
काठमाडौं । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको दोहोरो प्रभाव रहेको छ । यसकै असरले देशका विभिन्न भागमा मौसम बदलीसँगै वर्षा र हिमपात हुने सम्भावना रहेको छ ।
अहिले सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बादल लागेको अवस्था छ । तराईका अन्य क्षेत्रमा भने मौसम सफा देखिएको छ ।
गण्डकी प्रदेशका पहाडी क्षेत्रका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । यस्तै कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भू–भागका केही स्थानमा पनि फाट्टफुट्ट पानी परिरहेको छ भने उच्च हिमाली भेगमा हिमपातको प्रक्रिया जारी छ ।
आज दिनभर देशका पहाडी र हिमाली क्षेत्रमा बादल लाग्ने र बाँकी भागमा पनि आंशिक बदली हुने देखिएको छ । पहाडी तथा हिमाली भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
वर्षा र चट्याङको सम्भावना रहेकाले पहाडी भेगका बासिन्दालाई सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन् । विशेष गरी पदयात्रामा रहेका पर्यटक र हिमाली क्षेत्रका बासिन्दाले मौसमको अवस्था हेरेर मात्रै यात्रा तय गर्न सुझाव दिइएको छ ।











