Logo
Logo

प्रचण्डको प्रक्षेपण- कसैको बहुमत आउँदैन, ‘हङ पार्लियामेण्ट’ बन्छ


0
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले आगामी निर्वाचनपछि मुलुकमा ‘त्रिशंकु संसद’ (हङ पार्लियामेण्ट) बन्ने प्रक्षेपण गरेका छन् ।

बिहीबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनपछि कुनै एक दलको स्पष्ट बहुमत नआउने र पुनः त्रिशंकु संसद बन्ने दाबी गरेका हुन् ।

उनले भने, ‘अहिलेसम्मको परिस्थिति हेर्दा हाम्रो मोटा–मोटी आँकलन के छ भने हाम्रो निर्वाचन प्रणाली र शासकीय स्वरूपका कारण कुनै एक पार्टीको बहुमत आउने सम्भावना अहिलेपनि हामीले देखेका छैनौं । हुने भनेको फेरि पनि त्रिशंकु संसद नै हो, हङ पार्लियामेन्ट नै हुने स्थिति हो र सबै–सबैले पनि यही नै आकलन गरेको स्थिति छ।’

सातै प्रदेशको चुनावी अभियानबाट फर्किएपछि पत्रकारहरूसँग कुरा गर्दै संयोजक दाहालले वर्तमान निर्वाचन प्रणाली र शासकीय स्वरूपका कारण एकल बहुमतको सम्भावना नरहेको बताए ।

दाहालले आफ्नो पार्टीको आन्तरिक अध्ययन र अनुसन्धानका आधारमा यस पटकको निर्वाचनमा चारवटा मुख्य राजनीतिक धाराहरूबीच प्रतिष्पर्धा हुने उल्लेख गरे । उनकाअनुसार नेपाली कम्युनिष्ट पार्टी, नेपाली काँग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच नै मुख्य प्रतिष्पर्धा हुने देखिएको छ ।

पार्टीलाई अवमूल्यन गर्ने प्रवृत्ति समाजमा रहेको गुनासो गर्दै उनले राम्रो गर्न सक्दा नेकपा अगाडि आउने सम्भावना रहेको बताए। संयोजक दाहालले यस पटक आफ्नो पार्टीभित्र असाध्यै राम्रो एकता पैदा भएको दाबी गरे। सातै प्रदेशमा नेता, कार्यकर्ता र शुभेच्छुकहरू सक्रियतापूर्वक निर्वाचनमा होमिएको बताउँदै उहाँले नेपाली कम्युनिष्ट पार्टी नै कुनैपनि समस्या नभएको पार्टी रहेको जिकिर गरे।

आफ्नो पार्टीको प्राथमिकताका बारेमा प्रष्ट पार्दै दाहालले कृषि, उद्योग, पर्यटन र ऊर्जा क्षेत्रमा गुणात्मक विकास गरी रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, भ्रष्टाचार नियन्त्रण र सामाजिक विभेदको अन्त्य आफ्नो मुख्य एजेण्डा भएको उनको भनाइ छ ।

निर्वाचनको परिणाम जे जस्तो आए पनि त्यसलाई स्वीकार्ने मानसिकताका साथ आफूहरू अगाडि बढेको उनले बताए। जनमतको कदर गर्दै लोकतान्त्रिक विधि र मूल्य मान्यताअनुसार समझदारीका साथ अगाडि बढ्न सबै राजनीतिक दलहरू प्रतिवद्ध हुनुपर्नेमा उनले जोड दिए।

प्रतिक्रिया दिनुहोस्