काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको दिन आन्तरिक हवाई उडान सेवा बन्द हुने भएको छ ।

नेपाल पर्यटन बोर्डले ट्राभल एडभाइजरी जारी गर्दै उक्त जानकारी दिएको हो । अन्तर्राष्ट्रिय उडान भने सामान्य रूपमा सञ्चालन हुने जनाइएको छ ।
बोर्डले निर्वाचनका दौरान पनि नेपाल पर्यटकका लागि खुला र सुरक्षित रहने उल्लेख गर्दै आवश्यक समन्वय सरोकारवाला निकायसँग भइरहेको जनाएको छ ।
निर्वाचनको दिन विमानस्थल–होटल आवतजावत सहज बनाउन सटल बस सेवा सञ्चालन गर्न इच्छुक कम्पनीहरूका लागि जिल्ला प्रशासन कार्यालयमार्फत सवारी पासको व्यवस्था गरिने बोर्डले जनाएको छ । यसका लागि आवश्यक सिफारिसपत्र उपलब्ध गराउन बोर्डले सम्पर्क व्यक्ति तोकेको छ ।
बोर्डका अनुसार निर्वाचनअघि ७२ घण्टादेखि सीमानाका बन्द रहनेछन् । यद्यपि, निर्वाचनको दिन देशभरिका होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा प्रमुख ऐतिहासिक स्थलहरू भने खुला रहने जनाइएको छ ।











