
काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको ९ दिनअघि देशका विभिन्न भागमा सरकारले निषेधाज्ञा र कर्फ्यू लगाएर मतदातामा डर र त्रास फैलाएको आरोप लगाएको छ ।
आज पत्रकार सम्मेलन गरेर एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले सर्वसाधारणको शान्ति सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यू जारी गर्नु सुरक्षा व्यवस्थापनको कमजोरी भएको बताएका हुन् ।
निर्वाचन प्रचारप्रसार समितिका संयोजकसमेत रहेका उनले सरकारका यस्ता कामकारबाहीले मतदाताको मनमा भय सिर्जना गरी स्वतन्त्र मतदानको अधिकार कुण्ठित गरिरहेको आरोप लगाए ।
शाहीले मधेश–तराइका विभिन्न जिल्लामा लगाइएको कफ्र्यु आम मतदातालाई मतदान केन्द्रसम्म पुग्न अवरोध पु¥याउने काम गरिएको भन्दै चिन्ता व्यक्त गरे ।
सरकारको यो रवैयाले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने मात्र नभई लोकतान्त्रिक मूल्य–मान्यतामाथि नै प्रश्न उठाएको एमालेको ठहर छ । समाजमा अनेक बहानामा निर्वाचन सार्ने भ्रामक हल्ला चलेकोप्रति ध्यानाकर्षण गराउँदै एमालेले घोषित समयमै चुनाव हुनुपर्ने अडान दोहार्याएको छ ।
एमालेले आफूलाई स्थायित्व, समृद्धि र सुशासनको विश्वसनीय आधारका रूपमा स्थापित गरिसकेको दाबी गर्दै शाहीले पार्टीले ‘भोट फर चेन्ज’ होइन, ‘भोट फर नेशन’ को नारा अघि सारेको बताए ।
साथै एमालेले प्रतिनिधिसभा विघटनको प्रक्रिया संवैधानिक परीक्षणबाट प्रमाणीकरण हुनुपर्ने अडान राख्दै सर्वोच्च अदालतको आलटालप्रति पनि असन्तुष्टि जनाएको छ ।











