काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यको अर्बौँ रुपैयाँ खर्च भइसकेकाले अब निर्धारित समयमै निर्वाचन हुनुपर्ने बताएका छन् ।

झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले चुनाव स्थगित गर्न अझै पनि विभिन्न प्रयासहरू भइरहेको दाबी गर्दै एमाले भने कुनै अलमलमा नपरी चुनाव जित्ने तयारीमा लागिसकेको बताएका हुन् ।
ओलीले निर्वाचनको तयारीमा राज्य र उम्मेदवारहरूको ठूलो धनराशि खर्च भइसकेकोतर्फ ध्यानाकर्षण गराए । उनले विगत ६ महिनासम्म आफूहरूले कोसिस गर्दा कसैले चासो नदिएको तर अहिले अन्तिम समयमा आएर चुनाव हुँदैन भन्नु गलत भएको बताए ।
निर्वाचन स्थगित हुने हल्ला चले पनि एमाले नअल्मलिईकन अगाडि बढ्ने र चुनाव जित्ने ओलीका दाबी छ । ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै कुनै आधार नभएको ‘जोडजामवाला पार्टी’ सानो भाँडोमा चर्को आगो बालेर उमालेको दूधजस्तै उम्लिएको टिप्पणी गरे ।











