Logo
Logo

मतदानको दिन देशभर मौसम सफा रहने, अहिलेको हिमपातले असर नपर्ने


0
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बताएअनुसार मतदानको दिन देशभर मौसम सफा रहने निर्वाचन आयोगले बताएको छ ।

निर्वाचनको दिन मौसमले कस्तो प्रभाव पार्छ भन्ने आम चासोका बीच निर्वाचन आयोगले जल तथा मौसम विज्ञान विभागसँग निरन्तर समन्वय गरिरहेको शुक्रवार आयोगमा आयोजित पत्रकार सम्मेलनका क्रममा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका छन् ।

विभागका महानिर्देशकसँगको छलफलपछि आयोगले मतदानको दिन (फागुन २१ गते) देशभर मौसम सफा रहने बताएको छ । विगत ३० वर्षको तथ्याङ्कमा आधारित पूर्वानुमानलाई परिमार्जन गर्दै विभागले अहिले एक हप्तासम्मको यथार्थपरक पूर्वानुमान गर्न थालेको छ ।

हाल देशका विभिन्न भागमा, विशेषगरी सङ्खुवासभा लगायतका हिमाली जिल्लाहरूमा छिटपुट हिमपात भइरहे पनि यसले मतदान प्रक्रियालाई अवरुद्ध नगर्ने आयोगको निष्कर्ष छ ।

संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेईओसी) मार्फत आयोगले दिनभरको मौसम अपडेट लिइरहेको प्रवक्ता भट्टराईले बताए । जमेको हिउँमाथि थपिएको नयाँ हिउँले मतदान केन्द्रसम्म पुग्न मतदातालाई खासै समस्या नपार्ने प्रवक्ता भट्टराईले बताए ।

उनले भने, ‘हिमपातले के असर गर्छ भन्नुभएको छ । हामीले यसको रेगुलर अपडेट लिइराखेका छौँ । मैले हिजो मात्रै पनि जल तथा मौसम विज्ञान विभागको महानिर्देशकसँग उहाँहरूलाई यही आयोगमै आमन्त्रण गरेर छलफल गरेको छु । त्यसमा उहाँले अब निर्वाचनको मतदानको मिति नजिकिँदै गर्दाखेरि हिजोको पहिला उहाँहरूले गर्नुभएको फोरकास्ट विगत ३० वर्षको डाटालाई आधार मानेर गर्नुभएको छ भनेर मैले यही कार्यक्रममा यहाँहरूलाई जानकारी गराएको थिएँ । तर अहिले निर्वाचनको मतदानको मिति नजिकिँदै गएको हुनाले अब उहाँहरूले रियलिस्टिक फोरकास्ट गर्न शुरु गर्नुभएको छ । हाम्रो प्रणालीले एक हप्तासम्मको त धेरै सत्यताको नजिकको फोरकास्ट गर्नसक्छ । मलाई उहाँले दिनुभएको हिजो दिनुभएको इन्फर्मेसन अनुसार यसलाई गुड न्युज नै भन्नुपर्छ । २१ गतेको दिन देशभर मौसम सफा रहन्छ भन्नुभएको छ । त्यसकारणले त्यो २१ गतेको सफा छँदैछ । त्यो भन्दा अगाडि आजभोलि विभिन्न ठाउँमा हिमपात भएको, हल्का वर्षा भएको कुरालाई हामीले क्लोजली वाच गरिराखेका छौँ । सम्बन्धित जिल्लाको जिल्ला सुरक्षा समिति र निर्वाचनसँग सम्बन्धित अधिकारीहरूसँग आयोगको जेईओसीले संयुक्त निर्वाचन सञ्चालन केन्द्र जहाँ प्रहरीको सञ्चार सेट पनि उपलब्ध छ । उहाँले दिनभरि जसो अपडेट लिनुभएको छ र मलाई उहाँहरूले बताउनुभएअनुसार अहिले देशभरिमा छिटपुट हिमपात भइरहेको छ । त्यसमा अलिकति बढी हिमपात भएको सङ्खुवासभामा देखिन्छ । अन्यत्र भन्दा बढी मात्रामा हिमपात भएको । तर सङ्खुवासभामा पनि त्यस्तो धेरै मतदान केन्द्रसम्म हिमपातकै कारणले पुग्न गाह्रो हुने पहिला देखि जमेकै हिउँ त छँदैछ । तर यो पटक थपिएको नयाँ हिउँका कारणले समस्या हुनेकुरा मेरो रिपोर्टिङमा चुकेको छैन । त्यसकारणले गर्दाखेरि यो हिमपात त्यति हेभी अवरुद्ध गर्ने खालको हिमपात छैन र २१ गतेसम्म मौसम सफा हुने भएको हुनाले त्यसले थप सकारात्मक बनाउँछ मौसमलाई भन्ने हाम्रो अहिलेसम्मको एजम्सन रहेको छ । अल अफ सडन त्यस्तो कुनै मौसममा चेन्ज भएछ भने हामी थप अपडेट लिइ नै राख्ने हुनेछौँ । अहिलेसम्मलाई यो हिमपातले धेरै असर पर्दैन ताकि मतदाताहरूलाई मतदान गर्ने अवरोध हुने गरी सम्मको अप्ठ्यारो पर्दैन भन्ने विश्लेषण हामीले गरेका छौँ । ’

आयोगले मौसमको अवस्थालाई नजिकबाट नियालिरहेको र अचानक मौसममा कुनै ठूलो परिवर्तन आए थप अपडेट लिने र आवश्यक प्रवन्ध मिलाउने तयारी गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्