Logo
Logo

रुकुमपूर्व र रोल्पामा प्रचण्ड र वर्षमान ढुक्क


63
Shares

काठमाडौं । आगामी फागुन २१को निर्वाचन नजिकिएसँगै देशभर चुनावी सरगर्मी निकै बढेको छ । सोमबारदेखि चुनाव प्रचार प्रसारका लागि निर्वाचन आयोगले बाटो खोलेपछि उम्मेदवारहरुले घरदैलो अभियान तीव्र बनाउँदै चुनावी गतिविधि अघि बढाएका छन् ।

माओवादीको बलियो जनाधार भएको आधार इलाकाको रुपमा परिचित लुम्बिनी र कर्णाली प्रदेशका जिल्लामा अहिले माओवादी समाहित भएर बनेको नेकपाबाट उम्मेदवारी दिएका पूर्वमाओवादी नेताहरुले आफ्नो साख जोगाउने प्रयत्न गरिरहेका छन् । यस क्षेत्रमा माओवादीले विगतका निर्वाचनमा आफ्नो बलियो उपस्थिति देखाउँदै आएको थियो । माओवादीको दश वर्षे जनयुद्धको आधार इलाकाका रुपमा परिचित यिनै क्षेत्रमा यसपालि शीर्षनेताहरु मैदानमा उत्रिएका छन् ।

माओवादीको बलियो प्रभाव क्षेत्रका रुपमा रहेको रोल्पामा नेकपाका नेता वर्षमान पुनले उम्मेदवारी दिएका छन् । एक मात्रै निर्वाचन क्षेत्र रहेको रोल्पामा पुनको मुख्य प्रतिस्पर्धा कांग्रेससँग हुने देखिएको छ ।

विगतदेखि नै माओवादीको बलियो जनाधार रहेको रोल्पामा यसपाली पनि उनै पुन दोहोरिने बताइन्छ । एकमात्रै निर्वाचन क्षेत्र रहेको रोल्पामा २०४८ सालदेखि नै माओवादीले जित्दै आएको थियो । तत्कालीन अवस्थामा माओवादीको पूर्ववत घटक संयुक्त जनमोर्चाले रोल्पाका दुई क्षेत्रमै जित हात पारेको थियो । त्यसयता दश वर्षे जनयुद्धको अवधिमा कांग्रेस र राप्रपाले जिते पनि ०६४ सालपछि माओवादीको एकल बर्चस्व कायम छ ।

यसपालि पनि माओवादी घटक सहित अन्य वाम घटक मिलेर बनेको नेकपा नै रोल्पामा सांगठनिक रुपमा र विगतको मतपरिणामका आधारमा बलियो देखिन्छ । गत २०७९ को निर्वाचनमा वर्षमान पुनले २५ हजार २२९ मतान्तरसहित एमालेका उम्मेदवारलाई पराजित गरेका थिए ।

०७९ को निर्वाचनमा तत्कालीन नेकपा(माओवादी केन्द्र)का पुनले ४१,७१४ मत ल्याएका थिए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका पूर्णबहादुर बुढा मगरले १६,४८५ मत ल्याएका थिए ।

त्यतिबेला कांग्रेससहितको संयुक्त गठबन्धनबाट पुन विजयी भए पनि रोल्पामा यसपटक उनै पुन निर्विकल्प उम्मेदवार हुन् । गत निर्वाचनको मत परिणाम अनुसार माओवादीले यहाँ समानुपातिक मत २८, १५९ मत ल्याएको थियो भने निकटतम प्रतिस्पर्धी दल कांग्रेसले १५,०७० मत ल्याएको थियो । यहाँ पुनको मुख्य प्रतिस्पर्धा कांग्रेसका उम्मेदवार सुदन वलीसँगै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

त्यस्तै माओवादीको आधार क्षेत्रकै रुपमा रहेको रोल्पाकै अर्को छिमेकी जिल्ला पूर्वी रुकुम र पश्चिम रुकुममा पनि चुनावी रौनक निकै बढेको छ ।

