
२००६ सालमा पुष्पलाल जस्ता उत्साही युवाको अग्रसारिता र पहलकदमीमा स्थापित नेपाल कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलन इतिहासका अनेक मोडमा त्यसबेलाका नेताहरूको दूरदृष्टि, जोखिम उठाउने साहस, त्याग र बलिदानले नेपालको राजनीतिको केन्द्रविन्दु बन्यो र बन्यो निर्णायक शक्ति । तर आज यो आलेख लेख्न बसेको बेला भर्खर सम्पन्न आम निर्वाचनमा यसको अवस्था हेर्दा अवसानको गर्तमा पुग्ने हो कि भन्ने लाग्न थालेको छ । त्यो पनि यतिखेरका स्वनामधन्य पार्टी नेताहरूको घमन्ड, कुबुद्धि र गलत सोचका कारणले ।
यो बेला ती सबै घटना परिघटनाहरुको बेलिबिस्तार लाउन सम्भव नहोला, तर पनि इतिहासका सङ्गिन मोडमा त्यसबेलाका पार्टी नेताहरूको योगदानको स्मरण गर्नु वाञ्छनीय नै हुन्छ ।
निर्णायक पाँच मोडहरुः
राजा महेन्द्रले प्रजातन्त्रमाथि घात गरेका बेला इतिहासको पदचाप बुझेर पुष्पलाल मनमोहन र मोहन विक्रमको दूर दृष्टिका कारणले केशरजंग रायमाझीको राजावादी लाइनबाट कम्युनिष्ट आन्दोलनलाई बचाएर प्रजातन्त्रको पुनर्वहालीको लाइनमा उभियो । यो पहिलो मोड थियो र यसैको जगमा पुष्पलालले संयुक्त जनआन्दोलनको धारणा विकास गरे । अन्ततः कांग्रेस र कम्युनिष्ट मिलेर संयुक्त जनआन्दोलन गरेका कारण २०४६सालमा तीस वर्षे पञ्चायती निरंकुशतन्त्र धराशायी भयो र मुलुकमा प्रजातन्त्रको घाम पुनः झुल्क्यो ।
हुन त यही आन्दोलन र त्यसको आसपास नेपालको कम्युनिष्ट आन्दोलनमा दुइटा स्कुल देखियो । एउटा पुष्पलाल–मनमोहन स्कुल र अर्को मोहन विक्रम–निर्मल लामा स्कुल । नेकपा एमाले पहिलो स्कुलको उपज हो भने माओवादी दोस्रो स्कुलको ।
दोस्रो मोड मदन भण्डारीले विकास गरेको जनताको बहुदलीय जनवादले ल्यायो । उनकै विचारको आलोकमा संसदीय प्रतिस्पर्धाको बाटो अपनाएर एमाले २०५१सालको मध्यावधिमा संसद्को पहिलो शक्ति बन्यो । तेस्रो मोड मनमोहन अधिकारीको प्रधानमन्त्रीत्वको सरकारले नेपाली समाजमा गरेको सामाजिक सुरक्षाको नीतिगत हस्तक्षेप हो । विगतको नेपाली कांग्रेस सरकारले ल्याएको निजीकरण नीतिका पृष्ठभूमिमा यो अत्यन्त ठूलो र साहसिक कदम थियो । र भर्खर सम्पन्न आम निर्वाचन अघि सम्म पनि त्यसैको ब्याज खाएर एमालेले लामो समय सम्म रजाइँ ग¥यो ।
चौथो मोड प्रचण्डको नेतृत्वमा नेकपा माओवादीले प्रारम्भ गरेको सशस्त्र संघर्षको निष्कर्षबाट प्राप्त उपलब्धि हो । संविधानसभाको निर्वाचनमार्फत राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना र नयाँ संविधानद्वारा समावेशिता, सङ्घीयता, समृद्ध मौलिक हक, समाजवाद उन्मुखता यसका उदाहरण हुन् ।
पाँचौँ मोड २०७४को आम निर्वाचनले ल्यायो । एउटै घोषणापत्र बोकेर आमनिर्वाचनमा होमिएका एमाले र माओवादीलाई जनताले प्रतिनिधिसभामा दुई तिहाइ नजिकको मत दिएर परिवर्तनको लाभांश दिए । अब कार्यसम्पादनबाट जनताको नजरमा खरो साबित हुने जिम्मेवारी कम्युनिष्टहरुको काँधमा आयो । शुरुआत यी दुई पार्टीले एकताबाट गरे त्यो राम्रै थियो । त्यसबेला केपी ओलीको प्रधानमन्त्रित्वमा गठित कम्युनिष्टहरुले पाएको सुविधाजनक बहुमतबाट राम्रो डेलिभरी दिएर मुलुकको कायापलट गर्ने अवसर आएको थियो ।
