Logo
Logo

एमालेका अधिकांश पदाधिकारी हारतर्फ


3k
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको जारी मतपरिणामअनुसार नेकपा एमालेका ‘कोर टिम’ मानिने पदाधिकारीहरू विभिन्न निर्वाचन क्षेत्रमा पछि परिरहेका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार १६५ निर्वाचन क्षेत्रमध्ये १२३ क्षेत्रमा मतगणना जारी छ। एमालेले अध्यक्ष केपी शर्मा ओलीसहित १० जना पदाधिकारीलाई प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाएको थियो ।

उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ र सचिव भानुभक्त ढकालबाहेक अध्यक्ष ओलीसहित अधिकांश पदाधिकारी पछाडि परेका छन् ।

झापा–५ मा उम्मेदवार रहेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाहसँग उल्लेख्य मतान्तरले पछि परेका छन् । यद्यपि, यो अन्तिम परिणाम भने होइन।

त्यस्तै, उपाध्यक्ष विष्णु पौडेल पनि रुपन्देही-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेलसँग धेरै मतले पछि परेको निर्वाचन आयोगले जनाएको छ । उता लमजुङबाट उम्मेदवार रहेका अर्का उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ भने प्रारम्भिक मतगणनामा करिब चार सय मतले अघि छन् ।

उनले नेपाली कांग्रेसका गमबहादुर गुरुङभन्दा चार सय मतले अग्रता लिएका छन् । यसैगरी अर्का उपाध्यक्ष गोकर्ण विष्ट पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसँग पछि परेका छन् । एमालेले यसपटक उपाध्यक्ष रामबहादुर थापालाई समानुपातिक सूचीमा राखेको छ भने रघुजी पन्त प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार छैनन्।

यसैगरी महासचिव शंकर पोखरेल पनि दाङ–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसँग पछि परेका छन्।

एमालेका तीन उपमहासचिवमध्ये दुई जनालाई मात्र उम्मेदवार बनाइएको थियो। योगेश भट्टराईलाई भने एमालेले टिकट दिएको थिएन।

धनुषा–४ मा उम्मेदवार रहेका उपमहासचिव रघुवीर महासेठ प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका राजकिशोर महतोसँग पछि परेका छन्। उनी हाल तेस्रो स्थानमा छन्।

यस्तै अर्का उपमहासचिव लेखराज भट्टको कैलाली–४ को मतपरिणाम भने निर्वाचन आयोगले अझै सार्वजनिक गरेको छैन।

एमालेका सचिवहरूमध्ये भक्तपुर–२ मा महेश बस्नेत राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसँग दोब्बर मतले पछि परेका छन्। त्यस्तै अर्का सचिव राजन भट्टराई काठमाडौं–४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमसँग पछि परेका छन्। सो क्षेत्रमा उनी तेस्रो स्थानमा छन्।

यसैगरी भोजपुरबाट उम्मेदवार रहेका एमालेका अर्का सचिव शेरधन राई पनि श्रम संस्कृति पार्टीका उम्मेदवारसँग पछि परेका छन्।

तर, सचिव भानुभक्त ढकालले तेह्रथुममा अग्रता लिएका छन्। यही अग्रता कायम रहेमा ढकालको जितको सम्भावना बलियो देखिएको छ।

प्रतिक्रिया दिनुहोस्