नेपाली राजनीतिक इतिहासमा धेरै समयपछि जनमतले कोल्टे फेरेको छ । यद्यपि, यो कोल्टे फेराइ केवल सरकार परिवर्तनको घटनामा सीमित नभई भ्रष्टाचार र सुशासनको पक्षमा ठोस परिणाम आउनेमा अपेक्षा गरिएको छ । भर्खरै सम्पन्न निर्वाचनको नतिजाले यो केवल मतगणनाको अंकगणित नभई, लामो समयदेखि थाकेको, निराश बनेको र विकल्प खोजिरहेको नेपाली समाजको मौन विद्रोहको रूपमा प्रस्तुत गरेको छ ।

वर्षौँदेखि सत्ता ओगटेर बसेका पुराना दलहरूले आफूलाई अपरिहार्य ठान्ने घमन्ड पाल्नु, जनताको विश्वासलाई लुटिखाने अधिकारजस्तै ठान्नु र जनमतलाई आफ्नो स्थायी सम्पत्तिजस्तो व्यवहार गर्नुको उपहारस्वरूप आज लज्जास्पद पराजयको दज्र्यानी चिह्न पहिरिनुपरेको तितो सत्यजस्तै बनेको छ ।
जनमत कहिल्यै कसैको स्थायी सम्पत्ति हुँदैन, बरु त्यो त सधैँ शर्तसहितको भरोसा हुन्छ । जब त्यो भरोसा बारम्बार तोडिन्छ, तब जनमतले पनि कोल्टे फेर्छ, र त्यही कोल्टे फेराइँ आजको नेपालको निर्वाचन परिणाममा स्पष्ट देखिएको छ ।
झन्डै बीस वर्षअघि जनताले राजतन्त्रविरुद्ध विद्रोह गरेर लोकतन्त्र रोजेका थिए । त्यसपछि लोकतन्त्रलाई समावेशी र जनमैत्री बनाउने नाममा कयौँ आन्दोलनहरू भए । जनयुद्ध, शान्ति सम्झौता, संविधान निर्माण आदि सबै प्रक्रियाहरूको केन्द्रमा एउटा सपना थियो, कि अब राज्य नागरिकको हुनेछ, सत्ता जनताको सेवक बन्नेछ । तर समय बित्दै जाँदा त्यो सपना धुमिल हुँदै गयो । आन्दोलनका नायकहरू बिस्तारै सत्ताका मालिकजस्ता देखिन थाले ।
राजनीतिक दलहरू आन्दोलनको भावना बोकेका संस्थाभन्दा पनि सत्ता व्यवस्थापन गर्ने क्लबहरूजस्ता देखिन थाले । चुनाव नजिकिँदा उनीहरू जनतामाझ पुग्ने, आश्वासनका पोकाहरू बाँड्ने र सत्ता पाएपछि फेरि पाँच वर्षका लागि सिंहदरबारको भित्ताभित्र हराउनेजस्ता चरम जनविरोधी व्यवहार झन्झन् मौलाउँदै गए । यही चक्र दोहोरिँदै गर्दा समाजभित्र एउटा अदृश्य थकान बढ्दै गयो ।
युवापुस्ता निराश भएर विदेश पलायन हुन थाले, गाउँहरू वृद्धहरूको बस्तीमा बदलिँदै गए, सहरहरू बेरोजगार युवाको आकांक्षाले भरिए । नागरिकले कर तिरे, तर सेवा पाएनन्, संविधान बनेको भनियो, तर न्याय र अवसरको अनुभूति अझै टाढा नै भागिरह्यो । यस्तो अवस्थामा जनताले मनमनै एउटा प्रश्न सोध्न थाले, यदि पुरानै थितिबाट देश चलाउनुपर्छ भने परिवर्तनका खातिर हामीले यत्रो ठूलो बलिदानको मूल्य किन चुकायौँ ?
