Logo
Logo

सच्चिएनन्…बरु सक्किन तयार भए पुराना दल


441
Shares

नेपालमा रास्वपाको घण्टी बजेको छ । कसैलाई यो अत्यन्तै मधुर, शान्त, सुखाय लागेको छ भने कसैलाई ज्यादै कर्कश । जसलाई जे लागे पनि नेपालमा घण्टी टिनीनी मात्र हैन, टनन नै बजेको छ । यो नेपालको पछिल्लो राजनीतिक यथार्थ हो ।

यो घण्टीले धेरैले सपनामा पनि नसोचेको चुनावी सफलता दिलाएको छ, लाग्छ यसपटक रास्वपाबाट लठ्ठी त के सिन्का उठे पनि जित्यो, मान्छेको त के कुरा भो र ? अर्कोतिर नेपाली राजनीतिका एक से एक धुरन्धर खेलाडीहरू यसरी ढले कि उनीहरू अहिले पनि ऐँठनमै होलान् । सपना हो कि बिपना, छुट्याउन नसकेर आफैलाई चिमोट्दै सोधिरहेका होलान्, आखिर यो सबै कसरी भयो ?

हुन पनि हो देशमा यसपटक रास्वपाको जित– कुनै तथ्य र तर्कभन्दा पर छ । जब तथ्य र तर्क निरीह हुन्छन्, त्यहाँ कुनै विश्लेषणको स्कोप नै हुँदैन । अहिलेको अवस्था ठीक त्यस्तै हो । नयाँ भनिएको रास्वपाले यति धेरै कसरी जित्यो र पुराना भनिएका अरू दल कसरी यति धेरै बढारिए?, कोही पनि राजनीतिक पण्डित विश्लेषण गर्न सक्ने अवस्थामै छैनन् ।

तैपनि कर्मकाण्डी नै सही, यतिबेला केही लेख्नु, केही विश्लेषण गर्नु – समयलाई दशी छोड्नु हो । यो स्तम्भकार पनि त्यही कर्मकाण्ड पूरा गरिरहेको छ । यसअघिका विलोम पल्टाएर हेर्दा त्यहाँ लेखिएका अक्षर, अक्षरले बोल्ने सत्य के हो भने रास्वपाको पक्षमा हावाचाहिँ चलेको छ, यो सिरसिरे बतास हो वा आँधी– समयको क्रममा मात्र छिनोफानो हुनेछ ।

दिन बित्दै गए, फागुन २१ गतेको दिन पनि आयो । मतदाताहरू मत गर्न जाँदै थिए, त्यतिबेला पनि यो स्तम्भकारलाई रास्वपाको पक्षमा आँधी नै आएको भेउ थिएन । यति चाहिँ लागेकै थियो कि एमाले तेस्रो हुन्छ; कांग्रेस र रास्वपा १९÷२० कै स्थितिमा छन् । सिरसिरे बतास चले कांग्रेस पहिलो हुन्छ, अलि जोडले हावा चले रास्वपा पहिलो ।

चुनावको दिन झापा क्षेत्र नं ५ को मतदान स्थलमा रास्वपाको पक्षमा अभूतपूर्व उत्साह देखियो । त्यसले सजिलै के भन्न सक्ने स्थितिमा पु¥यायो भने बालेनको पक्षमा प्रचण्ड लहर नै आएको रहेछ । नभन्दै त्यसको २४ घण्टा पनि नबित्दै मतगणनाको प्रारम्भिक रुझान आयो । रूझानले संकेत ग¥यो कि रास्वपाको पक्षमा ५ वटै क्षेत्रमा सुनामी नै आएको रहेछ ।

स्रष्टा गोपालप्रसाद रिमालको एक बहुचर्चित कविता छः
एक जुगमा उक दिन एकपटक आउँछ
उलटपुलट, उथलपुथल, हेरफेर ल्याउँछ
नभन्दै एक जुगमा २०८२ साल फागुन २१ गते एकपटक आयो । र, यो दिन नेपालमा वर्षौदेखि दबाइएका नेपाली जनजन बोले, सहे भनी सझिएका इख फेर्न मात्र उठेनन्, गए भनी नदेखिएका फर्कीफर्की पनि आए । सुते भनी सम्झिएका सुरुसुरु हिँडे र मरे भनी फ्याँकिएका जुरुजुरु उठे ।

अनि त के भयो ?

