
इरान युद्धको परिणामबारे अहिले नै यकिन गर्नु अपरिपक्वता हुनजान्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको मुख्य अधिकारीहरु मारिएकाले युद्धको पहिलो दिनमै युद्ध जितिसकेको घोषणा गरेका थिए । तर, परिस्थिति उनले यकिन गरेको भन्दा फरक बन्दै गयो । इरान केन्द्रित आक्रमण फैलदै जाँदा त्यसको लप्का पश्चिम एसियाभर फैलियो । त्यसको असर विश्वव्यापी बन्यो । वर्तमान विश्व व्यवस्थामा सबैभन्दा प्रभावशाली रहेको अमेरिकाका सामु इरान युद्ध कठिन परीक्षा बनेर तेर्सिएको छ । विश्व राजनीतिमा अमेरिका एक्लो खेलाडी मात्र हो कि अमेरिकाका अलावा रुस, चीन, भारतलगायत देशहरुसहितको बहुशक्ति केन्द्रित विश्व व्यवस्था निर्माण भइसकेको छ ? इरान युद्धपछिको घटनाले यसको उत्तर दिन बाँकी नै छ ।
दोस्रो विश्वयुद्धका क्रममा हिरोसिमामाथि आणविक हतियार खसालेपछि अमेरिका विश्व शक्तिका रुपमा उदय भएको थियो । शीतयुद्धसम्म सोभियत संघ उसको मुख्य प्रतिष्पर्धी बन्यो । विश्वभर अमेरिकी नेतृत्वको देशहरुको एउटा समूह र सोभियत संघ नेतृत्वको अर्को समूहबीच द्वन्द्व चलिरह्यो । शीतयुद्धमा सोभियत संघ विघटनपछि अमेरिका सर्वशक्तिमान बन्यो । ३० वर्षयता विश्व राजनीतिमा अमेरिकाको एकछत्र दबदबा रहँदै आयो । विश्वका अधिकांश देशहरुमा सत्तामा उलटपुलटमा अमेरिकी हात प्रकट अप्रकट रुपमा भइरह्यो । अमेरिकाले बनाएका कतिपय देशका शासकहरु उसको विरोधी बन्दा ढालिए पनि । तर पनि विश्वमा अमेरिकी प्रभाव र वर्चश्व चल्दै आयो ।
के हो प्रोक्सी युद्ध ?
यूरोप र एशियाका कतिपय देशहरुमा भएका राजनीतिक उतारचढावले अमेरिकाको एकल प्रभुत्व समाप्त भएको संकेत देखिँदैछ । भविष्यमा यो प्रकट भएर बाहिरिने छ । चीन र भारतको तिव्र आर्थिक वृद्धि, प्रविधिको विकास र सैन्य क्षेत्रमा लगानीले नयाँ विश्व व्यवस्थाको निर्माण भइसकेको तथ्यहरु प्रकट रुपमा आएका छन् ।
चीन विश्वकै दोस्रो धनी देश बन्यो, भारत विश्वको चौंथो धनी देश बनेर तेस्रो बन्नै आँटेको छ । उच्च जनसंख्यासहितको दरिलो बजार उनीहरुसँगै छ । रुस पुनःउदयको मोडमा पुगेको छ । उसको लागि तेल, ग्यासलगायत प्राकृतिक स्रोतका अलावा अत्याधुनिक प्रविधिको बजार बन्न पुग्यो चीन र भारत । सांघाई कोपरशेसन अर्गनाइजेशनको समिटमा रुस, चीन र भारतका नेताहरुले नयाँ विश्व व्यवस्थाको घोषणा नै गरे । यो घटना अमेरिकाका लागि निकै चुनौतीपूर्ण बन्यो । त्यसमाथि अमेरिकालाई पुनः महान बनाउने नारासहित राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पका लागि सह्य थिएन । उनी आक्रामक ढंगले प्रस्तुत हुन थाले ।
