कुनै समय संसद्मा दुई तिहाइ बहुमतनजिक पुगेका कम्युनिस्ट पार्टीहरू यो निर्वाचनबाट इतिहासकै कमजोर अवस्थामा पुगेका छन् । नेतृत्वको अहंकार, विभाजन, अस्थिरता र जनअपेक्षा पूरा गर्न नसक्दा कम्युनिस्ट आन्दोलनले अवसर गुमाएको विश्लेषण छ । कम्युनिष्ट आन्दोलन अहिले गम्भीर आत्मसमीक्षाको मोडमा उभिएको छ । यसपटकको निर्वाचन परिणामले पार्टीलाई केवल सिटमा मात्रै होइन, मनोवैज्ञानिक रूपमा पनि ठूलो धक्का दिएको छ । यही पराजयपछि एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमाथि गम्भीर प्रश्न उठ्न थालेको छ ।
एमालेको जीवनमै आन्तरिक लोकतन्त्र सबैभन्दा कमजोर बनेको छ । नीति प्रधान पार्टी एमाले अहिले व्यक्ति प्रधान भएको छ । जसको कारण विधान नै संशोधन गरेर ओली तेस्रो पटक अध्यक्ष बनेका छन् । तर, उनी जनताबाट भने अनुमोदित हुन सकेनन् । उनी मात्रै होइन, यो निर्वाचनमा एमालेकै सर्मनाम हार भयो ।
अध्यक्ष ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने र बस्तुनिष्ठ समीक्षा गरी एमालेलाई रूपान्तरण गर्नुपर्ने आवाज बाक्लिएको छ । ओलीपक्षकै नेताहरूले पनि नेतृत्वको विकल्प खोज्नुपर्ने बताउन थालेका छन् । एमालेभित्र लामो समयदेखि सङ्कुचित हुँदै आएको असन्तुष्टि विस्फोट हुने चरणमा पुगेको छ ।
यसको मुख्य कारण ओलीले पार्टीलाई निरङ्कुश शैलीमा सञ्चालन गर्नु, निर्णय प्रक्रिया सीमित घेराभित्र राख्नु र आलोचनाप्रति असहिष्णु हुनु नै हो । ओलीले राजीनामा नदिए अप्रिय निर्णय लिन बाध्य हुने चेतावनीसमेत नेताहरूले दिन थालेका छन् । यही सन्दर्भमा एमालेका नेता परशुराम मेघी गुरुङसँग दृष्टिले गरेको कुराकानीको सम्पादित अंश ।
गत निर्वाचनमा एमालेको हारलाई स्वीकार्नु त हुन्छ नि ?
सबैभन्दा पहिला निर्वाचित हुनुभएका प्रतिनिधि सभा सदस्यहरूलाई तपाईँको मिडियामार्फत हार्दिक बधाई र सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु । जहाँसम्म निर्वाचनमा हार र जितको प्रसङ्ग उठाउनुभएको छ, लोकतन्त्र भनेको सहभागितामूलक प्रक्रिया हो । यसमा सहभागिता कम र बढी मात्र हो । जनताको फैसलालाई नमान्ने भन्ने कुरै आउँदैन ।
एमालेको इतिहासमै यो निर्वाचनमा कमजोर परिणाम आयो । किन र कसका कारण यस्तो परिणाम भोग्नुप¥यो । यसको मुख्य जिम्मेवार को हो ?
नीति, सिद्धान्त र जनमतको हिसाबले अहिले देशको नेतृत्व कम्युनिष्टहरूले गर्नुपर्ने हो । तर, कम्युनिष्टहरू किन यसमा चुके भन्दा कम्युनिष्टको मार्गदर्शक सिद्धान्तको रूपमा रहेको माक्र्सवाद, लेनिनवाद र द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोणलाई आत्मसात् गर्ने क्रममा, त्यसलाई बुझ्ने क्रममा, त्यमसा आधारित भएर अहिलेको विकसित समाजको अध्ययन, अनुसन्धान गर्नुपर्नेमा ठुलो ग्याप रह्यो । अहिले पनि जनताको चाहना, इच्छा आवश्यकताहरू परिपूर्ति हुन सकेनन्, शासकीय शैलीमा सुधार हुन सकेन । जसका कारण सुशासन हुन सकेन, भ्रष्टाचार बढ्यो । माक्र्सवादलाई मानवीय आवश्यकता परिपूर्ति गर्नका लागि सबैभन्दा वैज्ञानिक औजारको रूपमा लिइन्छ । तर, हामीले त्यो कुरालाई आत्मसात् गर्न सकेनौँ । त्यसलाई शास्त्रीय ढंगबाट मात्र नभइ जनताको दिनानुदिन जीवनयापनका कुरा, दिनचर्याका कुरा, राज्यसँग जनताको अन्तरसम्बन्धको कुरालाई हामीले गहिराइका साथ अध्ययन गर्न र बुझ्न सकेनौँ । त्यसलाई व्यवहारमा लागू गर्न सकेनौँ । समाजवादी कार्यशैली अपनाउन नसकेकै कारण समाजले कम्युनिष्टहरूलाई जड र पुरातनजस्तो देख्यो । जसको कारणले गर्दा जनताले छान्न चाहेनन् । त्यसकारण यो हारको जिम्मा सिंगो कम्युनिष्ट आन्दोलनले लिनुपर्छ ।
पराजित भएपछि तत्कालीन महासचिव माधवकुमार नेपालले नैतिकताको आधारमा नेतृत्वबाट राजीनामा दिनुभएको थियो । अहिले पनि अध्यक्ष ओलीले राजीनामा दिने संकेत देख्नुभएको छ ?
