Logo
Logo

रास्वपा समर्थकले ओलीविरुद्ध नाराबाजी र झण्डा जलाएपछि एमालेको आपत्ति


1.1k
Shares

काठमाडौं । नेकपा (एमाले) जिल्ला कमिटी दाङले तुलसीपुर क्षेत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरिएको र पार्टीको झण्डा जलाइएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ ।

बिहीबार राति तुलसीपुर बजार क्षेत्रमा रास्वपा समर्थकले एमालेका झण्डामा आगजनी गर्नुका साथै ‘ओली चोर देश छोड भन्दै’ नाराबाजी गरेका थिए । एमाले जिल्ला अध्यक्ष शिवकुमार आचार्यले विज्ञप्ति जारी गरेर यस कार्यलाई लोकतान्त्रिक संस्कार, राजनीतिक शिष्टाचार र कानुनी शासनमाथिको खुला प्रहारको रूपमा चित्रण गरेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रताको अधिकार अराजकता, उच्छृङ्खलता र द्वेषपूर्ण आचरणको अनुमतिपत्र होइन । राजनीतिक असहमतिलाई विचार, बहस र जनमतमार्फत व्यक्त गरिनुपर्छ, हिंसात्मक र उत्तेजक व्यवहारबाट होइन ।’

एमालेले रास्वपालाई एक जिम्मेवार राजनीतिक शक्तिको रूपमा प्रस्तुत हुन आग्रह गर्दै सस्तो लोकप्रियता (प्रियतावाद) का लागि गरिने यस्ता क्रियाकलापको अन्त्य दुखद हुने चेतावनी समेत दिएको छ ।

साथै, शान्ति–सुरक्षामा खलल पुग्ने गरी भइरहेका यस्ता गतिविधिलाई नियन्त्रण गर्न र संलग्नहरूलाई कानुनी दायरामा ल्याउन एमालेले सरकार र सम्बन्धित पक्षसँग माग गरेको छ । आफ्नो धैर्यता र संयमतालाई कमजोरीका रूपमा नलिन समेत विज्ञप्तिमार्फत सचेत गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्