Logo
Logo

कांग्रेसले अब देशलाई दुर्घटनामा पर्न दिँदैनः गगन थापा


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी ५ वर्षलाई नेपालको इतिहासकै ‘स्वर्णिम काल’ बनाउने संकल्प व्यक्त गरेका छन् ।

सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसले अबको ५ वर्षमा देशको अवस्था बदल्ने र मुलुकलाई कुनैपनि प्रकारको राजनीतिक वा सामाजिक दुर्घटनामा पर्न नदिने प्रतिबद्धता जनाए ।

मधेसदेखि कर्णालीसम्मको यात्रा गर्दै चुनावी अभियानमा होमिनुभएका थापाले आसन्न निर्वाचन संविधानलाई सही बाटो (ट्रयाक) मा राख्नका लागि अनिवार्य शर्त भएको बताए।

संविधानको रक्षा र राजनीतिक स्थिरता
सभापति थापाले वर्तमान निर्वाचन संविधान रक्षाको कडी भएको उल्लेख गरे। विगतका केही अप्रिय घटनाहरू (भाद्र २३ र २४) लाई स्मरण गर्दै उनले देशमा अब सरकारको गोलीबाट कुनैपनि नागरिकको ज्यान जान नहुने र कसैले पनि मुखुण्डो लगाएर सिंहदरबार जलाउन नपाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।

उनले भने, ‘यो निर्वाचन तिनै अतिवादी दृष्टिकोणहरू बीचको लडाईं हो । काँग्रेसले संविधानलाई ट्रयाकमा ल्याउने काममा एक इन्च पनि सम्झौता गर्दैन ।’

२०८२ देखि ८७ सम्मको ‘स्वर्णिम काल’ र ५ वर्षे संकल्प
सभापति थापाले २०८२ देखि २०८७ सम्मको ५ वर्षलाई नेपालको विकासको सबैभन्दा सफल अवधि बनाउने योजना अघि सारे। उनले काँग्रेसको नेतृत्वमा बन्ने सरकारले नागरिकका आधारभुत आवश्यकतालाई प्राथमिकता दिने बताए ।

कुनैपनि नागरिकले उपचारका लागि खल्तीबाट पैसा तिर्नु नपर्ने र अभिभावकले सन्तानको शिक्षाको बिल तिर्नु नपर्ने अवस्था बनाउने उनको भनाइ छ । पढेका युवाहरूले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने, सरकारले हरेक महिनाको पहिलो दिन जनताका सामु उभिएर आफूले गरेका कामको विवरण दिने र आगामी महिनाको लक्ष्य सार्वजनिक गर्ने बताए।

भ्रष्टाचारविरुद्ध निर्मम र सुशासनको प्रतिवद्धता
सभापति थापाले २०४६ साल यताका सबै चर्चित भ्रष्टाचार प्रकरणहरूको छानबिन गर्ने घोषणा गरे।
उनले भने, ‘काँग्रेसको सरकारले ५ वर्ष काम गर्दा एउटा पनि काण्ड भयो भनेर नागरिकले सुन्नु पर्दैन । यदि कुनै काण्डमा मेरै परिवारको सदस्य संलग्न छ भने पनि ऊ बच्ने छैन ।’

उनले राजनीतिमा देखिएको ‘गठबन्धनको फोहोर’ लाई सफा गरेर कांग्रेसले नयाँ ढंगले देश सम्हाल्ने दाबी गरे।
कर्णालीको विकासका लागि ‘ढाँचा’ बदल्नुपर्ने
कर्णाली प्रदेशको विशिष्ट भौगोलिक र आर्थिक अवस्थालाई औँल्याउँदै थापाले काठमाडौं र कर्णालीको विकासको ढाँचा एउटै हुन नसक्ने बताए ।

कर्णालीको ४० प्रतिशत गरिबी र बेरोजगारी हटाउन संविधान र कानूनमै केही बदलाव ल्याउनुपर्ने उहाँको तर्क छ । कर्णालीको आन्तरिक आय न्युन रहेको अवस्थामा केन्द्रबाट जनसंख्याका आधारमा मात्र बजेट पठाएर नहुने भन्दै प्रदेशलाई थप बलियो बनाउनुपर्ने बताए।

हिमाली क्षेत्रमा हिउँ पर्ने समय र आर्थिक वर्षको तालमेल नमिलेका कारण बजेट फ्रिज हुने गरेको भन्दै बजेट ल्याउने र खर्च गर्ने कानूनी व्यवस्था सच्याउनुपर्ने बताए। आगामी १० वर्षमा आउने सूचना प्रविधिको युगबाट कर्णालीका युवाले लाभ लिनका लागि अहिले नै आमाको पोषण र बाल्यकालको शिक्षामा लगानी गर्नुपर्ने उनको भनाइ छ ।

अतिवाद र ‘भाइरल’ राजनीतिको आलोचना
सभापति थापाले नेकपा एमाले, माओवादी र नयाँ आएका दलहरूको प्रवृत्तिको आलोचना गरे। माओवादीले विगतमा हिंसात्मक राजनीति गरेर कर्णालीलाई पीडा दिएको र अहिले नयाँ भनिएका दलहरूले केवल सामाजिक सञ्जालमा ‘भाइरल’ हुनका लागि उत्तेजना र घृणा फैलाएको उनको आरोप छ ।
‘देश बनाउन पेटमा आगो र आँखामा सपना मात्र भएर पुग्दैन, सोच्न सक्ने क्षमता, धैर्यता र सुझबुझ पनि चाहिन्छ,’ उनले भने।

कार्यकर्तालाई निर्देशनः ‘भ्रम चिर्नुस्, घरदैलो पुग्नुस्’
सभापति थापाले पार्टीका कार्यकर्ताहरूलाई सामाजिक सञ्जालको कोलाहल र भ्रमलाई चिर्दै प्रत्येक मतदाताको घरदैलोमा पुग्न निर्देशन दिए। कर्णालीमा कांग्रेसको शानदार विजयले देशभर नयाँ उत्साह भर्ने विश्वास व्यक्त गर्दै उहाँले फागुन २१ गतेको निर्वाचनमा ‘रुख’ चिन्हमा मतदान गरी कांग्रेसलाई विजयी गराउन अपिल गरे।

प्रतिक्रिया दिनुहोस्