
बंगलादेशमा जुन बेला युवा विद्रोह भयो त्यतिबेलासम्म उसले तीव्र आर्थिक वृद्धि हासिल गरिरहेको थियो । पूर्वाधार विकासमा बंगलादेशले अभूतपूर्व प्रगति गरिरहेको थियो । भ्रष्टाचार, बेरोजगारी, नातावाद कृपावादले नयाँ पुस्तामा व्याप्त असन्तुष्टिले विद्रोहलाई रोक्न सकेन । ठूलो जनधनको क्षतिबीच शेख हसिनाको सत्ता पल्टियो । त्यसको १८ महिनापछि भएको निर्वाचनमा हसिनाले प्रतिबन्ध लगाएको दल बंगलादेश नेस्नलिष्ट पार्टीले संसदमा दुई तिहाइ सिट जितेर सत्ताको बागडोर सम्हाल्ने ठाउँमा पुगेको छ । यतिबेला हसिनाको दल अबामी लिग प्रतिबन्धित छ । उनी भारतमा निर्वासित छिन् ।
इतिहास दोहोरिन्छ तर पात्र फरक हुन सक्छन् । हसिना सत्तामा हुँदा बंगलादेश नेसनलिष्ट पार्टी प्रतिबन्धित भयो । उक्त दलकी नेता बेगम खालिदा जियाका छोरा तारिक रहमान लामो समय निर्वासित भएका थिए । अहिले तारिक सत्तामा र हसिना निर्वासित छिन् ।
पाकिस्तानसँग निकटस्थ मुस्लिम कट्टरपन्थी जमाते ई इस्लामी दल पनि हसिना सरकारमा हुँदा प्रतिबन्धित भएको थियो । बंगलादेश नेस्नलिष्ट पार्टीसँग गठबन्धन बनाएर सन् २००१ मा जमाते ई इस्लामीले जित हासिल गरेको इतिहास छ । तर, जमाते दलले बंगलादेशमा सत्ता पल्टाउने युवाहरू नेतृत्वको दल बंगलादेश सिटिजन्स पार्टीसँग गठबन्धन बनाएर चुनावमा जाँदा दोस्रो स्थानमा चित्त बुझाउनु परेको छ ।
सत्ता परिवर्तनका लागि भएको विद्रोहमा नेतृत्वदायी भूमिका खेलेका, सामाजिक सञ्जालमा निकै ठूलो फलोअर भएकाहरूले भरिएका नेताले भरिभराऊको दलहरू दुवैले धक्का खानुलाई चासोका साथ हेरिएको छ । सामाजिक सञ्जालमा दसौँ लाख फलोअर भएकाहरूले नै चुनावमा हार व्यहोरेको घटना चर्चाको विषय बनेको छ अहिले ।
बंगलादेशमा जस्तै थाइल्यान्डमा भएको चुनावमा युवाहरूको दल पिपल्स पार्टीले दोस्रो स्थानमा चित्त बुझाउनुप¥यो । सामाजिक सञ्जालमा बलियो प्रभाव र समर्थकहरूको व्यापक भीडका बाबजुद परम्परागत राजावादी दलले नै सरकारको नेतृत्व लिने गरी चुनाव जित्यो । युवाहरूको दल पिपल्स पार्टीले राम्रो मत ल्याएपनि अपेक्षा गरिएको बहुमत ल्याउन सकेन । ठिक त्यसैगरी बंगलादेशमा सत्ता परिवर्तन गराउने विद्रोहमा नेतृत्व नै गरेकाहरूको दल दोस्रो स्थानमा सीमित बन्न पुग्यो ।
आखिर यस्तो किन भयो ?
बंगलादेशमा बीएनपीले मुहम्मद युनुस सरकार हुँदा पनि सशक्त प्रतिपक्षीको भूमिका निभाइरहेको थियो । उसले बेला बेलामा सरकारविरोधी प्रदर्शन पनि गर्दथ्यो । बीएनपी सामाजिक सञ्जाल र सस्तो लोकप्रियतामा मात्र सीमित रहेन, उसको देशव्यापी संगठन र समर्थनको आधार क्षेत्रहरू थिए ।
विगतको राजनीतिक अनुभव, सत्ता चलाएको अनुभव र राजनीतिक संस्कार बोकेका अनुभवीहरू बीनएपीसँग थिए । नयाँ जोसका साथ आएका नयाँ दलसँग राजनीतिक अनुभवको कमी थियो । उनीहरू बढी सामाजिक सञ्जाल र सुगम क्षेत्रमै केन्द्रित भए ।
विरोधीमाथि भाषण र बलले जाइलाग्नेमात्र गरिरहे । नीति केन्द्रित भन्दा नेता केन्द्रित गतिविधि गरे । जसका कारण परिवर्तनको आन्दोलन गर्नेहरू पराजित भए । लामो इतिहास बोकेको र संघर्षका कथा व्यथाले निर्माण भएको बीएनपीले चुनावको निर्णायक लडाइँमा बाजी मा¥यो । राजनीतिमा सत्ताको नेतृत्व गर्ने दलसँग सिद्धान्त, विचार, नीति, अनुभव, इतिहाससँगै दरिलो संगठन हुनुपर्छ भन्ने बीएनपीको जीतले देखाएको छ ।
