
देश जेनजी विद्रोहले निम्त्याएको आम निर्वाचनमा होमिदै गर्दा अमेरिकाले इरानमाथि हमला गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन जनामध्ये एकजनालाई शासकका रुपमा स्थापित गर्ने अभिव्यक्ति दिए । इरानको सत्ता परिवर्तन गरी आफूले भनेको व्यक्ति नेतृत्वमा आउने ट्रम्पको दाबी यस्तो सन्देश हो कि उनी विश्वभर आफूले चाहेको व्यक्तिलाई सत्तामा पु¥याउन आतुर छन् । इरानमाथि हमला गरेपछि उनले क्युबाको सत्ता पनि परिवर्तन हुने अवस्थामा पुगेको भनिरहेछन् । त्यहाँ क्युबाली मूलका अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई स्थापित गर्ने बताइसकेका छन् ।
भेनेजुएलामा निकोलस मदुरोलाई दम्पत्तिसहित टपक्क टिपेर हथकडी लगाएर हाइज्याक शैलीमा अमेरिकी अदालतमा उभ्याए । ट्रम्पले अन्तरिम राष्ट्रपति डेल्सी रोडरिगेडलाई मान्यता दिएका छन् । विपक्षी नेता मारिया कोरिना माचाडोको राष्ट्रपति बन्ने महत्वाकांक्षालाई अस्वीकार गरिदिए ट्रम्पले । जनवरीमा ह्वाइट हाउस पुगेर माचाडोले आफूले प्राप्त गरेको नोबल शान्ति पुरस्कार समर्पण गरिन् र त्यसको बदलामा भेनेजुएलामा स्वतन्त्रता दिलाउन भनिन् ।
उनले त्यहाँको सत्ताको नेतृत्व पनि चाहिन् । तर, नोबल पुरस्कारको चाहना राखेका ट्रम्पले आफूले नपाएको असन्तुष्टि पोख्दै आएका थिए । जुन रिस माचाडोमाथि पनि पोखेर भेनेजुएलाको सत्तामा पुग्नबाट रोकिदिए । बरु मदुरोकै नेतृत्वको सरकारमा उपराष्ट्रपति रहेकी माचाडोलाई कार्यकारी राष्ट्रपति स्वीकारेर रबर स्ट्याम्प बनाए । भेनेजुएलाको तेलमा नियन्त्रण बनाएर छिमेकी क्युबाको सत्ताको जग हल्लाइदिए ।
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी विशेष फोर्सबाट उठाइनुभन्दा केही घन्टा अघिमात्र चीनको विशेष प्रतिनिधिमण्डलले भेटेको थियो । चीनको प्रभाव बढ्दै गएको थियो त्यहाँ । चिनियाँ लगानी मात्र बढेको थिएन, चीनसँग हतियार पनि खरिद गरेको थियो भेनेजुएलाले । क्युबामा सोभियतकालदेखिको रुसी प्रभाव छँदैछ । इरानमा पनि चिनियाँ प्रभाव बढ्दै थियो । इरानले रुससँगै चीनबाट पनि ठूलो परिमाणमा हतियार खरिद गरेको थियो ।
इरानमाथि हमला हुँदा चीनले विरोधको स्वरमात्र दियो युद्धमा प्रत्यक्ष अप्रत्यक्ष संलग्न हुन चाहेन । भेनेजुएलामा पनि उसले आफ्नो हितमा काम गर्न थालेका मदुरोलाई जोगाउन सकेन । एकातर्फ, ट्रम्प रुस र चीनको प्रभाव क्षेत्रमा धावा बोलिरहेका छन् र सत्ता नै परिवर्तन गराइरहेछन् । अर्कोतर्फ, चीनले कुनै चुनौती दिन नसकेको घटनालाई चासोका साथ लिइएको छ ।
इरान घटनामा रुसले आफ्नो भूमिका देखाउन थालिसकेको छ । खाडीका अन्य देशका नेताहरुसँग कुराकानी गरेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध अन्तको प्रयास गरिरहेका छन् । तर, युक्रेन युद्ध लडिरहेको रुस पनि इरानमा फस्न चाहिरहेको छैन । बरु उसले आफ्नो हितमा काम गर्दै आएको शासकलाई पतन हुँदा संरक्षण दिएको छ । सिरियामा तत्कालीन राष्ट्रपति बसर अल असदलाई हवाई उद्धार गरी मस्कोमा राख्यो ।