जेलोस्, जनताको असन्तोषको प्रतिध्वनि यसपटकको निर्वाचनमा राम्रोसँग सुनियो । मतपेटिकामा खसेका मतहरू केवल उम्मेदवारको पक्ष वा विपक्षमा थिएनन्, ती मतहरू निराशाको विरुद्धमा, अहंकारको विरुद्धमा र पुरानो राजनीतिक संस्कारको विरुद्धमा खसेका थिए । पुराना दलहरूका लागि यो परिणाम केवल सिट घट्ने वा बढ्ने हिसाब होइन, यो एउटा चेतावनी हो । उनीहरूले लामो समयसम्म जनताको मनोविज्ञानलाई हल्का ठान्दै आएका थिए ।
चुनावलाई व्यवस्थापन गर्ने प्रोजेक्टजस्तो बनाएर गठबन्धन मिलाउने, टिकट बाँड्ने, पैसा खर्च गर्ने, प्रचार गर्नेजस्ता लज्जास्पद व्यवहार देखाउँदै आएका थिए, तर जनमत केवल प्रचार र पैसाले नियन्त्रण हुने वस्तु होइन भन्ने कुरो यसपालि प्रमाणित भएको छ । हरेक समाजको अपेक्षा अनुभव, पीडा, आशा र असन्तुष्टिको मिश्रणबाट बनेको हुन्छ । जब त्यो असन्तुष्टि धेरै गहिरो हुन्छ, तब मतपेटिकाले नै क्रान्तिको भाषा बोल्न थाल्छ । आजको निर्वाचन परिणामले पनि त्यही भाषा बोलेको छ । यसले देखाएको छ कि जनताको धैर्य असीमित हुँदैन ।
सत्ता जति नै बलियो देखिए पनि यदि त्यो जनविश्वासबाट टाढा भयो भने एकदिन मतपेटिकाले नै त्यसलाई कमजोर बनाइदिन्छ । लोकतन्त्रको सुन्दरता पनि यही हो । यहाँ बन्दुकको आवाजले होइन, मतपत्रको सानो चिह्नले इतिहासको दिशा बदल्न सक्छ । यद्यपि, जनमतले कोल्टे फेरिसकेको छ भनेर मात्र सबै समस्या हल भएको मान्न मिल्दैन । यो त केवल एउटा संकेत हो, एउटा अवसर हो ।
यदि नयाँ अनुहारहरू पनि पुरानै संस्कारमा डुब्न थाले भने जनताको निराशा झन् गहिरो हुनेछ । जनताले विकल्प खोजेका हुन्, तर विकल्पको अर्थ केवल नयाँ अनुहार होइन, विकल्पको अर्थ नयाँ सोच, नयाँ कार्यसंस्कृति र जनताको पीडालाई बुझ्ने संवेदनशील राजनीति हो । नेपालको राजनीतिक इतिहासले एउटा रोचक सत्य के देखाउँछ भने, जनताले राजनीतिक दलहरूलाई बारम्बार भरोसा दिएका छन् र बारम्बार धोकामात्रै खाएका छन् ।
राजतन्त्रलाई हटाएर गणतन्त्र ल्याउँदा जनताले ठूलो सपना देखेका थिए । तर गणतन्त्रको नाममा पनि पुरानै शैलीको तामझाम र अहंकारयुक्त सत्ता चल्न थालेपछि आफ्ना सपना र बलिदानको मूल्यमाथि तुसारापात भएको गहिरो अनुभूति आम नागरिकले गर्दै आएका थिए । फलस्वरूप यसपटकको मतदान बाटै आफ्नो आक्रोश र पीडा सहज रूपमा मतपेटिकाभित्र उनीहरूले व्यक्त गरेका छन् ।
आजसम्म फुर्सद नपाएका पुराना दलहरूले अब आत्मसमीक्षा गर्नैपर्छ । यदि उनीहरू अझै पनि आफूलाई मात्र योग्य ठान्ने अहंकारमा बसिरहे भने समयले उनीहरूलाई इतिहासको पानामा सीमित गरिदिन सक्छ । राजनीतिक दलहरू जीवित रहनका लागि केवल संगठन र नेतृत्व मात्र पर्याप्त हुँदैन, उनीहरूले समाजको परिवर्तनशील आकांक्षासँग तालमेल मिलाउन सक्नुपर्छ । अनि नयाँ स्वरुपसहित जनताको विश्वास बोकेर अगाडि आएका दलहरुले पनि धर्तीमै टेकेर आफ्नो आगामी पाइलाहरू अघि सार्नुपर्छ ।
