Logo
Logo

यी हुन आफैंलाई भोट हाल्न नपाउने २ दर्जन नेता (सूची)


2.3k
Shares

काठमाडौं । फागुन २१ अर्थात भोलि हुने प्रतिनिधिसभा निर्वाचनमा प्रमुख दलका शीर्ष नेतासहित दुई दर्जन उम्मेदवारले आफैंलाई भोट हाल्न नपाउने भएका छन् । मतदाता नामावली रहेको क्षेत्रभन्दा बाहिरबाट उम्मेदवारी दिएका नेताहरू आफैंलाई मतदान गर्ने अवसरबाट वञ्चित भएका हुन् ।

प्रधानमन्त्रीका दाबेदारहरूको अवस्था
यो निर्वाचनमा भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति गगन थापा, रास्वपाका वरिष्ठ नेता बालेन शाह र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सम्मले आफैँलाई भोट हाल्न पाउने छैनन् ।

ओली र बालेन झापा–५ बाट उम्मेदवार छन् । थापा सर्लाही– ५ बाट चुनावी मैदानमा छन् । तीनै जना नेता भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका छन् । अवसर पाए आफू फेरि प्रधानमन्त्री बन्न सक्ने बताउँदै आएका पूर्व प्रधानमन्त्री प्रचण्ड समेत पटक रुकुम पूर्वबाट चुनाव लड्दैछन् ।

ओलीको मतदाता नामावली भक्तपुर– २ मा छ भने बालेनको मतदाता नामावली काठमाडौं– २ मा छ । त्यस्तै गगनको काठमाडौँ–४ र प्रचण्डको मतदाता नामावली चितवन ३ मा रहेको छ ।

पार्टी प्रमुख र पदाधिकारीहरू
यता रास्वपा सभापति रवि लामिछाने, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, नेताहरू प्रदीप पौडेल, नारायणकाजी श्रेष्ठ, राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र, एमाले सचिव भानुभक्त ढकाल, कांग्रेसका नेता डा. शेखर कोइरालाले पनि आफैलाई भोट हाल्न पाउने छैनन् ।

चितवन–२ का उम्मेदवार लामिछानेको नामावली भने काठमाडौं–३ मा छ । जसपाका उपेन्द्रले पनि आफूलाई मत दिन नपाउने अवस्थामा छन् । सप्तरी ३ मा उम्मेदवार रहेका यादवको मतदाता नामावली मोरङमा छ ।

प्रभावशाली नेताहरू
नेकपाका नेता नारायणकाजी श्रेष्ठ सर्लाही–३ बाट उम्मेदवार बन्दा उनको मतदाता नामावली गोरखा–२ मा छ । कांग्रेस महामन्त्री समेत रहेका नेता प्रदीप पौडेलको नामावली तनहुँ–२ मा छ । पौडेल काठमाडौं–५ बाट उम्मेदवार छन् । त्यसबाहेक रास्वपा उपसभापति स्वर्णिम वाग्ले तनहुँ–१ बाट उम्मेदवार छन् । उनको मतदाता नामावली गोरखा–१ मा छ ।

त्यस्तै, राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौँ–१ बाट उम्मेदवार बनेपनि उनको मतदाता नामावली ललितपुरमा रहेको छ । मोरङ–३ मा मतदाता नामावली रहेका एमाले सचिव भानुभक्त ढकालले पनि आफूलाई मतदान गर्न पाउनेछैनन् । उनी तेह्रथुमबाट उम्मेदवार बनेका छन् ।

यस्तै, मोरङ–६ मा कांग्रेस उम्मेदवार रहेका नेता डा. शेखर कोइराला र मोरङ–२ मा उम्मेदवार रहेका मीनेन्द्र रिजाल, महालक्ष्मी उपाध्याय (डिना),धनुषा–३ मा एमालेबाट उम्मेदवार बनेकी जुली महतो,रुपन्देही–३ मा वासुदेव घिमिरे, रुपन्देही–४ मा उम्मेदवारी दिएका प्रमोद यादवले पनि आफूलाई मतदान गर्न पाउने छैनन् ।

नवलपरासी– २ मा उम्मेदवार रहेका नेकपाका नेता देवेन्द्र पौडेल, नेकपाबाटै कैलाली–५ मा उम्मेदवार बनेका प्रेम आले र मनाङबाट उम्मेदवार बनेकी यशोदा सुवेदी पनि यो पटक आफूलाई भोट दिन पाउने छैनन् ।

व्यवसायी र अन्य उम्मेदवारहरू
नवलपरासी–१ मा उम्मेदवार बनेका कांग्रेसका विनोद चौधरी, तनहुँ–२ मा उम्मेदवारी दिएका शंकर भण्डारी,बाँके–३ बाट उम्मेदवार बनेका अम्मरसिंह पुनले पनि आफैलाई मत दिन नपाउने भएका छन् ।

यस्तै, पुकार बम, निशा डाँगी, सोम शर्मा, खगेन्द्र सुनार, भक्तिप्रसाद सिटौला, धनराम जैसी, महावीर पुन, लालबहादुर घर्तीलगायतले पनि यो पटक आफैलाई भोट दिन पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्