‘कायर’ बनाइएकाले वीर भएर जोसको वेग चलाए । खरानी भरभराउँदो भयो र हुरी चल्यो । त्यही हुरीले घण्टी बजायो र एक जुगमा एक दिन एकचोटि आयो ।

अहिलेको सत्य यही हो । तर, यो सत्य एकैदिन आएको हैन । यो आइपुग्न वर्षौँ लाग्यो । फागुन २१ गते त त्यसको पटाक्षेप मात्र भएको हो ।

धेरै भयो, नेपालमा पुराना राजनीतिक दल र तिनका नेताले गणतन्त्रसम्म आइपुग्दा ल्याइएका अनेक तन्त्रका लागि गरेको सङ्घर्ष र योगदानको सावा, ब्याज र स्याज लिएको । वर्षौँसम्म एक किसिमको विरासतको राजनीति नै चलाए उनीहरूले । यस क्रममा उनीहरूले अति मात्र गरेनन्, अत्याचार नै गरे । उनीहरूको सङ्घर्ष र योगदान देखेको पुस्ताले ठिकै छ, एक दिन त कसो नसुध्रिएलान् भनेर पटक पटक मौका पनि दिए । तर, त्यसले उनीहरूको कानमा कुनै बतास लागेन ।

नयाँ पुस्ताले उनीहरूको न सङ्घर्ष देखेको थियो, न त्याग । उनीहरूले त अनेक तन्त्रका नाममा चलाएको लुटतन्त्रको सिण्डिकेट मात्र देखे । उनीहरूलाई लाग्यो, यो त अति मात्र हैन, अत्याचार नै भयो ।
त्यसपछि उनीहरूले बाध्य भएर अल्टिमेटम नै दिए, कि सुध्र कि सकेऊ !

तर, उनीहरू सुध्रिन तयार भएनन्, सकिने बाटोतिर लागे । भदौ २३–२४ को जेनजी आन्दोलन त्यसैको प्रस्थानविन्दु थियो । त्यति ठूलो जनधन र सम्पदाको बरबादीपछि पनि उनीहरू सुध्रिन तयार भएनन्, बरु सकिने बाटोतिर लागे । फागुन २१ गते तिनै नसुध्रिएकाहरू सकिएका हुन् ।

नेपालीमा एउटा बहुचर्चित उखान छ, मर्नुभन्दा बहुलाउनु निको । यसपटक फागनु २१ गते नेपाली जनताले मर्नेभन्दा बहुलाउने विकल्प रोजेका हुन् । यसो भन्दा यो जीतको उत्सव मनाउनेहरूलाई रिस उठ्नसक्छ । मर्नेभन्दा बहुलाउने विकल्प रोजेकामा यस्तो रिस उठ्नु अस्वाभाविक हैन । तर, यसपटक जे जसरी मतदान भयो र घण्टी लिएर उठेका सिन्काले समेत जिते, त्यो देख्दा तितो सही यति’ अक्षर’ चाहिँ समयको दशी छोड्नैपर्ने हुन्छ । छोडेँ, भूलचुक लिने दिने त हुन्छ होला नै । त्यो पनि नभए परेको ब्यहोरूलाँ ।

विलोमको यो अंक लेखिरहेको बेला, स्तम्भकार चुनावकै इपसेन्टर मानिएको झापा ५, दमकमा छ । बाहिर विजयको नारा लागिरहेको छ,
यो जीत कसको जनताको ?
जनता कसको रास्वपाको
यहाँसम्म ठिकै छ,
तर जब रास्वपा कसको ? भनिन्छ,
त्यसपछि उत्तर एउटै छैन ।

कोही भन्दैछन्, बालेनको । कोही भन्दैछन्, रविको ।

जनता त रास्वपाको भयो तर रास्वपा कसको– रविको कि बालेनको ? अहिलेको मूल प्रश्न यही हो । भन्नलाई त दुवैको भनिदिए हुन्छ । तर भन्नका लागि भनी दिनु र साँच्चैको हुनु एउटै कुरा हैन, विल्कुल फरक कुरा हो ।

धेरैलाई लागेको हुनसक्छ, चुनाव सकियो । देश रास्वपामय भयो । अब देशमा कुनै प्रश्नै छैनन्, प्रश्नभन्दा माथि पुग्यो देश ।

देशमा लगभग असम्भव नै मानिएको दुई तिहाइ बहुमत रास्वपालाई प्राप्त भएको बेला यस्तो लाग्नु अस्वाभाविक पनि हैन । तर, त्यस्तो हैन, आदि पनि प्रश्न हो, अन्त्तय पनि प्रश्न । प्रश्नविनाको केही पनि हुँदैन ।

नेपालमो यतिबेला सबैभन्दा धेरै प्रश्न कतैतिर सोझिएका छन् भने ती रास्वपातिरै सोझिएका छन् । किनकि, अब ऊ प्रश्न सोध्ने ठाउँबाट उत्तर दिने ठाउँमा पुगेको छ । समस्या देखाउने ठाउँबाट समाधान दिने ठाउँमा पुगेको छ । नेपाली जनताले प्रचण्ड बहुमत दिएर उसको भूमिका परिवर्तन गरिदिएका छन् ।