समाजको गति सँगसँगै हामीले आफ्नो गतिलाई आत्मसात् गर्न नसक्दा नयाँ परिदृश्य देखा परिरहेको छ । त्यसकारण हामीले अहिले चारवटा कुरामा ध्यान केन्द्रित गर्नुपर्छ । एउटा नेतृत्वको रूपान्तरण र परिवर्तन अनि नीतिमा रूपान्तरण र परिवर्तन । त्यसपछि पार्टीको संरचनागत रूपान्तरण र परिवर्तन हुनुपर्छ । कार्यशैलीगत कुरामा पनि हामीले रूपान्तरण गर्नुपर्छ । यसमा माक्र्सवादी दृष्टिकोणको लेन्स लगाएर अध्ययन÷अनुसन्धान गर्दै आफूलाई रूपान्तरण गर्नुपर्छ । त्यो गर्दा तपाईँले भनेजस्तै कमिटीगत रूपमा पद र दायित्वको हिसाबमा पनि परिवर्तन गर्न जरुरी हुन्छ ।
धेरैले एमालेभित्र आन्तरिक लोकतन्त्र कमजोर भएको र निर्णयहरू अध्यक्ष ओलीमा केन्द्रित भएको आरोप लगाउँछन् । अहिलेको नतिजाको मुख्य कारण यही हो कि अरू पनि छन् ?
हरेक घटनाको आन्तरिक र बाह्य पक्ष हुन्छन् । आन्तरिक पक्षले नै बाह्य पक्षलाई निर्धारण गर्छ । माक्र्सवाद र जनताको बहुदलीय जनवादलाई हामीले जसरी आन्मसात गरिरहेका छौँ, त्यसको मूल्य, मान्यता, व्यवहारिक पक्ष, कार्यशैलीगत, आचरणगतलगायतका तमाम पक्ष मिलेर आन्तरिक पक्ष बनेको हुन्छ । त्यसकारण एउटा अध्यक्ष, उपाध्यक्ष वा महासचिव मात्र भन्नुभन्दा अहिले आम रूपमा एमालेका संगठित सदस्यको वैचारिक धरातल असाध्यै कमजोर छ । जसको कारण एमाले नीति प्रधान हुनुपर्नेमा नेता प्रधानमा गयो । संगठित सदस्यहरूको सैद्धान्तिक बुझाइको कमजोरीका कारणले यो सबै भएको छ । कमजोर सैद्धान्तिक धरातलले गर्दा एउटा इभेन्ट प्रधान हुने, एउटा व्यक्ति प्रधान हुने र अरूलाई बेवास्ता गर्ने समस्या देखा परेको छ । सबैभन्दा पहिला किन यस्तो भयो भन्ने प्रश्नको कारण खोज्न जरुरी छ । त्यसपछि समाधानतर्फ लाग्न सक्छौँ । नीतिगत कुरालाई करेक्सन गरेर गइसकेपछि नीतिको आधारमा अध्यक्ष पनि चल्ने हो, महासचिव पनि चल्ने हो । पार्टीको आन्तरिक लोकतन्त्रलाई सुदृढ गर्ने हो भने मुलुक संघीय संरचनामा गएको छ, हाम्रो पार्टीको संरचना संघात्मक छ कि एकात्मक छ त ? पार्टीको संरचना एकात्मक बनाउने अनि एकात्मक पार्टीको अभ्यास गरेर संघात्मक राज्य कसरी चलाउन सक्नुहुन्छ ? त्यहाँ पनि सुधार आवश्यक छ । प्रत्येक संगठित सदस्यले एउटा कमिटीमा कति अवधि काम गर्ने भन्ने कुराको निर्धारण हुँदै गएपछि समाधान निस्कँदै जान्छ ।
तपाईँहरूले व्यक्तिको लागि पार्टीको विधान नै फेरिदिनुभयो नि त ?
