Logo
Logo

निर्वाचन अपरिहार्य, तर जनताले चाहेको होइन : घनश्याम भुसाल  


567
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले आगामी निर्वाचन अपरिहार्य रहेको बताएका छन् ।

The current image has no alternative text. The file name is: ghanshyam-1.gif

बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनले यो निर्वाचन नेपाली जनताले चाहेको नभई संवैधानिक तथा लोकतान्त्रिक प्रक्रियाको असाधारण परिस्थितिका कारण अपरिहार्य बनेको स्पष्ट पारेका छन् । भुसालले मुलुकले भोगेको विध्वंसकारी घटनाबाट गहिरो शिक्षा लिनुपर्नेमा जोड दिए । 

राजनीतिक पार्टीहरूको ‘नालायकीपन’लाई उजागर गरी राष्ट्रिय सङ्कल्प गर्नुपर्नेमा त्यसो नगरी निर्वाचनमा जाने तयारीले समस्या मात्र लुकाउने काम गरेको उनको भनाइ छ। उनले केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाललगायत प्रमुख नेताहरूको राजनीतिक तथा आर्थिक नीतिलाई कडा आलोचना गर्दै ‘नालायकी’को संज्ञा दिए । यस्ता कमजोरीले मुलुकलाई सङ्कटमा पुर्‍याएको र इतिहासमा यसलाई स्थापित गरी भविष्यमा दोहोरिन नदिने सङ्कल्प आवश्यक रहेको उनले बताए । 

गौरीबहादुर कार्की नेतृत्वको आयोगजस्ता प्रक्रियाले यथार्थ उजागर नगर्ने आशङ्का व्यक्त गर्दै भुसालले यो अवसर गुमाउँदा मुलुक भूराजनीतिक दबाबमा कमजोर बन्दै गएको चिन्ता व्यक्त गरे । निर्वाचनपछि पनि पुरानै प्रवृत्ति दोहोरिने, विकास परनिर्भर बाटोमा अड्किने, रोजगारी सिर्जना नहुने, विचौलियातन्त्र बलियो हुने र सुशासन स्थापित नहुने खतरा रहेको उनको चेतावनी छ । उनले भने, ‘यो हामीले नचाहेको निर्वाचन हो, तर असाधारण भवितव्यका कारण अपरिहार्य बनेको छ। पार्टीहरूको घोर नालायकी लुकाएर चुनावमा जाँदैछौं। राजनीतिक पार्टीहरू जस्ता हुन्छन्, राष्ट्र त्यस्तै बन्छ। प्रमुख नेताहरूको नालायकीलाई इतिहासमा स्थापित गरी दोहोरिन नदिने सङ्कल्प गर्नुपर्थ्यो ।’

भुसालले राजनीतिलाई घरेलुकरण गर्नुपर्ने, पश्चिमेली मोडेलबाट मुक्त भई नेपाली बाटो खोज्नुपर्नेमा जोड दिए। मुलुकको मूल समस्या परनिर्भर विकास, दलाल पुँजीवाद र विचौलिया तन्त्र रहेको भन्दै बौद्धिक वर्ग तथा राजनीतिकर्मीलाई गहिरो प्रश्न उठाई निकास दिन आह्वान गरे।

प्रतिक्रिया दिनुहोस्