
काठमाडौं । शनिबार पक्राउ परेका कलाकार सागर लम्साल ‘बले’लाई प्रहरीले आज अदालत उपस्थित गराउँदैछ । अमेरिकामा बस्ने एक युवतीले सामाजिक सञ्जालमा बलेमाथि बलात्कार गरेको आरोप लगाएपछि उनलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो ।
प्रहरी परिसरले उनलाई आज हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थिप गर्न जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउन लागेको हो । परिसरका प्रमुख एसएसपी रमेश थापाले बलेमाथि अभद्र व्यवहारको कसुरमा म्याद थपका लागि अदालतमा पेश गर्ने जानकारी दिए ।
पीडितको परिवारको तर्फबाट प्रहरीकहाँ अभद्र व्यवहार कसुर गरेको उजुरी आएकाले त्यसैको आधारमा बले पक्राउ परेका थिए । ती युवतीले फेसबुकमा लेख्दै बले अमेरिका आएको बेलामा बलात्कार गरेको दाबी गरेकी थिइन् ।
परिचित र आफूले दाइ मान्ने बले आफ्नो अपार्टमेन्टमा आएको बेलामा बलात्कार गरेको उनको दाबी थियो । कानुनी आधारमा लम्साल पक्राउ परेपनि अनुसन्धान प्रक्रिया भने त्यति सहज देखिँदैन । विदेशमा नेपालीमाथि अर्को नेपाली वा विदेशीले अपराध गरेमा र सो व्यक्ती नेपालमा भेटिएमा पक्राउ गर्न सक्ने कानुनी प्रावधान छ ।
गम्भीर अपराधको आरोप लागे पनि पीडित अमेरिकामा भएको, घटनास्थल अमेरिका रहेको जस्ता जटिल पक्षका कारण बलात्कार आरोपमा नेपालमा अनुसन्धान गर्न कानुनी जटिलता देखिन्छ ।
बलात्कार घटनामा जाहेरीसँगै घटनास्थल मुचुल्का, पीडितको स्वास्थ्य परीक्षण, बयान महत्त्वपूर्ण प्रमाण मानिन्छ । जाहेरी परिवारकोतर्फबाट पर्न सक्छ । तर स्वास्थ्य परीक्षण र बयानका लागि पीडित उपस्थित हुनुपर्छ ।
मुलुकी अपराध संहिताको दफा ३ मा नेपाल बाहिर नेपाली नागरिकमाथि नेपाली वा गैर नेपालीले अपराध गरेमा सो अपराध नेपालभित्र गरे सरह सजाय हुने उल्लेख छ । त्यसमा ११ प्रकारको अपराध उल्लेख भएकोमा पाँचौँ नम्बरमा बलात्कार उल्लेख छ । बले पक्राउ परेपछि पक्राउको कानुनी पक्ष र उनीमाथि कसरी अनुसन्धान हुन्छ भन्ने प्रश्न उठिरहेका छन् ।