रुसको प्रभाव क्षेत्र रहेको सिरियाको सत्ता पल्टाउन ट्रम्प सफल भए । चीनले तिव्र रुपमा व्यापार बढाइरहेको थियो भेनेजुएलामा । त्यहाँका राष्ट्रपति निकोलस मदुरोलाई आधा घन्टाको अपरेशनमा राष्ट्रपति भवनमा सुतिरहेको अवस्थाबाट उठाएर लान सफल भए । इरानका सैनिक अधिकारीहरुलाई फरक फरक आक्रमणबाट मार्न लगाए । यी सबै घटनामा रुस र चीनले कुनै आक्रामक गतिविधि देखाएनन् त्यसपछि । ट्रम्पको मनोबल बढ्दै गयो ।
इरानमाथि आक्रमणका लागि अत्याधुनिक हतियारसहितका युद्धपोतहरु अरब सागरतर्फ बढाउन लगाए । लामो तयारीका साथ कम खर्चबाट छोटो समयमै युद्ध जित्ने ट्रम्पको रणनीति देखिन्थ्यो । उनले इरानमाथि हमला गर्दा युद्ध जिति नै सकेको दाबी गरेका थिए । इजरायलसँगको संयुक्त हमलामा इरानका सर्वोच्च नेता अयातुल्ला खामेनीसहित शक्तिशाली अधिकारीहरु मारिएपछि युद्ध लामो समय नबढ्ने अनुमान थियो । खामेनी मारिनुभन्दा केही हप्ता पहिले मात्र इरानमा सत्ता पल्टाउने प्रयाससहितको प्रदर्शनहरु भएका थिए ।
अमेरिकी आक्रमणले इरानको सत्ता पल्टिहाल्ने अनुमान समयक्रममा गलत सावित भयो । दुई हप्ता बित्दा पनि युद्ध अन्त हुने छाँटकाँट छैन । बरु इरानले रणनीति परिवर्तन गर्दै पश्चिम एशियाका अमेरिकी सैन्य अखडा र इजरायलमाथि हमलाहरु गरिरह्यो । यस घटनाले खाडी क्षेत्रमात्र अशान्त भएन विश्व अर्थतन्त्र नै खलबलियो । तेल र ग्याँसको मूल्य उच्च भयो ।
विश्वका अरबौं मानिसहरुको दैनिक जीवनमै नकारात्मक असर पर्ने गरी भएको युद्धले अमेरिकाविरोधी भावना विकास हुन थालेको छ । युद्ध जति लम्बिन्छ उति त्यसमा संलग्नहरुको धन र हतियार रित्तिँदै जान्छ । जसरी युक्रेन युद्धले रुस समस्यामा छ, त्यसरी नै इरान युद्धले अमेरिका समस्यामा पर्दै गएको देखिन्छ । खाडी क्षेत्रमा उसका सैन्य अखडा र लगानीहरुमा इरानी हमला जारी छ । जसरी युक्रेन युद्धमा अमेरिकाको अप्रत्यक्ष संलग्नता छ त्यसरी नै इरान युद्धमा रुसको अप्रत्यक्ष संलग्नता देखिन्छ । यसखाले प्रोक्सी युद्धले भयावह परिणाम ल्याउने खतरा उत्तिकै छ । आणविक शक्तिसम्पन्न देशहरुको फरक फरक क्षेत्रमा देखिएको प्रोक्सी युद्धले आणविक युद्धको खतरा निम्त्याइरहेको छ ।
इरानमा अमेरिकी परीक्षा
सन् २०२० मा इरानका सैनिक जनरल कसेम सोलेमानी अमेरिकी ड्रोन हमलाबाट बगदादमा मारिएका थिए । त्यो घटनाप्रति इरानले विरोध मात्र जनायो । सन् २०२५ मा इजरायली हमलाबाट इरानका सेनापति, रिभलुसनरी गार्डका कामाण्डर मारिए । त्यो घटनाको बदलामा इरानले इजरायलमाथि मिसाइल हमलाहरु गरेको थियो । तर, परिस्थिति चाँडै नै साम्य भयो । इरानमा भएको घटनापछि अमेरिकाको मनोबल बढ्यो । उसले विश्वमा आफ्ना विरोधी सत्तालाई तारो बनाउन थाल्यो ।