तर, रातारात उत्तर र समाधान दिने ठाउँमा पुगेको रास्वपा अझै पनि व्यक्तिहरूको समूह नै हो, पूरै पार्टी बनिसकेकै छैन । अझ गजबको कुरा त यसका प्रधानमन्त्रीका उम्मेदवार नै चुनावभन्दा केही दिन अघि पार्टीमा आएका व्यक्ति छन्, बालेन शाह । उनी पाइतो सरेका पाहुना मात्रै हुन् वा यही नै बास बस्न आएका स्थायी बासिन्दा– त्यसको छिनोफानो तुरुन्तै र सजिलै हुनेवाला छैन ।

तर, अब जनता यो हिसाबकिताब गरेर बस्नेवाला छैनन् । उनीहरू चुनावको बेला रास्वपाले गरेको १०० वाचाको वाचापत्र डाउनलोड गरेर आआफ्नो भागमा वाचा कण्ठस्थ गरेर बसेका छन् । बालेन सरकार सुरूभएको पहिलो दिनदेखि नै उनीहरूले वाचा पूरा हुने दिनको उल्टो दिनगन्ति गर्न औंला भाँच्न थालिहाल्नेवाला छन् ।

हुन पनि रास्वपाले चुनावी घोषणापत्र वा संकल्पपत्र हैन, वाचापत्र नै ल्याएको छ । नेपाली सनातनमा वाचा भनेको पूरा गर्नैपर्ने कसम हो । कसम खाएपछि पूरा गरिएन भने पाप लाग्ने मात्र हैन कि मरिन्छ नै भन्ने सामाजिक स्वीकारोक्ति छ ।

रास्वपाका १०० वाचा यस्ता छन् कि ती पूरा गर्न दातबाट पसिना नै आउने अवस्था छ । चुनावमा बहुमत ल्याएर सरकार बनाउनु एउटा प्राविधिक पक्ष हो, त्यसको कार्यान्वयनका लागि एकातिर भरपूर स्रोत र संसाधन चाहिन्छ भने अर्कोतिर संविधान, नियम, कानून, प्रणाली, पद्धति पनि चाहिन्छ । यी सबैभन्दा पनि पहिला चाहिने भनेको नेतृत्वको इच्छाशक्ति त्यसलाई प्राप्त जनअनुमोदन हो । त्यो पहिलो शर्त जसलाई अर्को अर्थमा लाइफलाइन भने हुन्छ, त्यो चाहिँ रास्वपालाई प्राप्त छ ।

नेपाली जनतालाई चाहिएको र रास्वपाले पनि दिन्छु भनेर वाचा गरेको चुरो कुरो भनेको विधिको शासन, सुशासन, भ्रष्टाचार र दलीयकरणको समुल अन्त्य र मेरिटोक्रेसीको प्रत्याभूति हो । झट्ट सुन्दा प्यारा लाग्ने यी शब्दहरू आफैँमा यति ठूला वाचा हुन् कि जो सतप्रतिशत पूरा गर्न सहज मात्र लगभग असम्भव नै हुन्छ । अझ, त्यसमा पनि रास्वपा पार्टीको नाममा भेला भएका शीर्ष नेतादेखि नेतृत्व तहको एउटा घेरासम्म धेरैको आआफ्नो विगतको ब्यागेज छ । सबैभन्दा ठूलो ब्यागेज त रास्वपा सभापति रवि लामिछानेले बोकेका छन् । सहकारी प्रकरणसँग जोडिएको संगठित अपराध र सम्पति शुद्धिकरणको मुद्दा अदालतमा ‘एक्टिव’ रहेकाले उनी चुनाव जितेर पनि सत्तामा पुग्ने स्थितिमा छैनन् ।

यति मात्र हैन, रविको दोहोरो राहदानीको अर्को संगीन मुद्दा पनि सर्वोच्च अदालतमा विचाराधीन छ । २०७९ को चुनावलगतै प्रचण्डलाई समर्थन गरेर सरकारमा जाने शर्तमा महान्याधिवक्ताको कार्यालयले दोहोरो राहदानीको मुद्दा मूल्तवीमा गएको थियो । रविले आफ्नो राजनीति जोगाउन गरेको सत्ता सौदाबाजीको त्यही मुद्दा सर्वोच्च अदालतमा ‘एक्टिव’ रहेको हो ।

