Logo
Logo

जाडो छल्न आएका चरा फर्किन थाले


252
Shares

चितवन । जाडो छल्न हिमालपारिबाट आएका चरा फर्किन थालेका छन् । जाडो मौसम सुरु भएसँगै गत असोजबाट आउन सुरु गरेका चरा गर्मी सुरु भएसँगै फर्किन थालेका हुन् ।


 
चितवन राष्ट्रिय निकुञ्जलगायत आसपासका सिमसार क्षेत्रमा हाँस प्रजातिका चरा जाडो छल्न आउने गर्दछन् । हरेक वर्ष अक्टोबरमा आउने ती चरा गर्मी सुरु भएसँगै फर्कन थालेका हुन् । फेब्रुअरीको अन्तिम साताबाट फर्किन थालेका ती चरा मार्च अन्तिमसम्म सबै गई सक्ने नेपाल पन्छीविद् सङ्घ बागमती प्रदेशका अध्यक्ष वासु बिडारीले बताए । 
 
यहाँ मङ्गोलिया, रुस, मलेसिया, उज्बेकिस्तान, पाकिस्तान, चीनलगायत देशबाट चरा आउने गर्दछन् । जाडो छल्न आउने ती चरा कालीगण्डकीको खोच हुँदै चितवनसम्म आइपुगेका थिए । जाडो छल्न हाँस प्रजातिका क¥याङकुरुङ, चखेवा, सुइरोपुच्छे«, मालक, खडखडे, बिजुला, गैरीसहित बाज, चिललगायत चरा यहाँ आउने गर्दछन् । वनमा आश्रित प्रजातिमा चाचर, चुइया, भारद्वाजसमेत आउने गरेको अध्यक्ष बिडारीले बताए ।
 
यहाँका नदी किनार र तालतलैयामा यस्ता चरा आएर बस्ने गर्दछन् । उनका अनुसार नेपाल बाहिरदेखि आएका १२ देखि १५ हाँस प्रजातिका चरा यहाँको नारायणी, राप्ती नदी र रिउखोलामा रमाउने गर्दछन् । नेपालमा १५० प्रजातिका चरा जाडो छल्न आगन्तुक रूपमा आउने गर्दछन् । यी चरा ६ महिनापछि बच्चा कोरल्ने समयमा फेरि दक्षिणबाट उत्तर फर्कने अध्यक्ष बिडारीले जानकारी दिए । पृथ्वीको उत्तरी ध्रुवमा दिन छोटो र रात लामो हुने हुँदा चर्नका लागि समयसमेत नहुने हुँदा ती चरा आउने गरेको विज्ञ बताउँछन् ।
 
नेपालमा विशेषगरी सिमसार, घाँसेमैदान, वन र खेतबारीमा बस्ने चरा आउने गर्दछन् ।  चितवन राष्ट्रिय निकुञ्ज चराका लागि उत्तम वासस्थानका रूपमा लिइन्छ । निकुञ्ज हुँदै बग्ने राप्ती, रिउसँगै नारायणी नदी र निकुञ्जभित्रका तालतलैया र वन क्षेत्रमा आगन्तुक चरा रमाउने गर्छन् । निकुञ्ज, मध्यवर्ती र सामुदायिक वन पनि पन्छीको राम्रो विचरण क्षेत्र हुन् । नेपालमा ९०२ प्रजातिका चरा पाइन्छन् भने चितवनमा मात्र ६५२ प्रजातिका चरा पाइन्छन् ।
 
यससँगै गर्मी मौसममा आउने चरा आउन थालेका छन् । अध्यक्ष बिडारीका अनुसार भारत हुँदै आउने ती चरा नेपाल छिर्न थालेका छन् । उनले भने, ‘जाडो छल्न आएका चरा फर्किन थालेका छन् भने गर्मीमा  आउने चरा आउन थालेका छन् ।’ गर्मीमा आउने चराले यही बच्चा कोरलेर जाडो सुरु भएसँगै फर्किने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्