Logo
Logo

कांग्रेसका ७८ वर्षीय केसीले गराउनेछन् सांसदलाई शपथ


378
Shares

काठमाडौं । संसद सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहणको तयारी गरेको छ । प्रत्यक्ष र समानुपातिकतर्फ निर्वाचित सदस्यहरूले सदनको कामकारबाहीमा भाग लिनुअघि अनिवार्य रूपमा शपथ लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार नवनिर्वाचित सांसदहरुको शपथको तयारी गरिएको हो ।

प्रतिनिधिसभामा सबैभन्दा ज्येष्ठ सदस्यले अन्य सांसदहरुलाई शपथ खुवाउने प्रावधान रहेको छ । निर्वाचन आयोगको तथ्याङ्कअनुसार, यसपटक प्रतिनिधिसभामा सबैभन्दा ज्येष्ठ सदस्य नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी हुन् ।

७८ वर्षीय केसीले नै अन्य सांसदलाई शपथ गराउने छन् । संसदीय परम्पराअनुसार, ज्येष्ठ सदस्यलाई पहिले राष्ट्रपतिले शपथ गराउनेछन् । त्यसपछि ज्येष्ठ सदस्यले अन्य सबै सांसदलाई शपथ गराउनेछन् ।

संविधानको धारा ८८ अनुसार संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्छ । धारा ९१ (५) अनुसार सभामुख र उपसभामुखको निर्वाचन नभएको अवस्थामा प्रतिनिधि सभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने प्रावधान छ ।

शपथ सम्बन्धी ऐन, २०७९ ः यस ऐन र संसदीय व्यवस्था अनुसार, सभामुखको अनुपस्थितिमा ज्येष्ठ सदस्यले नै सदस्यहरूलाई शपथ गराउने जिम्मेवारी पाउँछन्। नयाँ सभामुख र उपसभामुखको चयन नभएसम्म अर्जुन नरसिंह केसीले नै सदनको बैठक सञ्चालन गर्नेछन् । ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने पहिलो बैठकले सभामुख चयनको कार्यतालिका तय गर्नेछ । सभामुख निर्वाचित भएपछि मात्र ज्येष्ठ सदस्यको यो विशेष जिम्मेवारी समाप्त हुनेछ ।

निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र दिए पनि सांसदहरूले ‘जनप्रतिनिधि’को पूर्ण अधिकार शपथ लिएपछि मात्र पाउँछन् । शपथ नलिई कुनै पनि सांसद सदनको बैठकमा प्रवेश गर्न, मतदान गर्न वा संसदीय समितिहरूमा सहभागी हुन पाउँदैनन् ।

निर्वाचन आयोगले प्रत्यक्ष १६५ र समानुपातिकतर्फ ११० सांसद निर्वाचित भइसकेको घोषणा गरिसकेको छ । आयोगले बिहीबार बिहान साढे ११ बजे समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्