Logo
Logo

लापरबाहीपछि सशस्त्र प्रहरी गुल्मका कमान्डरसहित कर्मचारी मुख्यालय तानिए


1.4k
Shares

काठमाडौं । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा गुल्मका गुल्मपति तथा डीएसपी प्रदीप पौडेलसहितका कर्मचारीलाई काठमाडौं फिर्ता बोलाइएको छ । युनिट सुरक्षामा लापरबाही गरेको पाइएपछि कारबाहीका लागि उनीहरूलाई सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा झिकाइएको हो ।

गत चैत ४ गते भारतबाट अवैध रूपमा ल्याइँदै गरेको सामान बरामद गर्ने क्रममा केही व्यक्तिहरू अनधिकृत रूपमा त्यहाँस्थित सशस्त्र प्रहरीको कार्यालयभित्र प्रवेश गरेका थिए । उक्त समयमा गुल्मपतिमाथि हातपातको प्रयास हुँदा समेत बल प्रयोग नगरिएको र युनिट सुरक्षाका आवश्यक उपाय अवलम्बन नगरिएको देखिएपछि उनीहरूलाई काठमाडौं झिकाइएको सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी विष्णुप्रसाद भट्टले जानकारी दिए ।

“कार्यालयभित्र प्रवेश गरी कमान्डरमाथि हातपातको प्रयास हुँदा समेत किन बल प्रयोग भएन र युनिट सुरक्षामा किन पर्याप्त ध्यान दिइएन भन्ने विषयमा प्रधान कार्यालयले गम्भीर रूपमा छानबिन गर्नेछ,” उनले भने ।

‘तस्कर’ समूह कार्यालयभित्र छिरेर हुलहुज्जत कसरी सिर्जना भयो भन्ने विषयमा समेत प्रधान कार्यालयको ध्यानाकर्षण भएको उनले बताए ।

“तस्करी नियन्त्रणमा विगतदेखि नै उत्कृष्ट कार्य गर्दै आएका सशस्त्र प्रहरी नायब उपरीक्षक पौडेलको सक्रियता प्रधान कार्यालयलाई जानकारी भए पनि युनिट सुरक्षामा भने आवश्यक सतर्कता अपनाइएको देखिएन,” डीआईजी भट्टले भने ।

उक्त घटनाको छानबिनका लागि सशस्त्र प्रहरी उपरीक्षक अनिल कार्कीको अध्यक्षतामा यसअघि नै समिति गठन गरिएको थियो ।

घटनाको समयमा त्यहाँ कार्यरत सशस्त्र प्रहरी कर्मचारीलाई मुख्यालय तानिएको छ । साथै, उक्त कार्यालयमा सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण कैलालीबाट नयाँ टोली खटाइएको भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्