रौतहट । रौतहटको गौरमा भड्किएको हिंसामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

गौर नगरपालिका–६ सवगढाबाट सुरु भएको दुई समुदायबीचको विवादमा संलग्न रहेको आरोपमा प्रहरीले शेख जमशेदलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका जमशेद जनमत पार्टीका जिल्ला संयोजक तथा सोही वडाका पूर्व अध्यक्ष हुन् ।
बिहीबार साँझ मस्जिदको बाटो हुँदै जन्ती बोकेको गाडी गएपछि सुरु भएको विवादले हिंसात्मक रूप लिएको थियो । शुक्रबार दिनभरको झडपपछि प्रशासनले दुवै पक्षबीच ६ बुँदे सहमति गराएको थियो ।
तर शनिबार बिहानबाटै सवगढामा पुनः दुई पक्षबीच झडप भएको छ । जिल्लाका विभिन्न क्षेत्रमा प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।
घटनामा जमशेदको संलग्नतासम्बन्धी केही प्रमाण फेला परेको प्रहरी स्रोतले जनाएको छ । प्रहरीले उनलाई घरबाटै नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालयमा लगेको छ ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालका अनुसार झडपका क्रममा १० जना सामान्य घाइते भएका छन् । हालसम्म २० जना पक्राउ परेका छन् भने ७ वटा मोटरसाइकल र १ जीप आगजनीबाट नष्ट भएका छन् ।
झडप नियन्त्रणमा लिन प्रहरीले ५० भन्दा बढी अश्रुग्यास प्रहार गरेको तथा दर्जनौँ राउन्ड हवाई फायर गरेको प्रशासनले जनाएको छ ।