भेनेजुएलामा राष्ट्रपति निकोलस मदुरोलाई राष्ट्रपति भवनबाट विशेष फोर्सले उठाएर लगेपछि त्यहाँ अमेरिकी चाहनाअनुसार सत्ता चल्न थाल्यो । त्यहाँको तेलमाथि उसले अधिकार जमायो । क्युबाबाट जाने भेनेजुएलाको तेल रोकियो । उसले निकै ठूलो समस्या भोगिरहेको छ । क्युबाको सत्ता परिवर्तन हुने बताइरहेका छन् ट्रम्प । एकपछि अर्को गरी अमेरिकाविरोधी सत्ता पल्टाउँदै अघि बढेका ट्रम्पका लागि इरान युद्ध कठिन सावित भइसकेको छ ।
इरानले अविश्वसनीय तरिकाले प्रत्याक्रमण गरिरहेको छ । स्ट्रेट अफ हर्मुज अमेरिकासहित उसका पक्षधर देशहरुका लागि बन्द नै गरिदिएको छ । रुस, चीन, भारत जस्ता देशलाई असल मित्र भन्दै उनीहरुका जहाजलाई मार्ग खोलिदिएको छ । जहाँ जहाँ अमेरिकी सैन्य अखडा छन् ती देशमा आक्रमण बढिरहेको छ । तेल र ग्याँसले धनी बनेका खाडीका कतिपय मुलुकका लागि अमेरिकी सैन्य अखडा नै घाँडो बन्न थालेका छन् अहिले । उनीहरुको अर्थतन्त्रमा दुरगामी नकारात्मक असर पर्ने देखिसकिएको छ । इरान युद्ध अन्तका लागि खाडीका देशहरु प्रयासरत छन् । तर, इरान पछि हट्ने देखिँदैन । उसले खमेनी हत्याको बदला लिन इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई तारो बनाइरहेको खबरहरु आइरहेका छन् । इजरायली आक्रमण इरानमा मात्र नभई लेबनान र यमनसम्म देखिदैछ । अमेरिका थप सैन्य बल खाडी क्षेत्रमा लगिरहेको छ । बेलायतलगायत यूरोपेली देशहरुलाई साथ दिन भनिरहेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्प इरानसँग कुनै सहमति नगर्ने पक्षमा उभिएका छन् । इरान पनि पछाडि हट्ने छाँटकाँट देखाइरहेको छैनन् । इरान युद्धमा ‘ब्याक’ हट्दा अमेरिकाको शक्ति घटेको सन्देश विश्वव्यापी जानसक्छ । यसकारण उसले युद्धलाई प्रतिष्ठाको विषय बनाइसकेको छ । युद्धको लामो तयारीका साथ अगाडि बढेको इरान पछि हट्न तयार छैन ।
आत्मसमर्पणको सन्देश गएर आन्तरिक विरोधीबाट सत्ता पल्टने परिस्थिति बन्न सक्नेतर्फ इस्लामिक सत्ता सचेत देखिन्छ । यसकारण इरान युद्ध जटिल बन्दै गएको छ । अमेरिका कठिन परीक्षाको घडीमा छ । युद्ध नजिति ब्याक भएमा उसको विश्व राजनीतिमा एकल प्रभुत्व सकिएको प्रमाणिक घोषणा नै हुन्छ । अमेरिकी एकल प्रभुत्व पतनोन्मुख छ । इरान युद्धले यसलाई अझ उजागर गरेको छ । भविष्यमा यसको असर विश्वभरको सत्ता राजनीतिमा पर्न जाने कुरामा दुईमत छैन ।











