Logo
Logo

सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह


567
Shares

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले आफ्नो उपचारको लागि आवश्यक खर्च जुटेको बताएकी छन् ।

The current image has no alternative text. The file name is: samba-2.jpg

कप्तान भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उपचारका लागि देश–विदेशबाट उल्लेखनीय आर्थिक सहयोग प्राप्त भएको भन्दै सबै समर्थकप्रति आभार व्यक्त गरेकी छन् । उनले पछिल्लो २४ घण्टामा पाएको साथ, विश्वास र मायाले आफूलाई थप बलियो बनाएकोसमेत उल्लेख गरेकी छन् ।

भण्डारीले सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो घुँडाको एसिएल शल्यक्रिया गर्नुपर्ने भएकाले सहयोगको अपिल गरेकी थिइन् । अपिल गरेको २४ घण्टाभित्र आवश्यक रकम उपलब्ध भएको छ ।

उनले आफ्नो उपचारका लागि नेपाली बैंक खातामा रु एक करोडभन्दा बढी तथा विदेशी प्लेटफर्ममार्फत करिब रु ४५ लाख ५२ हजार न्युजिल्यान्ड डलर सङ्कलन भइसकेको जानकारी दिएकी छन् ।

यस सहयोगले उपचार खर्चका साथै कतारमा उपचार अवधिमा लाग्ने आवास र यातायात खर्चसमेत पुग्ने देखिएकाले आजैदेखि दुवै खातामा रकम सङ्कलन रोक्न अनुरोधसमेत गर्नुभएको छ । 

भण्डारीले आफू आबद्ध क्लबले पनि शल्यक्रिया तथा पुनःस्थापनाका लागि बिमा रकम निकासा गरी थप सहयोग गरिरहेको जानकारीसमेत दिनुभएको छ । छिट्टै शल्यक्रियाको मिति तय भएर उपचार प्रक्रिया अघि बढ्नेमा आफू विश्वस्त रहेको उहाँको भनाइ छ ।

चोटका कारण शारीरिकसँगै मानसिक रूपमा पनि थकित भएको उल्लेख गर्दै उहाँले समर्थकहरूको साथले पुनः उठ्ने साहस दिएको बताउनुभएको छ । “अझ मजबुत भएर मैदानमा फर्किने र पुनः राष्ट्रिय जर्सी लगाएर देशका लागि खेल्ने छु”, भण्डारीले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

करिब दुई महिनादेखि घुँडामा चोटको कारण नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान भण्डारी मैदान बाहिर हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्