यही सन्दर्भमा यहाँनेर एउटा गम्भीर प्रश्न उठ्छ, ‘के नेपालको राजनीति साँच्चै परिवर्तनका लागि तयार छ त ?’ कि यो केवल सत्ता सन्तुलनको नयाँ खेल मात्रै हो ? इतिहासले देखाएको छ कि नेपालमा जनमतले पटक–पटक सत्ता परिवर्तन गराएको छ । तर सत्ताको चरित्र भने खासै परिवर्तन भएको छैन । पात्रहरू बदलिएका छन्, तर प्रवृत्ति उहीँ रहँदै आएको छ । यदि यो चक्र फेरि दोहोरियो भने जनताको निराशा अझै गहिरो हुनेछ ।
आज नेपालका लाखौं युवाहरू विदेशमा पसिना बगाइरहेका छन् । उनीहरूको पसिनाले घरमा रेमिटेन्स त आउँछ, तर त्यो रेमिटेन्सले देशको राजनीतिक संस्कार परिवर्तन गर्न सक्दैन । परिवर्तन त यहाँ बसेका राजनीतिक शक्तिहरूले नै ल्याउनुपर्छ । यदि राज्यले युवालाई अवसर दिन सकेन भने देशको भविष्य केवल जनसांख्यिकीय संकटमा मात्र होइन, मनोवैज्ञानिक संकटमा पनि फस्नेछ । देशभित्र बस्नेहरू निराश र देश छोड्नेहरू निरुत्साहित हुने अवस्था लोकतन्त्रका लागि शुभसंकेत होइन ।
त्यसैले आजको जनमतको कोल्टे फेराइलाई केवल चुनावी नतिजाको रूपमा हेर्नु पर्याप्त हुँदैन । यो वास्तवमा समाजभित्र लामो समयदेखि जमेर बसेको असन्तोष, निराशा र परिवर्तनको आकांक्षाको विस्फोट हो । यो विस्फोट मतपेटिकाभित्र शान्त ढंगले भएको छ, तर यसको सन्देश अत्यन्त शक्तिशाली छ । यसले राजनीतिक शक्तिहरूलाई एउटा स्पष्ट सन्देश दिएको छ कि जनताको धैर्यको पनि सीमा हुन्छ ।
यदि राजनीतिक दलहरूले यो सन्देश बुझ्न सके भने लोकतन्त्र अझ परिपक्व हुनेछ । यदि उनीहरूले यसलाई बेवास्ता गरे भने भविष्यमा जनताको आक्रोश अझै कठोर रूपमा व्यक्त हुनसक्छ । लोकतन्त्रको सबभन्दा ठूलो सुन्दरता यही हो कि यसले परिवर्तनलाई हिंसाबाट होइन, जनमतबाट सम्भव बनाउँछ । तर त्यो सुन्दरता टिकिरहनका लागि सत्ता चलाउनेहरूले पनि जनताको भावना बुझ्न सक्नुपर्छ ।
अन्ततः लोकतन्त्रको असली शक्ति वा इतिहासका निर्माता भनेकै जनता सार्वभौम हुन् । उनीहरूले एकपटक फेरि देखाइदिएका छन् कि सत्ता अन्तिम सत्य होइन, जनता नै नै अन्तिम निर्णायक हो । जब जनमतले कोल्टे फेर्छ, तब ठूलाठूला राजनीतिक संरचनाहरू पनि हल्लिन्छन् । यही कारणले आजको निर्वाचन परिणामलाई केवल राजनीतिक घटना होइन, समाजको मनोविज्ञानमा आएको परिवर्तनको संकेतका रूपमा बुझ्नुपर्छ ।
जनमतले त कोल्टे फेरिसकेको छ, अब प्रश्न आउँछ ‘के यसैगरी राजनीतिले पनि आफ्नो कोल्टे फेर्न तयार छ ?’ यदि राजनीति पनि जनमतको यो सन्देश सुन्न तयार भयो भने सम्भवतः नेपालको लोकतान्त्रिक यात्रा नयाँ दिशातिर अघि बढ्नेछ । तर यदि सत्ता फेरि पुरानै घमन्ड र बेवास्तामा फर्कियो भने इतिहासले फेरि अर्को कठिन समयलाई निमन्त्रणा गर्नेछ ।
लमही, दाङ
हालः साउदी अरेबिया











