Logo
Logo

त्रिशूलीमा बस दुर्घटना: १९ यात्रुको मृत्यु, ९ जनाको सनाखत


630
Shares

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैंसीगौडामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ ।

पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस सोमबार बिहान अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल त्रिशुली नदी किनारमा खसेर दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय धादिङले दिएको जानकारीअनुसार उक्त दुर्घटनामा परी मृत्यु भएका १९ जनामध्ये एक जना विदेशी नागरिकसहित ९ जनाको सनाखत भएको छ, अन्य १० जनाको भने अझै पहिचान खुल्न सकेको छैन ।

ज्यान गुमाउनेमा २४ वर्षीय बेलायती नागरिक स्टेवार्ट डोमिनिक इथान , करिब ४० वर्षीय विवेक बास्तोला, ६३ वर्षीय चन्द्रबहादुर कुँवर, ४० वर्षीय ओम कुमार मल्ल र ३० वर्षीय इन्जिनियर ठकुरी रहेका छन्।

त्यसैगरी, ५५ वर्षीया विष्णुमाया ढकाल, ४२ वर्षीय लोपसाङ गोले, ४५ वर्षीय हरिप्रसाद सिग्देल र ५५ वर्षीय नविन श्रेष्ठको पनि पहिचान खुलेको प्रहरीले जनाएको छ ।

सनाखत हुन बाँकी रहेका १० जना मृतकमध्ये ७ जना पुरुष र ३ जना महिला रहेका छन् । तीमध्ये एक पुरुषको भने काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका २५ जनाको हाल मलेखु र काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार बसमा चालकमसहित २९ जना पुरुष र १५ जना महिला गरी जम्मा ४४ जना यात्रु सवार थिए । राति करिब १ः३० बजेको समयमा भएको उक्त दुर्घटनाको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको गोताखोर टोली र स्थानीयको सहकार्यमा तत्काल उद्धार कार्य सुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्