको छ ।

अर्कोतर्फ, पाँच वर्षे कार्यकाल पूरा नगरी बिचैमा जिम्मेवारी छाडेर निर्वाचनमा होमिएका विभिन्न तहका जनप्रतिनिधिदेखि चुनाव सम्पन्न गराउने दायित्व बोकेका मन्त्रीहरूमा व्याप्त उम्मेदवारी मोहले उनीहरूको गैरजिम्मेवारपन उजागर गर्दै राजनीतिमा थप अनैतिक र अविश्वसनीयतालाई प्रश्रय दिएको छ ।

उसोत पछिल्लो समय नेपालमा सर्वाधिक अविश्वसनीय र उपेक्षित क्षेत्र राजनीति भएर त्यसमा आबद्ध दल एवं नेताहरुलाई भुठको पर्यायका रूपमा चित्रित गर्ने गरिन्छ । त्यसकै परिणतिस्वरुप पुराना दलहरूप्रति जनता रुष्ट भएर नयाँप्रति आकर्षण बढेको बुझ्न कठिन छैन ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले त जनताले नेतालाई चोरको संज्ञा दिन थालेको काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन सत्रमा सार्वजनिक रूपमै बताएका थिए । अहिले त्यतिमात्रै होइन, तिनै नेतालाई जनताले भ्रष्ट र जेनजीका हत्याराको आक्षेप समेत लगाउन थालेका छन् ।

यसप्रकारले विकृत र अविश्वसनीय बनेको नेपाली राजनीति पछिल्लो समय चुनावमा होमिएका नयाँ उम्मेदवारहरूको अस्वाभाविक हर्कत र अशोभनीय कार्यले झनै लज्जास्पद अवस्थामा पु¥याएको छ ।

सुशीला कार्की नेतृत्वको नागरिक सरकारमा रहेर निष्पक्ष निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गरेको दुइ दिनमै सञ्चारमन्त्री जगदीश खरेल उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिए । अर्का शिक्षा मन्त्री रहेका महावीर पुन त कसैलाई पत्तै नदिई एकाएक राजीनामा दिएर उम्मेदवार भएको समाचार सार्वजनिक भयो । उनै महावीर पुनले आफू राजनीतिमा कुनै हालतमा नआउने प्रतिबद्धता उम्मेदवारी दर्ताको पूर्वसन्ध्यामा गरेका थिए ।

अर्का विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदै कार्की सरकारमा मन्त्री बनेका कुलमान घिसिङ झनै चुनावी सरकारमा रहेर नै आफ्नै नेतृत्वमा नयाँ दल समेत खोल्न भ्याए । यद्यपि, चौतर्फी विरोध पछि अन्ततः उनी राजीनामा दिएर दलीय सक्रियता बढाउँदै निर्वाचनमा होमिएका थिए ।

त्यस्तै, अर्का नेपाली सञ्चार क्षेत्रमा पत्रकारिता कम उपद्रो ज्यादा गरेर चर्चामा आएका ऋषि धमलाको त झनै कुरा गरी साध्य छैन । असान्दर्भिक प्रश्नको झटारो हान्दै अन्तर्वार्तामा अतिथिको हुर्मत लिएर चर्चामा आएका सञ्चार उद्यमी धमलाको चुनावी हर्कत त झनै हाँस्यकलाकार समेत बिर्साउने खालको छ । उनले उम्मेदवारी दिएको क्षेत्रमा भोटका लागि रोइकराई गर्नेदेखि जसले जे गरेको भेट्यो त्यही काम गर्दै चुनावी राजनीतिलाई नै हाँस्या प्रहसनमा सीमित गरी समग्र निर्वाचन प्रक्रियाकै उपहास गरेका छन् ।

यसरी विगतमा विभिन्न पेसागत क्षेत्रमा रहेर आफ्नै कर्म गरिरहेकाहरू समेत निर्वाचनमा होमिँदै अविश्वसनीय बन्ने कार्य राजनीतिक शुद्धीकरणका लागि नभएर परम्परागत दलीय चरित्रलाई माथ खुवाउने अर्को नयाँ संस्करण मात्रै हो । यस्तो राजनीतिक एजेन्डा बिना नै नाटकीय क्रियाकलाप गरेर मत आर्जन गर्दै सांसद बन्ने मोह सचेत मतदाता र संसदीय राजनीतिकै अवमूल्यन हो । यो दूषित राजनीतिको विकल्प नभएर त्यसलाई झनै विकृत बनाउँदै राजनीति भनेको विचार, सिद्धान्त, नीति, कार्यक्रम र योजना विहीन हाँस्या शृङ्खलामा परिणत गर्ने अर्को अनैतिक कार्य हो ।

आम नागरिकको राजनीतिबाहेक आ–आफ्ना पेसागत जिम्मेवारीसहित मुलुकप्रति संवैधानिक एवं सामाजिक उत्तरदायित्व पनि हुन्छन् । सबैले आफ्नो सामाजिक दायित्व र पेसागत अभिभारा इमानदारीपूर्वक बहन गर्न सके राट्रसेवाका लागि राजनीतिक सक्रियता आवश्यक पर्दैन । सबैले आफ्नो निर्दिष्ट दायित्व कुशलतापूर्वक निर्वाह गर्न सके त्यही नै मुलुकप्रतिको निस्वार्थ योगदान हो ।

तर, अन्य क्षेत्रमा रहेर पनि देश र जनताको पक्षमा इमानदारीपूर्वक काम गर्ने प्रचुर सम्भावना हुँदाहुँदै त्यो पूर्णतया परित्याग गर्दै निर्वाचनमा हाम फाल्नु भनेको आफ्नो निर्दिष्ट दायित्वबाट विमुख भएर नयाँ अवसरका लागि भौँतारिने गैरजिम्मेवार कार्य हो ।

यसले ती व्यक्तिमा अन्तरनिहीत शासकीय मनोवृत्ति उजागर गर्दै राजकीय पद प्राप्तिको महत्वकांक्षी चरित्र उदाङ्गो पारेको छ । यो निस्वार्थ र सेवामूलक भावले उत्प्रेरित उम्मेदवारी नभएर सत्ता प्राप्तिको उत्कट महत्वकांक्षाले ग्रसित चरम अवसरवादी प्रवृत्तिको दुष्परिणाम हो ।

नेपाली राजनीतिमा विद्यमान दलहरूको अक्षमताले सिर्जित वर्तमान दुर्दशापूर्ण अवस्थालाई आ–आफ्नो क्षेत्रबाट सुधार्न प्रयत्न नगरी त्यही कमजोरीलाई नै आफ्नो सत्ता प्राप्तिको माध्यमका रूपमा उपयोग गर्ने कुतसित मनशाय मौकापरस्त अवसरवादको द्योतक हो ।

यसरी आफ्नो निर्दिष्ट दायित्व वहन गर्न नसकेर छिट्टै राजकीय पद हत्याउँदै शान प्रदर्शन गर्ने पुरानै दलीय चरित्र अङ्गीकार गरेका पात्रहरूबाट मुलुकले के चाहिँ नयाँपन अनुभूति गर्न पाउँला ? अहिले आम सचेत नागरिकले विभिन्न पदीय जिम्मेवारी परित्याग गर्दै चुनाव केन्द्रित राजनीतिमा दिलोज्यान लगाएका पात्रमाथि यस्तै कटाक्ष गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्