Logo
Logo

पर्सामा धार्मिक सद्भाव खलल पुर्‍याउनेलाई कारबाही गर्ने निर्णय


504
Shares

काठमाडौं । पर्सामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले आइतबार वीरगञ्ज महानगरपालिका–११, श्रीपुरमा भएको घटना तथा त्यसबाट उत्पन्न घटनाक्रमका दोषीलाई स्थानीय प्रशासनले कानुनी दायरामा ल्याउने सहमति गरेको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहाल को अध्यक्षतामा आज जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले पीडित पक्षबाट जाहेरी लिई आवश्यक प्रक्रिया तत्काल अघि बढाउने तथा दोषीलाई कानुनी दायरामा ल्याउन धार्मिक अगुवाहरूले सहजीकरण गर्ने निर्णय गरेको छ।

प्रजिअ दाहालका अनुसार, बैठकले व्यक्तिगत घटना वा दुर्घटनालाई आधार बनाएर धार्मिक तथा सामाजिक सद्भाव खलल पुग्ने गरी भड्काउने, दुष्प्रचार गर्ने, सामाजिक सञ्जालमा भाइरल बनाउने तथा घृणा फैलाउने भाषण प्रसारण गर्ने व्यक्तिहरूलाई साइबर कानुन तथा प्रचलित कानुनबमोजिम तत्काल कारबाहीको दायरामा ल्याउने निर्णय गरेको छ।

बैठकले आगामी दिनमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न नागरिक समाज, राजनीतिक दल, सञ्चारकर्मी, धार्मिक तथा सामाजिक क्षेत्र र जनप्रतिनिधिहरूले आ–आफ्ना संस्था तथा निकायबाट विज्ञप्ति जारी गर्ने निर्णय पनि गरेको छ।

पर्साका प्रहरी प्रमुख नरेन्द्रराज सुवेदी ले दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा धार्मिक क्षेत्रका अगुवाहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्