पूर्वी रुुकममा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी दिएका छन् । पहिले एउटै जिल्ला रहेको साविक रुकुमबाट विभाजित भएर नयाँ जिल्ला बनाइएको पूर्वी रुकुम पूर्ववत् माओवादीको बलियो आधार क्षेत्र हो । त्यहाँ नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उम्मेदवारी दिएपछि देशभर सबैको चासोको केन्द्र बनेको छ ।

पूर्वी रुकुममा प्रचण्ड बलियो उम्मेदवार हुन् । एकमात्रै निर्वाचन क्षेत्र रहेको पूर्वी रुकुममा साविकको माओवादी केन्द्रबाट पूर्ण घर्ती विजयी भएका थिए । गत निर्वाचनमा माओवादीका उम्मेदवार घर्तीले १२,२६२ मत ल्याएर विजयी भएका थिए । उनका निटतम प्रतिस्पर्धी एमालेका कैलाशकुमार मल्लले ५,२११ मत ल्याएका थिए ।

करिब सात हजार बढी मतान्तरसहित माओवादीका उम्मेदवार घर्ती विजयी भएका थिए । पूर्वी रुकुममा माओवादीको समानुपातिक मत ३४,३४७ रहेको छ । यहाँ एमालेको समानुपातिक मत ८,७६९ भने कांग्रेसको ८,७६६ रहेको छ ।

तीनवटा मात्रै स्थानीय तह रहेको पूर्वी रुकुम साविकको माओवादीको गढका रुपमा परिचित जिल्ला हो । विगतको मत परिणाम अनुसार पूर्वी रुकुममा तत्कालीन माओवादीको बलियो जनाधार भएकाले प्रचण्ड सुरक्षित निर्वाचन क्षेत्रको खोजीमा त्यहाँ पुगेको बताइन्छ ।

जर्नादनलाई एमालेको साथ

रुकुम पश्चिममा माओवादीबाट निरन्तर निर्वाचन जित्दै आएका जनार्दन शर्माले पूर्ववत पार्टी छाडेर नयाँ दलबाट निर्वाचनमा होमिएका छन् । २०६४ सालदेखि निरन्तर माओवादीबाट निर्वाचन जित्दै आएका शर्माले यसपटक भने प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)बाट उम्मेदवार बनेका छन् । पूर्ववत पार्टी परित्याग गरेर नयाँ दलमा लागेका शर्मालाई यो निर्वाचनमा एमालेले आधिकारिक रुपमै समर्थन गरेको छ । गत निर्वाचनमा करिब तेब्बर मतले विजयी भएका शर्मालाई यसपालि एकलरुपमा चुनाव लड्दा निर्वाचन जित्न असहज हुने भएरै एमालेको साथ खोजेको देखिन्छ ।

गत निर्वाचनमा शर्माले आफ्ना प्रतिस्पर्धी एमालेका नन्दराम देवकोटालाई २६ हजार भन्दा बढी मतान्तरसहित विजयी भएका थिए । शर्माले ३९,५४९ मत ल्याउँदा एमालेका देवकोटाले १२,९६१ मत ल्याएका थिए । अहिले गत निर्वाचनमा शर्मासँग पराजित भएका देवकोटाले यसपटक शर्मालाई साथ दिँदै चुनावी अभियानमा सघाइरहेका छन् ।

रुकुमपश्चिममा शर्माको व्यक्तिगतरुपमा पनि बलियो प्रभाव अझैसम्म कायम रहेको बताइन्छ । यद्यपि, संगठित मत भने उनी अर्को पार्टीमा लागेपछि घट्ने आँकलन गरिएको छ । यहाँ जनार्दन शर्माको पूर्ववत दलबाट उनकै सहकर्मी गोपाल शर्माले उम्मेदवारी दिएका छन् । रुकुम पश्चिममा दुबै पूर्वसहकर्मीको बिचमा निकै रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्