एक हैन, अनेक दशी प्रमाण भएका रविका चालु मुद्दा पुराना दलले प्रतिशोध लिएको भनेर भाष्य बनाउन सफलता मिले पनि कुरो त्यति मात्र हैन । यो कुरा रविलाई मत दिनेहरूलाई पनि राम्री थाहा छ । तर, उनीहरूको तर्क छ, अरूले गर्दा हुने, रविले गर्दा नहुने ? यसको अर्थ एक किसिमले भन्ने हो भने पुराना भ्रष्ट थिए, त्यसैले रविले पनि भ्रष्टाचार गर्न पाउनु पर्छ भन्ने नै हो । यदि त्यही नै तर्क हो भने के हामीलाई नयाँ भ्रष्ट चाहिएको हो ? त्यो त हैन होला ।

बालेन सरकारको सुरशासनको परीक्षा यही विन्दुबाट सुरू हुन्छ । रविको मुद्दा फिर्ता नलिई उनले सपथ लिन पाउँदैनन् । सांसद नै हुन नपाउने गरी दुई तिहाइ बहुमतवाला रास्वपाको सभापति भएर बसिरहलान् त रवि ? अनि, अदालतमा विचाराधीन रहेको र प्रमाणले घेरिएको त्यो मुद्दा वालेनले सहजै फिर्ता गरेर दिउँसै रात पार्लान् त ?
यति मात्र हैन, अर्को पनि महत्वपूर्ण प्रश्न बालेन सरकारको पहिलो दिन नै चुनौतीको अक्करे भीर बनेर उभिने छ । त्यो भनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन । प्रतिवेदन सार्वजनिक भैनसके पनि ट्रायल बलुनमा आएअनुसार कम्तीमा पनि त्यतिबेलाका सरकारका प्रमुख ओली, उनका गृहमन्त्री लेखक र उनका आइजीपी खापुङलाई जेल पठाउनुपर्ने हुन्छ । बालेन र रविले पनि त्यही भनेर चुनाव जितेका हुन् र उनीहरूलाई चुनाव जिताउने जेनजी आन्दोलनको मर्म पनि त्यही हो ।

त्यसैले पनि बालेनका लागि यो प्रतिवेदन ‘नखाउँ भने दिनभरीको शिकार, खाउँ भनेको कान्छो बाबुको अनुहार’ साबित हुने छ । अहिले हार्नेहरूको कुरा गरेर के गर्नु ? त्यसो गर्नु भनेको ओरालो लागेको मृगलाई बाच्छाले पनि लखेट्छ भनेजस्तै हो । तर, पनि ओलीका लागि केही शब्द खर्चिनैपर्ने हुन्छ । यो स्तम्भकार सुरूदेखि नै लेख्दै आएको हो कि ओली समस्या हुन्, समाधान हैनन् । नेपाली वामपन्थी आन्दोलनकै धन्धुकारी ओलीले एमालेलाई त रसातलमा पु¥याउँछन् नै, नेपाली वामआन्दोनको पनि चिहान नखनी सकिँदैनन् । त्यतिबेलासम्ममा ओली आफैँ पनि ‘पुनः मुसिक भवः’ भैसकेका हुन्छन्, नभन्दै फागुन २१ गते त्यो दिन पनि आयो ।

यति ठूलो हार हुँदापनि ओली चुइक्क बोलेका छैनन् । नैतिकता भएको भए यतिबेलासम्म नैतिक जिम्मेवारी लिएर पार्टी नेतृत्वबाट बिदा लिइसकेका हुन्थे । जसरी, २०६४को चुनावमा पराजित भएपछि तत्कालीन एमाले महासचिव माधव नेपालले राजीनामा दिएका थिए । तर, ओली लाज पचेका नकच्चरा हुन्, उनीबाट नैतिकताको अपेक्षा गर्नु नै मूर्खता हो ।

यो चुनावमा रास्वपा नेपाली जनताकोमा केही सुनका सिक्का माग्न गएको थियो । जनताले सुनको खानी नै सुम्पे । यो सुनको खानी दिने जनतालाई रास्वपाले विधिको शासन, सुशासन, भ्रष्टाचार र दलीयकरणको समुल अन्त्य र मेरिटोक्रेसीको प्रत्याभूति दिन सकोस् । यस शर्तमा रास्वपालाई बधाई तथा सफलताको शुभकामना ।

यो चुनावका बाहुबली हुन् बालेन । उनको नाममा ब्राण्डिङ भएको बालेन वेगले नै देशमा घण्टी टिनीनी मात्र, टनन नै बजायो । व्यक्तिगत रूपमा पनि उनले ओलीलाई पुनः मुसिक भव बनाएर देशलाई नै ओलीमुक्त बनाएका छन् । यसका लागि उनी साँच्चै नै धन्यवादका पात्र छन् । यतिबेला उनीबाट देश र तमाम देशवासीले ठूलो आशा गरेका छन्, त्यो आशा पूरा गर्न सफलता मिलोस् । शुभकामना ।

प्रतिक्रिया दिनुहोस्