
काठमाडौं । २१ फागुनमा हुने निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसमा अन्य दलका प्रभावशाली नेताहरूको प्रवेश गर्ने क्रम तीव्र बनेको छ । ‘जेन–जी’ आन्दोलन र विशेष महाधिवेशनमार्फत गगन थापा पार्टी सभापति चुनिएपछि कांग्रेसप्रति आकर्षण बढेको भन्दै विभिन्न दलका ६ हजारभन्दा बढी नेता–कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् ।
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार थापाको नेतृत्वपछि पार्टीमा नयाँ ऊर्जा देखिएको छ । रास्वपा, नेकपा एमाले र जसपा लगायतका दलबाट ६२ सय जति नेताहरूले सदस्यता लिएका छन्, जसमा १०० भन्दा बढी केन्द्रीय स्तरकै नेताहरू रहेका छन् ।
कांग्रेस प्रवेश गर्नेहरूमा सबैभन्दा ठुलो संख्या राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूको छ । रास्वपा मकवानपुरका संस्थापक सभापति भरतप्रसाद पराजुली सोमबार मात्रै कांग्रेस फर्किएका छन् ।
२०७९ को निर्वाचनमा १२ हजारभन्दा बढी मत ल्याएका पराजुलीले रास्वपालाई ‘खहरे खोला’ र ‘सैनिक शासन’ को ढाँचामा चल्ने पार्टीको संज्ञा दिँदै गगन थापाको नेतृत्व र साहसलाई आत्मसात् गर्न कांग्रेस फर्किएको बताएका छन् ।
त्यस्तै पराजुलीसँगै मकवानपुर–२ का संघीय सभापति निराजन बर्तौला र युवा नेता राममणि न्यौपानेले पनि रास्वपा त्यागेका छन् । त्यस्तै, रास्वपाकी मधेश प्रदेश संस्थापक सभापति ममता शर्मा र केन्द्रीय गुनासो विभाग प्रमुख प्रणय शमशेर राणाले पनि पार्टीको विधि र विधान विपरीतका गतिविधि बढेको भन्दै कांग्रेस रोजेका छन् ।
यता नेकपा एमालेबाट पनि ठूलो संख्यामा नेताहरू कांग्रेस प्रवेश गरेका छन् । पूर्वमन्त्री रामवीर मानन्धरसहित रसुवाका प्रभावशाली नेता जनार्दन ढकालले एमाले छाडेका छन् । एमालेका पूर्व केन्द्रीय सदस्य समेत रहेका ढकालले पार्टीमा व्यक्तिवाद हाबी भएको र योगदानको अवमूल्यन भएको भन्दै ७८ जना कार्यकर्तासहित कांग्रेस प्रवेश गरेका हुन् । यसले रसुवामा एमालेलाई ठुलो धक्का पुग्ने देखिएको छ ।
नवप्रवेशी नेताहरूले कांग्रेसमा देखिएको पुस्तान्तरण र आन्तरिक लोकतन्त्रलाई मुख्य आकर्षणको कारण बताएका छन् । गगन थापा सभापति बनेपछि कांग्रेसले लिएको नयाँ बाटो र सुधारिएको कार्यशैलीले अन्य दलमा निराश भएका नेताहरूलाई आकर्षित गरेको देखिन्छ । निर्वाचनको मुखमा भएको यो दल अदलबदलले विशेषगरी रसुवा र मकवानपुर जस्ता जिल्लाहरूमा चुनावी समीकरणलाई निकै प्रभावित पार्ने अनुमान गरिएको छ ।











