एजेन्सी । जापानको ओसाका शहरमा पुरानो पानी वितरण प्रणाली सुधार गर्न एक अनाम दाताले २१ किलोग्राम सुन दान गरेका छन् ।

ओसाका शहरका मेयर हिदेयुकी योकोयामा का अनुसार, दाताले दिएको सुनको मूल्य करिब ३६ लाख अमेरिकी डलर बराबर रहेको छ। मेयर योकोयामाले पत्रकार सम्मेलनमा दाताको नाम नखुलाउने जानकारी दिएका थिए। यसअघि पनि सोही दाताले ओसाकाको पानी वितरण प्रणालीका लागि ५ लाख येन दान गरिसकेका थिए।
झन्डै ३० लाख मानिसको बसोबास रहेको ओसाका जापानको तेस्रो ठूलो शहर हो र कान्साई क्षेत्रको व्यस्त व्यापारिक केन्द्र पनि हो ।
सन् २०२४ मा ओसाकामा पाइप फुटेर बाटोमुनिबाट पानी चुहावट भएका ९० भन्दा बढी घटनाहरू दर्ता भएका थिए । ओसाकासहित अन्य शहरमा पनि पुराना पाइपलाइन र ढल निकास प्रणालीले सुरक्षा चिन्ता बढाएको सरकारी निकायले जनाएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार जापानमा २० प्रतिशतभन्दा बढी पाइपलाइनले कानूनी रूपमा तोकिएको ४० वर्षको अवधि पार गरिसकेका छन् ।