बीएनपी पूर्वराष्ट्रपति जियाउर रहमानले १९७८ मा स्थापना गरेको दल हो । रहमानको हत्यापछि उनकी पत्नी बेगम खालिदा जियाले बीएनपीको नेतृत्व लिएर बंगलादेशको प्रथम महिला प्रधानमन्त्री बनिन् । जियाका सामु धेरै चुनौती आए । उनले राजनीतिक प्रतिस्पर्धी शेख हसिनासँग टकराब गरिरहनुपरेको थियो ।
बंगलादेशका संस्थापक नेता शेख मुजिबर रहमानकी छोरी हसिनाले खालिदा जियालाई पेलेरै जान खोजिन् । राजनीतिक इतिहास बोकेको परिवारका दुई महिलाको द्वन्द्वमा बंगलादेश चलिरह्यो । यसबीच कट्टरपन्थी मुसलमान दलहरू पनि मजबुत बन्दै गए । बंगलादेशको स्वतन्त्रताविरुद्ध सक्रिय समूहहरू प्रभावशाली बन्दै गए ।
बंगलादेशको स्वतन्त्रता संग्राममा पाकिस्तानसँग निकटहरूको समूह जमाते ई इस्लाम दल प्रतिबन्धित हुने र फुकुवा हुने गर्दै हिंसात्मक विद्रोहहरूमा सहभागी हुँदै आयो । तर, सत्ताको नेतृत्व नै गर्ने अवस्थामा पुग्न सकेको छैन । बंगलादेशको सत्ताको नेतृत्व हसिनाको दल अवामी लिग र वर्तमानमा रहमान नेतृत्वको बीएनपीको हातमा बढी समय रहन पुग्यो । या त सैनिक शासनमा पुग्यो ।
युवा विद्रोहपछिको १८ महिना बंगलादेशमा अन्योल र अस्थिरताको कालो बादल मडारिएको थियो । अल्पसंख्यक हिन्दूमाथि आक्रमणका घटना धेरै भए । हिन्दू युवा जिउँदै जलाइए, कुटपिटबाट मारिए, महिलाहरू बलात्कृत भए । यी सारा घटनालाई चिर्दै बंगलादेशमा चुनावले राजनीतिक स्थिरताको मार्ग तयार गरेको छ ।
पाकिस्तानबाट अलग भई बंगलादेश निर्माण हुँदा सहयोग गरेको छिमेक भारतसँगको सम्बन्ध चिसिएकोमा सुधारको अपेक्षा गरिएको छ । बंगलादेशले पुनः पुरानै लयको आर्थिक प्रगति हासिल गर्ने आशाहरू गरिएका छन् । जसरी बंगलादेशको युवा विद्रोहको असर नेपाललगायत विश्वका धेरै देशहरूमा गरेको थियो, त्यसरी नै राजनीतिक घटनाक्रम बढ्ने त होइन ? चासो र चर्चा छ ।
नेपालमा पनि बंगलादेशकै शैलीमा युवा विद्रोह भयो जसलाई जेनजी विद्रोह भनिन्छ । केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो जेनजी विद्रोहले । फरक यति हो बंगलादेशमा हसिना भागेर भारत पुगिन् नेपालमा ओलीलाई सेनाले सुरक्षा दिएर राख्यो । उनी राजनीतिमा पुनः सक्रिय भई फेरि एमालेको अध्यक्ष बनेका छन् ।
चुनावी परिणाम उनको अनुकूल छैन भन्ने देखिइरहेको छ । बरु ओलीलाई प्रधानमन्त्री बनाउन साथ दिएर वेटिङ प्राइमिनिस्टर मानिएका शेरबहादुर देउवाको हातबाट काँग्रेसको नेतृत्व नै गयो । उनी यतिबेला मौन छन् । देउवाको हातबाट सभापति पद खोसिनुले काँग्रेसको उद्धार भएको देखिन्छ । ओली एमाले अध्यक्ष कायमै रहँदा झन् संकटमा फसेको छ उक्त दल । चुनावका लागि एमाले कार्यकर्तामा न त उत्साह छ न त बलियो तयारी नै ।
जेनजी विद्रोहबाट उदाएका सामाजिक सञ्जालका लोकप्रिय अनुहारहरू रास्वपामा भरिएका छन् । सुशीला कार्की नेतृत्वको सरकारबाट राजीनामा दिएका कतिपय मन्त्री रास्वपाका उम्मेदवार छन् । कार्कीले घुमाउरो तरिकाले रास्वपालाई समर्थन गरेको देखिएकै छ । तर, दूरदराजका ग्रामीण भेगसम्म प्रतिबद्ध कार्यकर्ता नरहनुले रास्वपालाई अपेक्षित परिणाम प्राप्त हुन मुस्किल पर्छ । दुनियाँभर पछिल्लो समय युवा विद्रोहपछिको चुनावलाई केलाउने हो भने त्यस्तो विद्रोहमा लागेकाहरूले बनाएको दल, समर्थन गरेको दल या व्यक्तिको नेतृत्वमा सरकार बनेको देखिन्न ।











