कामठमाडौं । भारत सरकारको अनुदान सहयोग अन्तर्गत नेपालको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा सञ्चालन हुने ७ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरूका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

आज बिहीबार काठमाडौंस्थित भारतीय राजदूतावास, नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल सरकारका परियोजना कार्यान्वयन निकायहरूबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो । यी परियोजनाहरूको कुल अनुमानित लागत ४७.३ करोड रुपैयाँ रहेको छ ।
यी ७ वटा परियोजनाहरू क्रमश (१) गण्डकी प्रदेशको नवलपुर जिल्लाको मध्यविन्दु नगरपालिका वडा नं. २ मा कोल्ड स्टोरको निर्माण (२) कोशी प्रदेशको तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका वडा नं. २ मा कोल्ड स्टोरको निर्माण (३) गण्डकी प्रदेशको मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका-२ मा जनबल माध्यमिक विद्यालयको विद्यालय भवन, छात्रावास र चमेनागृहको निर्माण (४) सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको गौरीगङ्गा नगरपालिका वडा नं. ११ मा श्री कालिका प्राथमिक विद्यालय भवन निर्माण (५) मधेश प्रदेशको रौतहट जिल्लाको परोहा नगरपालिका-४ मा परोहा बर्थिङ्ग सेन्टर (प्रसूति केन्द्र) को निर्माण (६) कर्णाली प्रदेशको डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका-७ मा श्री कस्तुरी माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण (७) लुम्बिनी प्रदेशको बाँके जिल्लाको खजुरा गाउँपालिका वडा नं. ४ मा श्री जनकल्याण माध्यमिक विद्यालयको विद्यालय भवनको निर्माण रहेका छन् ।
यी आयोजनाहरू नगरपालिका र गाउँपालिका लगायत नेपाल सरकारका स्थानीय निकाय तथा संस्थाहरू मार्फत कार्यान्वयन गरिनेछन् । सन् २००३ यता भारत सरकारले नेपालमा आज समझदारी पत्रमा हस्ताक्षर गरिएका ७ वटा परियोजनाहरू सहित ५९८ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेको छ । यी मध्ये स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी, कनेक्टिभिटी, सरसफाई र सार्वजनिक संरचनाहरूको निर्माणका क्षेत्रमा ५०६ वटा परियोजनाहरू सम्पन्न भइसकेका छन् । छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ ।











