गण्डकी । प्रधानमन्त्री सुशीला कार्कीले यही फागुन २१ हुने निर्वाचनका सम्बन्धमा गण्डकी प्रदेशको सुरक्षा व्यवस्थालगायतका विषयमा जानकारी लिएकी छन् ।

प्रधानमन्त्री कार्कीलाई प्रदेश प्रमुख सचिव डण्डुराज घिमिरे, प्रदेशस्तरीय सुरक्षा निकायका प्रमुखहरू, कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासे, प्रदेश निर्वाचन अधिकारी नारायण ढकाललगायतले सुरक्षा व्यवस्थालगायत विषयमा जानकारी गराएको थियो ।
आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्बन्धमा भइरहेका तयारीलगायत विषयमा प्रधामन्त्रीले जानकारी लिएको प्रदेश प्रमुख सचिव डण्डुराज घिमिरेले जानकारी दिए ।
“प्रदेशमा सुरक्षा संयन्त्रसहितको निर्वाचन सेल रहेको छ, यही सेलबाट भएगरेका गतिविधि उनलाई जानकारी गराइनुुका साथै निर्देशन लिने काम भएको छ”, प्रमुख सचिव घिमिरेले भने । पोखरा विश्वविद्यलायको २१औँ दीक्षान्त समारोहको अवसर पारी प्रधानमन्त्री पोखरा आएका हुन् ।











