
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले कानुन निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउन आफू प्रतिबद्ध रहेको बताएकी छन् ।
प्रतिनिधि सभा बैठकमा सांसद डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको समर्थन गर्ने क्रममा उनले सो प्रतिबद्धता व्यक्त गरेकी हुन् । मन्त्री गौतमले सङ्घीय संसद्ले आगामी दिनमा काम गर्ने थलोको रूपमा स्थापित गराउने गरी आफूले सहयोग गर्ने बताइन् । उनले सरकारलाई जबाफदेही बनाउन सङ्घीय संसद्को भूमिका प्रभावकारी हुनुपर्नेमा पनि जोड दिइन् ।
उनले भनिन्, ‘अब यस पटकको संसद्ले स्पष्ट जिम्मेवारी कानुनी रिक्तता पूरा गर्नका लागि काम गर्नुपर्नेछ । शासनलाई प्रभावकारी बनाउनका लागि काम गर्नुपर्नेछ । सरकारलाई जवाफदेहिताको कसीमा राख्नका लागि पनि काम गर्नुपर्नेछ । अब ढिलाइ गर्ने संस्कारलाई हामीले तोड्नै पर्दछ । निर्णय गर्ने साहस देखाउनै पर्दछ । र, काम गर्ने संसद्को पहिचान स्थापित गर्नै पर्दछ । म कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको हैसियतले सरकार र संसदबीच प्रभावकारी समन्वय गर्दै यस प्रक्रिया तीव्र गतिमा अघि बढाउनका लागि प्रतिबद्ध छु भन्ने कुरा पनि संसद्मार्फत निवेदन गर्न चाहन्छु ।’