चाटुकारहरूले मुलुकका सबैभन्दा चतुर र योग्य प्रधानमन्त्री पगरी पाएका तर यो स्तम्भकारको नजरमा सबैभन्दा हुस्सु ठानिएका केपी ओलीले न सही डेलिभरी दिन सके न त पार्टी एकतालाई जोगाउन सके । पार्टीमा रहेका प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल जस्ता पूर्वप्रधानमन्त्रीहरुसंगको परामर्शबाट राम्रो नीति निर्माण र कार्यान्वयनमा जानुपर्नेमा उनी गुटको स्वार्थमा रमाउन र चुच्चे रेल, घर घरमा ग्यास र पानी जहाजको हावादारी सपना देखाउने बाटोमा लागे । वास्तवमा उनकै हब्रिस ले अन्ततः नेकपा फुट्यो र नेपालीहरूको सपना चकनाचुर भयो । र यही त्यो पानीढलो हो जहांबाट नेपालमा कम्युनिष्टहरुको पतनको प्रारम्भ भयो । २०७९को आम निर्वाचनमा त यी पार्टी र यसका नेताहरू एक अर्कालाई हराउन सक्नुमा नै आफ्नो जीत ठान्ने ठाउँमा पुगे । सरकार त दुई पटक मिलेर बनाए तर त्यो सफा मन भन्दा पनि छलकपकयुक्त रणनीतिमा आधारित थियो ।
एउटा कम्युनिष्ट भनिने प्रधानमन्त्रीको अनुहार जब जेन्जीहरुको रगतले रङ्गियो त्यसले त्यससँगको गठबन्धनमा रमाएको नेपाली कांग्रेस र बत्तीसको म्याजिक नम्बरमा खाइखेली गर्ने अर्का कम्युनिष्ट पार्टीलाई पनि नेपाली मतदाताको बज्रमुक्का पर्नु स्वाभाविक हो । त्यसको घानमा सत्ताको जुठोपुरोमा रमाउने मधेशकेन्द्रित दलहरू समेत परे । नेपाली मतदाताले जे गरे त्यो अपेक्षित नै थियो तर त्यो यति चर्को होला भन्ने कमैको आंकलन थियो । राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा उठेको आंधीबेरीको घानमा एमालेका अध्यक्ष सहित सबै पदाधिकारी, नेपाली कांग्रेसका सभापति सहित सबैजसो पदाधिकारी र मधेशकेन्द्रित दलहरूको पत्तासाफ हुने गरीको पराजय चाहिं साँच्चै अनपेक्षित नै थियो । आफ्नो डेनमा पुगेर प्रचण्ड संसद्मा छिर्नुको कुनै सार्थकता देखिन्न । वास्तवमा मतदाताले सानोतिनो नसिहत देलान् भनेको त पत्तासाफ नै गरिदिए
धुलो टक्टक्याएर उठ्न सक्छ कि नाइँ ?
नेपाली कांग्रेस त उदार लोकतन्त्रको हिमायती हो । ढिलो चाँडो त्यो उठ्ला नै । तर कम्युनिष्टहरु एकपटक ओह्रालो लागे पछि तिनको पुनर्उत्थान विरलै हुने गर्छ । रुस र पूर्वी युरोपको कुरै नगरौँ, ती त टाढाका हुन् । छिमेकी भारतका कम्युनिष्टहरुको उदाहरण नै हाम्रालागि काफी छ । राष्ट्रिय दलको हैसियत सम्म जोगाउन सकेका एमाले र नेकपा अब यो चुनावी धक्काबाट कसरी बौरिएलान् ? यसका लागि ठूलै आत्म समीक्षा र चिरफार जरुरत पर्छ । अब पनि भूराजनीतिक चलखेललाई दोष दिएर आत्ममुग्धताको सिकार हुने कि आजको यो अवस्थाको बस्तुनिष्ठ र निर्मम समीक्षा गर्दै नेतृत्वको एउटा ठूलै पक्तिलाई विदा गरेर र धुलो टक्टक्याएर उठ्ने ? रोजाई ती पार्टीका युवा नेताहरुको हातमा छाडौं । आफ्नो उज्ज्वल अतीत, बिर्सनलायक वर्तमान र संदिग्ध भविष्य यो अवस्थाबाट पार पाउन यिनले ठूलै सर्जिकल स्ट्राइक गर्न आवश्यक छ । हेरौँ तिनले के गर्छन् ?