व्यक्तिको लागि विधान नफेरेको भए तपाईँले यो प्रश्न गर्नु हुन्न थियो । हामी कार्यकर्ताहरूको बुझाइको कमजोरीमाथि यी सबै काम भएको छ ।
सच्चिने कि सक्किने भन्दै शुभेच्छुकहरूले खबरदारी गर्दै आए तर नेताहरू सक्किने बाटोमा अघि बढे । एमाले अब सच्चिएर अगाडि बढ्ने सम्भावना छ ?
यसमा दुईटा कुरा छन् । कि त आफूलाई रूपान्तरण गर्नु¥यो, कि त आत्मरतिमा रमाउनुप¥यो । यी दुई प्रवृत्ति अहिले देखिएको पनि छ । केही कुरा सतहमा आइरहेका पनि छन् । आत्मरतिमै रमाउने हो भने अब धेरै कुरा भन्न सकिँदैन । तर, रूपान्तरण नहुने भन्ने त प्रश्नै छैन नि । संसारमा सबै चिज गतिशील हुन्छ । कुनै पनि चिज स्थिर हुँदैन । जुन कुराले गति लिन्छ, त्यो समाजको गति सँगसँगै अघि बढ्छ । माक्र्सवादलाई सैद्धान्तिक आधार मान्ने कम्युनिस्ट पार्टीहरूले समाजलाई नेतृत्व गर्नुपर्ने हुन्छ । समाजलाई नेतृत्व दिने पार्टी त समाजभन्दा अझ अग्रगतिमा हुन जरुरी छ । त्यो अग्रगति कति बेला मात्रै प्राप्त हुन्छ भने जब तपाईँले आफूलाई निरन्तरको रूपान्तरणमा खार्न सक्नुहुन्छ । त्यसकारण आत्मरतिमा रमाउने कि आफूलाई रूपान्तरण गर्ने भन्ने प्रश्न हामी सामु छ । हामी रूपान्तरण भएर जानुपर्छ । ढिलो वा चाँडो त्यो रूपान्तरण हुन्छ ।
हारपछि पनि एमाले नेतृत्वमा कुनै ठूलो परिवर्तन देखिँदैन । उल्टै प्रश्न गर्नेहरूमाथि कारबाहीको धम्कीका समाचार पनि आएका छन् । कार्यकर्ताहरूले अब हस्तक्षेपकारी भूमिका खेल्न सक्छन् ?
कुनै घटना हुन्छ, कुनै विषय उठाउनुहुन्छ भने त्यसमा विभिन्न कोणबाट विचारहरू आउँछन् । पक्ष÷विपक्षमा बहस हुन्छ । त्यो कारबाहीको विषय बन्ने भन्ने कुरा आजको युगमा सम्भव छैन । त्यो त हिजो सामन्ती युगमा सामन्तहरूले गर्ने कुराको सोचजस्तो मात्रै हो । आजको युगमा माक्र्सवादलाई विश्वास गर्नुहुन्छ भने त्यहाँ त द्वन्द्व हुन्छ । द्वन्द्वबाट नै विचारहरू खारिएर आउँछन् । पार्टीको रूपान्तरण, व्यवस्थापन, संरचनात्मक सुधार, नीतिगत सुधारको कुरामा कसरी अगाडि जाने भन्ने सवालमा हजारौँ विचार आउन सक्छन् । ती विचारहरू कुनै अध्यक्षलाई मन पर्छ सक्छ, महासचिवलाई मन नपर्न सक्छ । कुनै नेतालाई मन पर्छ कि पर्दैन भन्ने कोणबाट नभई आजको समाजको गति के छ, समाजको आवश्यकता के हो, मानवीय आवश्यकता के हो भन्ने हिसाबले विश्लेषण गर्न सक्नुपर्छ । कारबाहीको डण्डाले, फलानोको आदेश यस्तो छ भन्ने कुराको भरमा विचार र नीतिहरू बन्दैन । त्यसका लागि व्यापक छलफल, बहस आवश्यक हुन्छ ।
ओलीपछि एमालेको नेतृत्वमा को आउला ?
त्यसमा कुनै चिन्ता गर्नुपर्ने जरुरी छैन । हिजो कम्युनिस्ट पार्टी चार÷पाँच जनाले निर्माण गरेको हो नि । त्यसपछि कसको नेतृत्व होला ? यो हाइपोथेटिकल प्रश्न भयो । आज एमालेभित्र हजारौँहजार निष्ठावान् कार्यकर्ता हुनुहुन्छ । त्यो निष्ठावान् कार्यकर्ताको बिचमा तपाईँ र मैले नसोचेको अर्को कुनै व्यक्ति पनि हुन सक्छ । हिजो मदन भण्डारीको नाम यो समाजमा कसलाई थाहा थियो ? तर, यही पार्टीभित्र उहाँ जन्मनुभएको हो । आधारभूति त यही पार्टी हो नि । अहिले पनि त्यो मानवीय स्रोत यो पार्टीमा छ भन्ने मलाई लाग्छ । फलानो नभए संसारै चल्दैन भन्ने कुरा हुनै सक्दैन । किनभने, समाजको आफ्नै गति छ, आफ्नै नियम छ । त्यो नियम, गति अनुसार पार्टीहरू चल्छन् र आफ्नो नेतृत्व पनि जन्माउँछन् ।
युवा मतदाताहरू नयाँ दलतिर किन आकर्षित भएजस्तो लाग्छ ?
