
काठमाडौं । बागलुङमा प्रतिनिधिसभा निर्वाचनका लागि मतदानस्थलमा खटिएका मतदान अधिकृतको जिम्मेवारी खोसिएको छ ।
बागलुङ–२ स्थित गलकोट नगरपालिका–१० रमुवा आधारभूत विद्यालयको मतदान केन्द्रमा खटाइएका मतदान अधिकृत प्रकाश गैरेको जिम्मेवारी खोसिएको हो ।
मतदान अधिकृतहरूको ह्वाट्सएप समूहमा गलत अभिव्यक्ति दिएपछि पत्र पठाएर गैरेको जिम्मेवारी खोसिएको क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत भीमप्रसाद सुवेदीले जानकारी दिए ।
पत्रमा मतदान अधिकृतले गर्न नहुने किसिमका गतिविधि गरेको देखिएकाले जिम्मेवारीबाट हटाइएको उल्लेख छ ।
गैरेलाई आफ्नो जिम्मामा रहेका मतपत्र लगायत मतदान सामग्री तुरुन्तै सुरक्षा निकायलाई बुझाउन र निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क गर्न भनिएको छ ।
मतदान अधिकृत हटाइएकोबारे निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङ, जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय तथा सम्बन्धित निकायलाई समेत जानकारी गराइएको कार्यालयले जनाएको छ ।
गैरेको ठाउँमा भुवन बहादुर कुँवरलाई मतदान अधिकृतको रूपमा खटाइएको छ । ।