रुसको साथ पाएर सैनिक कू गरेका अफ्रिकाको माली, बुर्किना फासो, नाइजरका अलावा सेन्ट्रल अफ्रिकन रिपब्लिकका शासकहरु सत्तामा टिकिरहेका छन् । अफगानिस्तानको तालिवानलाई रुसको साथ मिलेपछि नै अमेरिकी सैनिक फर्कन वाध्य भएका थिए । जसरी सोभियत संघको सैनिकलाई फिर्ता जान अमेरिकी समर्थित तालिवानले वाध्य पारेका थिए त्यसरी नै रुसको साथ पाएर तालिवानले अमेरिकालाई २० वर्षपछि सन् २०२१ मा फर्कन वाध्य पा¥यो । अहिले ट्रम्प अफगानिस्तानको बग्राम सैनिक अड्डामा अमेरिकी सैनिक राख्न चाहिरहेका छन् जसलाई तालिवानले अस्वीकार गरिरहेको छ । ट्रम्पको आक्रामक सैन्य रणनीतिले अफगानिस्तान फेरि प्रोक्सी युद्धको क्षेत्र बनेको छ ।
पुटिन र सी चिनफिङले विश्व व्यवस्था नै परिवर्तन भएको घोषणा गरेपछि विश्वभर अमेरिका र यूरोपेली शक्तिराष्ट्रहरु प्रभावित भए । उनीहरुको जहाँ जहाँ प्रभाव क्ष्ँोत्र थिए त्यहाँ हलचल नै भयो । आफू अनुकूलको शासक स्थापित गरेका ठाउँमा शक्तिको बलमा परिवर्तनहरु भए । अफ्रिकामा सैनिक कू मार्फत् त्यस्ता घटना भए । अफगानिस्तानबाट २० वर्षपछि अमेरिकी सैनिक फिर्ता भएको दृश्यहरुले सँसारभर अमेरिकी शक्ति घटेको सन्देश प्रवाह भयो । आश र त्रासको रणनीतिले संसारभर प्रभाव बनाउने अमेरिका जस्तो बलियो देशका लागि त्यो सह्य थिएन । ट्रम्पले अमेरिकालाई पुनः महान बनाउने नारा लिएर राष्ट्रपति बनेर सुरुमा नोबल शान्ति पुरस्कारको आशा राखे । जब पाएनन् तब उनी आक्रामक बने ।
त्यसपछि ट्रम्पले धमाधम सँसारभर कतिपय देशमा नरम वा गरम दुवै शैलीमा आफूलाई मन नपरेको देशमा सत्ता पल्टाउन थाले । उनले विशेषगरी विश्व व्यवस्था नै परिवर्तन भइरहेको सन्देश प्रवाह गरिरहेका चीन र रुसलाई चुनौती दिन थालेका छन् । भारतमाथि पनि दबाब सृजना गरे ।
ट्रम्पले चीन र रुसमाथि दबाब बढाउन उनीहरुको प्रभाव क्षेत्र नै खलबलाए । भेनेजुएलाको नेतृत्व परिवर्तन र क्युबामाथि दबाब यही रणनीति बुझिन्छ । अमेरिकी महादेशका अमेरिकालाई नटेर्ने शासकहरुलाई चेतावनी दिए । युक्रेनमार्फत् रुसमाथि अमेरिकी दबाब देखिन्छ नै । रुसबाट सस्तोमा तेल खरिद गरेर प्रचुर आर्थिक लाभ लिइरहेका चीन र भारतमाथि ट्यारिफ बढाएर समस्या खडा गरिदिए । जसका कारण भारत रुसबाट तेल खरिद घटाउन वाध्य भएको थियो ।
इरान युद्धका कारण अमेरिकाले थप एक महिनाका लागि भारतले रुसी तेल किन्न अनुमती दिने भनेपछि तरंग आएको छ । भारत अमेरिकालाई सोधेर मात्र रुससँग तेल किन्नुपर्ने अवस्थामा त पुगेको होइन ? भारतभित्रै प्रश्न उठेपछि टाइम्स अफ इन्डियामा स्रोतको हवाला दिदै भारतले कसैलाई सोधेर तेल किन्नुनपर्ने समाचार प्रकाशित भयो । छिमेकी देशहरुमा सत्ताराजनीतिमा भएका उथलपुथल अमेरिकाले भारतमाथि दबाब बढाउनका लागि भएको विश्लेषणहरु पनि भएका छन् ।