अहिलेको निर्वाचन परिणामको मुख्य कुरा निराशा र असन्तुष्टि नै हो । पुराना दलहरूले समाजको गति पक्रन नसक्दा युवाहरूमा मात्र होइन, कार्यकर्ताहरूमा पनि विद्रोहको भावना जागृत भयो । परिवर्तनको चाहाना हरेकमा हुन्छ । विगतदेखि अहिलेसम्मको मत परिणामलाई हेर्ने हो भने पनि मतदाताले आफ्नो अभिमत जाहेर गर्दै आएका छन् । जनताको चाहाना विपरीत चल्नेहरू अहिले मात्र होइन, विगतमा पनि बढारिएका छन् । त्यसैले पार्टीहरू नीति, सिद्धान्तमा चल्नुपर्छ ।
अब ती मतदाता कम्युनिस्टप्रति फर्किन्छन त ?
हामी रुपान्तरित भएर अगाडि बढ्दा अवश्य फर्किन्छन् । माक्र्सवाद नै यस्तो समाज विज्ञान हो, जसको पहिले दृष्टि नै मानवीय आवश्यकताको कसरी वैज्ञानिक ढंगले परिपूर्ति गर्न सकिन्छ भन्ने हुन्छ । आज जसरी युवाहरूले मानवीय आवश्यकताको परिपूर्ति यताबाट होला कि उताबाट होला कि ? उसले पो गर्दा कि भन्ने हिसाबले हिँडिरहेको स्थिति छ । जसरी खोलामा माछा मार्नका लागि यता पो ठुलो छ कि भनेर समात्न खोज्छौँ, माछा मार्न नजान्ने मान्छे छ भने त माछा फेला पर्दैन । आजको आवश्यकता भनेको रोजागरी, शिक्षा, स्वास्थ्य, सुशासन, आत्मनिर्भर अर्थतन्त्रको हो । आज त चामल, आलु, गोलभेडासमेत विदेशबाट आयात गर्नुपर्ने स्थिति छ । यी सबै मानवीय आवश्यकता हुन् । मानवीय आवश्यकता पुरा गर्नका लागि हामीले उत्पादक शक्तिको विकास गर्नुपर्छ । त्यसको पहिलो आधार भनेको शिक्षा हो ।
नेतृत्वलाई पन्छाएर शिक्षालाई मात्र दोष दिएर उम्किन पाइन्छ ?
अहिले पनि नेपालमा २०२८ सालमा बनेको शिक्षा ऐन कार्यान्वयनमा छ । १० वर्ष लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको शासन गर्ने अनि ५४ वर्ष पुरानो शिक्षा ऐन बोकेर हिँडेपछि त्यहाँ विद्रोह नभएर कहाँ हुन्छ ? कम्युनिस्ट पार्टीको नेता हुँ भन्ने तर त्यो ज्ञान र हेक्का नराख्ने हो भने कसरी तपाईँले नेतृत्व गर्न सक्नुहुन्छ ? मानवीय आवश्यकता पुरा गर्ने जुन माक्र्सवादी सोच र शैली छन्, त्यो कुरालाई बुझेर अगाडि बढ्दा कम्युनिस्ट आन्दोलनको भविष्य छ । हिजोको कुरालाई मात्रै समातेर आज पुग्दैन । यो बिचमा पनि थुप्रै सैद्धान्तिक, दार्शनिक, मूल्य, मान्यताको विकास भएर आएको छ । नेपाली समाजमा मानवीय आवश्यकता के हो भन्नेबारेमा माक्र्सवादको हिजोको सैद्धान्तिक अवधारणामाथि टेकेर थप अध्ययन र अनुसन्धान गर्न जरुरी छ । माक्र्सवाद भने पनि नभने पनि आजका युवा मात्र होइन, भोलि आउने युवाहरूको बाटो पनि त्यही हो । मानवीय आवश्यकता परिपूर्तिकै लागि सबै मान्छेहरू दौडिने हो । त्यसको सबैभन्दा वैज्ञानिक बाटो यो हो भनेर हामीले दिशानिर्देश गर्न सक्नुपर्छ ।
भिडियो











