
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवं रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार जनार्दन शर्माले रुकुमलाई विकास, सुशासन र समृद्धिको एउटा राष्ट्रिय नमूना बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
रुकुम पश्चिममा उज्यालो नेपाल पार्टीका उम्मेदवार नरेन्द्र केसीले आफूलाई समर्थन गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै शर्माले यस्तो बताएमा हुन् । नेता शर्माले जिल्लाको सर्वाङ्गीण विकासका लागि आफू स्पष्ट खाकासहित निर्वाचनमा होमिएको बताए ।
आफ्नो चुनावी एजेण्डाबारे प्रष्ट पार्दै उनले रुकुम पश्चिमलाई गरिबी र बेरोजगारीबाट मुक्त गराउने संकल्प दोहो¥याए । उनले आम मतदाताहरूलाई सम्बोधन गर्दै विकास र समृद्धिको पक्षमा उभिन आग्रह गरे । निर्वाचनको सरगर्मी बढिरहँदा नेता शर्माले आफूलाई कुनै एउटा दल विशेषको मात्र नभई सम्पूर्ण रुकुमेलीहरूको ‘साझा उम्मेदवार’ भएको बताए ।
विगतमा सबै राजनीतिक शक्तिहरूलाई समन्वय गरेर परिणाममुखी काम गरेको दाबी गरे । नेता शर्माले रुकुम पश्चिमको रूपान्तरणका लागि आफ्नो उम्मेदवारी अपरिहार्य रहेको जिकिर गर्दै मतदाताहरूलाई विकासको पक्षमा एकजुट हुन आग्रह गरे । रुकुमलाई आर्थिक रूपमा सम्पन्न र सामाजिक रूपमा न्यायपूर्ण बनाउने आफ्नो एजेण्डा नै जितको मुख्य आधार रहेको उनको ठहर छ ।
उनले भने, ‘मैले रुकुमलाई देशकै एउटा मोडल जिल्ला बनाउने दृष्टिकोण राखेको छु । हाम्रो लडाइँ गरिबी र बेरोजगारी विरुद्ध हो । सुशासन र सामाजिक न्याय सुनिश्चित गर्दै रुकुमको भविष्य उज्ज्वल बनाउनु नै मेरो मुख्य लक्ष्य हो । रुकुमको विकास र सामाजिक न्यायलाई जिताउनका लागि आगामी निर्वाचनमा ‘आँखा’ चिन्हमा मतदान गर्न म सम्पूर्ण मतदाता महानुभावहरूमा हार्दिक आह्वान गर्दछु ।’