पाकिस्तानका शक्तिशाली सेनापति असिम मुनिरलाई निकै महत्व दिएर ह्वाइट हाउसमै डाकेर लन्च गरे । भारत र पाकिस्तानबीचको चार दिनको झडपमा अमेरिकी हतियार पाकिस्तान पक्षबाट प्रयोग भयो । रुसको साथ पाइरहेको तालिवानसँग भारतले सम्बन्ध कसिलो बनाउँदै लग्दा पाकिस्तानले अफगानिस्तानमाथि पटक पटक आक्रमण गरिरहेको छ ।
यस घटनाबाट ट्रम्प रुस, चीन र भारतलाई चेक एन्ड ब्यालेन्समा राख्न आक्रामक ढंगले प्रस्तुत भएको बुझ्न गाह्रो छैन । भारतलाई रुस र चीनबाट टाढा राख्ने उनको रणनीति देखिइसकेको छ । भारतमा ब्रिक्स डिजिटल मनीको घोषणा हुने भनिएकाले पनि ट्रम्पको रणनीति डलरको बचाऊमा देखिइरहेको छ । ब्रिक्स देशहरुको अर्थतन्त्र द्रुत गतिमा वृद्धि भइरहेछ । ट्रम्प उनीहरुको कसिलो सम्बन्धले विश्व व्यवस्थामा हुनसक्ने उथलपुथलप्रति सचेत छन् । त्यसैले विश्वको सबैभन्दा बढी जनसंख्या भएको भारतलाई आफ्नो कित्ताबाट जान रोक्ने अनेकन रणनीति चालिरहेछन् । ऊमाथि आर्थिक दबाबसँगै भूराजनीतिक चुनौती थप्ने कदमहरु चालिरहेका छन् ।
इरान युद्धमा ट्रम्पले सत्ता परिवर्तन नै उद्देश्य राखेको भनिरहेका छन् । बरु त्यसका लागि महिनौं किन नलागोस् । उनले भेनेजुएलाको शैलीमा केही घन्टामै सत्ता परिवर्तन गराउन खोजेका थिए । इस्लामिक सत्ताको विरोधीलाई सघाएकै थिए । तर, इरानको सत्ता ढलेन । इजरायलसँग मिलेर आक्रमण गराए । तर, यो युद्ध लम्बिदै जाँदा दैनिक एक खर्ब नेपाली रुपैयाँ बराबरको धनराशी गुमाइरहेछन् । खाडीका धनी देशहरुमा रहेका अमेरिकी कम्पनी र सम्पत्तिमा क्षति पुगिरहेको छ । ट्रम्पले नसोचेको जोखिम मोल्नुपरेको घटनाक्रमले देखिइरहेको छ ।
संसारभर अमेरिकाविरोधी सत्ता टिक्न नसक्ने सन्देश दिइरहेका ट्रम्प इरान युद्धका कारण फैलिएको युद्धले रुस, चीन र भारतलाई बढी प्रभावित पार्न खोजिरहेका छन् । चीन र भारतले इरानी समुन्द्री क्षेत्रको स्ट्रेट अफ होर्मुजबाट ढुवानी हुने कच्चा तेल र ग्याँसको अवरोधको असर भोगिसकेका छन् । तेल र ग्याँसको मूल्य आकाशिंदा सबैभन्दा बढी खपत गर्ने मध्येका चीन र भारत नै प्रभावित छन् ।
अमेरिका र रुसले बढेको मूल्यबाट नाफा निकालिरहेका छन् । युद्धको खेती जस्तै भएको छ उनीहरुलाई । तर, इरान युद्ध सजिलै अन्त हुने देखिदैन, भए पनि युद्धको असर दुरगामी पर्ने देखिएको छ ।
एशियाको अर्थतन्त्र प्रभावित भइसकेको छ युद्धले । उनको युद्ध रणनीति रुस र चीनको प्रभाव कम गर्नेमा त छँदैछ । भारतमाथि ऊर्जा सुरक्षा बढाएर दबाब बढाउने पनि देखिएको छ । अमेरिका महाशक्ति बनाइराख्ने विश्व व्यवस्थाको सुरक्षाका लागि ट्रम्पले युद्ध देखि ट्यारिफ सम्मको अस्त्र फालेका छन् जुन सबैभन्दा बढी रुस, चीन अनि भारत लक्षित छ ।











