काठमाडौं । नेकपा एमालेले आगामी फागुन २१ गते हुने निर्वाचनपछि आफ्नै पार्टीले मुलुकको नेतृत्व गर्ने दाबी गरेको छ। पार्टी पहिलो शक्ति बन्ने विश्वास एमालेले व्यक्त गरेको हो।

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा प्रचार–प्रसार विभाग प्रमुख मीनबहादुर शाहीले भने, “हामीले घोषणापत्रमार्फत गरेका वाचा र विगतका उपलब्धिका आधारमा नेकपा एमाले मुलुकको सर्वाधिक लोकप्रिय र पहिलो पार्टी बन्नेछ।”
एमालेले निर्वाचन प्रभावित पार्ने षड्यन्त्र भइरहेको जिकिरसमेत गरेको छ। शाहीले भने, “निर्वाचनलाई कसरी प्रभावित गर्न सकिन्छ भन्ने षड्यन्त्रका तानाबाना बुनिँदै छन्। यसप्रति हाम्रो ध्यानाकर्षण भएको छ।”
त्यस्तै, फागुन २१ पछि पनि अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा मुलुक अघि बढ्ने दाबी एमालेले गरेको छ। शाहीले भने, “हाम्रा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय मार्ग तय गर्ने सन्दर्भमा फागुन २१ पछि हामी नेतृत्वमा रहनेछौँ।”











