
काठमाडौं । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका मेयर पुष्प वादीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालत काठमाडौंमा मेयर वादीविरुद्ध मुद्दा दायर गरेको हो ।
उनीसँगै चौरजहारीका असिस्टेन्ट सबइन्जिनियर मोहन शाहलाई पनि प्रतिवादी बनाइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । नगरपालिकाको असिस्टेन्ट सबइन्जिनियर पदमा कार्यरत शाहको आर्थिक वर्ष २०८१/८२ मा करार थप्न घुस लिएको मेयर वादीलाई आरोप लागेको छ ।
सबइन्जिनियर शाहले नै करार थप्नका लागि मेयर वादीलाई एक लाख रुपैयाँ घुस दिएको अख्तियारमा उजुरी हालेका थिए ।
आर्थिक वर्ष २०८१÷८२ मा एक लाख घुस दिएर करार थपिएको र आर्थिक वर्ष २०८२/८३ मा एक लाख घुस दिन नसक्दा करार थप नगरी बर्खास्त गरेको भन्दै शाहले नै अख्तियारमा उजुरी हालेका थिए । त्यसमा छानबिन गर्दा घुस लिए र दिएको भेटिएकाले लिने र दिने दुवै जना विरुद्ध मुद्दा दर्ता गरिएको हो ।
अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा दुवै जनालाई कैद सजाय माग दाबी गरिएको छ । त्यस्तै, घुस लिए दिएको एक लाख रुपैयाँ जफत गर्न पनि माग गरिएको अख्तियारले जनाएको छ ।











