Logo
Logo

दलका कार्यकर्तालाई ‘रिजर्भ’ गाडी, सर्वसाधारणलाई ‘नो’ टिकेट


252
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं उपत्यकाबाट गृहजिल्ला फर्किन खोज्ने मतदाताले यातायातका सवारीसाधन नपाएको गुनासो गरेका छन् ।

आज बिहानैदेखि सवारीसाधन कुर्दा पनि टिकट नपाएको र ‘रिजर्भ’ गाडीले सर्वसाधारण नबोकेको उनीहरुले गुनासो गरेका हुन् । ओखलढुंगाका कुलबहादुर थापाले विद्यालयमा कार्यरत रहेकाले ढिलो बिदा पाएको र व्यक्तिगत सवारी साधन नभएकाले सार्वजनिक यातायातकै भर पर्नुपरेको बताए ।

उनले बुधवार बिहानैबाट ओखलढुंगा जान गाडी कुरेपनि नपाएको बताए । उनकाअनुसार अधिकांश गाडीमा ‘रिजर्भ’ लेखिएको छ र ती गाडीले सर्वसाधारण बोक्न मानेका छैनन् । बस काउन्टरमा जाँदा दल र उनीहरुका नेतासँग सम्पर्क गर्नुस्, टिकट पाइँदैन भनेर आफूलाई पठाएको र अब भोट हाल्न जान नपाइने अवस्था आएको थापाले गुनासो गरे ।

थापाले भने, ‘म एउटा स्कुलमा जागिर गर्छु । त्यो स्कुलले हिजोसम्म पनि बिदा दिएन । मेरो व्यक्तिगत साधन छैन ।ओखलढुंगाका लागि आज २० गतेसम्म गाडीहरु पाइन्छन् भनेर सार्वजनिक यातायात चढेर भोट हाल्न घर जान खोजेको गाडी नै पाइएन । बिहान ४ बजेदेखि गाडी कुरेको अहिलेसम्म पनि गाडी पाइन । गाडीहरु रिजर्भ बाहेक केही लेखेको छैन । रिजर्भ गाडीहरुले हामीहरुलाई लगेनन् । बस काउन्टरमा जाँदा दल र उनीहरुका नेताहरु सम्पर्क गर्नुस् टिकट पाइँदैन भने । अब भोट हाल्न जान नपाइने भयो ।’

कास्कीका दिलिप महतले पनि राजनीतिक दलहरूले आफ्ना समर्थकलाई प्राथमिकता दिएर गाडी रिजर्भ गरेर लैजाँदा समस्या भइरहेको बताए । उनकाअनुसार त्यसरी भोट हाल्न जानेहरुले पनि धेरै दुःख पाइरहेका छन् । दलहरुले सबैजसो गाडी रिजर्भ गर्दा भोटलिस्टमा नाम भएका आफ्ना पार्टीका मान्छेलाई मात्रै गाडी पठाएर लगिरहेको उनले बताए ।

उनकाअनुसार सर्वसाधारणले सवारी नपाउँदा कतिपय मतदाता मतदानबाट वञ्चित हुने अवस्था देखिएको छ । महतले भने, ‘हिजोआज उपत्यका छाड्नेहरु धेरै दुःखले भोट हाल्न गएका छन् । भोटलिस्टमा नाम भएका आफ्ना पार्टीका मान्छेहरुलाई मात्रै दलहरुले लिएर गएका छन् । आफ्ना पार्टीका मान्छेलाई मात्रै दलहरुले गाडी पठाएर लगिरहेका छन् । धेरै सर्वसाधरणले भोट हाल्न जान सवारी नै पाएका छैनन् । जसकारण कतिपय भोट हाल्न जान नपाउने अवस्था छ ।’

रामेछापका कुमार बस्नेतले भने सिट नपाएपनि गाडी भने पाइएको बताए । राजनीतिक दलका नेताहरुले रिजर्भका गाडीमा जानुपर्छ भने पनि आफूले अस्वीकार गरेको बताए । बिना टिकट पनि गाडी पाइएको र आफू भोट हाल्न गाउँ जान लागेको उनले सुनाए ।

बस्नेतले भने, ‘मैले भोट हाल्न घर जानका लागि टिकट काटेको थिइन । पार्टीहरुले हाम्रा गाडीहरुमा जानुपर्छ भनेका थिए तर म गइन । तर बिना टिकट पनि गाडी पाएँ । भोट हाल्न घर जाँदैछु ।’

सरोकारवालाहरुका अनुसार निर्वाचनको मुखैमा सार्वजनिक यातायात व्यवस्थापन र दलहरूको संलग्नताबारे उठेका यी गुनासोप्रति सम्बन्धित निकायको ध्यान जान आवश्यक देखिएको छ । सर्वसाधारण मतदाताले सहज रूपमा मतदान केन्द्रसम्म पुग्न पाउने अधिकार सुनिश्चित गर्न यातायात व्यवस्थापन पारदर्शी हुन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्