Logo
Logo

पोखराको जग्गाबारे जवाफ दिन गृहमन्त्रीलाई हर्क साम्पाङको सुझाव


378
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुधन गुरूङलाई फेवातालको २० रोपनी जग्गाबारे प्रष्ट्याउन सुझाव दिएका छन् ।

फेवातालको २० रोपनी जग्गामा गृहमन्त्री गुरूङको नाम मुछिएपछि साम्पाङले सामाजिक सञ्जालमार्फत् उक्त जग्गाबारे प्रष्ट्याउन सुझाव दिएका हुन् । ‘खास कुरा के हो पत्रकार सम्मेलन राखिहाल्नुस्,’ उनले भनेका छन्, ‘नैतिकताको सवाल खडा भयो ।’

उनले फेवातालको जग्गाबारे उठेको सवालको जवाफ नदिए जनताले कुरा काट्ने र प्रहरीले पनि गृहमन्त्रीलाई टेर्न छाड्ने उल्लेख गरेका छन् । ‘अब यो सवालको जवाफ नदिने हो भने जनताले कुरा काट्छन् र विश्वास गर्दैनन्,’ साम्पाङले लेखेका छन्, ‘तपाईंलाई मान्दैनन् । प्रहरीले पनि टेर्न छाड्छन् ।’

काम गर्ने मान्छेको खुट्टा तातिने र काम गर्ने क्रममा अपजस पाइने स्मरण गर्दै उनले पोखराको फेवातालमा २० रोपनी जग्गा गृहमन्त्रीको नाममा रहेको खबरले सामाजिक सञ्जाल तात्दा नमज्जा लागेको बताएका छन् ।

अध्यक्ष साम्पाङले आफूले सदनमा उठाएको जेनजी आन्दोलन र सहकारी ठगी प्रकरण मुद्दा नभुल्न पनि गृहमन्त्री गुरूङलाई आग्रह गरेका छन् । ‘अझै अघि बढ्नुहोस् शुभकामना छ,’ उनले लेखेका छन्, ‘तर, मैले सदनमा उठाएका दुईटा मुद्दा नबिर्सनु होला । एक, जेनजी आन्दोलनको २४ गतेको घटनाको दोषीलाई कारबाही । दुई, जीबी राईलाई पक्रेर रवि दाइलाई न्याय दिने ।’

यस्तो छ, अध्यक्ष साम्पाङको भनाइ:

प्रिय सुदन गुरुङ ज्यु, तपाइँ देशको गृह मन्त्री बन्नु भएकोमा मैले बधाइ दिएको छैन ! मलाई “हर्क दाइ” भन्नु हुन्छ ! त्यो साइनोले “भाइ हो तपाइँ मेरो” मलाई “हर्क जी” भन्नु हुन्छ ! त्यो अर्थमा “साथी हो तपाइँ मेरो” तर यो देशको विधि र संविधानलाई मान्दा तपाइँ “माननीय गृह मन्त्री ज्यु” हुनुहुन्छ ! With respect मैले त्यो भन्नै पर्छ ! एउटा प्रतिपक्ष दलको नेता भएको कारण तपाइँको टिकाटिप्प्णी गर्नै पर्छ मैले ! प्रश्न सोध्नै पर्छ मैले ! मेरा प्रश्नहरु व्यक्तिगत नभएर नितान्त पदीय जिम्मेवारीले भरिएका प्रश्न हुन् ! nothing personal, everything professional and legal ! तपाइँले gen z आन्दोलनको २३ गतेको घटनाका दोषीहरुलाई पक्रनु भो ! धन्यवाद सबैले दिएकाछन् ! गलत काम गर्नेहरुको लिस्ट बनाएर कारवाही गर्दै हुनुहुन्छ ! धन्यवाद छ ! I like that and appreciate that. अझै अघि बढ्नुहोस् शुभकामना छ ! तर मैले सदनमा उठाएका दुइटा मुद्दा नबिर्सनु होला १. gen z आन्दोलनको २४ गतेको घटनाको दोषीलाई कारवाही २. जीबी राईलाई पक्रेर रवी दाईलाई न्याय दिने ! काम गर्ने मान्छेको खुट्टा तान्छन् ! अपजस पाइन्छ नै काम गर्ने क्रममा तर पोखराको फेवातालमा २० रोपनी जग्गा तपाइँको नाममा छ रे भन्ने खबरले सामाजिक संजाल तातिंदा नमज्जा लागेको छ ! खास कुरा के हो पत्रकार सम्मेलन राखिहाल्नुस् ! नैतिकताको सवाल खडा भयो ! अब यो सवालको जवाफ नदिने हो भने जनताले कुरा काट्छन् र विश्वास गर्दैनन् ! तपाइँलाई मान्दैनन् ! प्रहरीले पनि टेर्न छाड्छन् ! मलाई आशा छ तपाइँले एउटा दाजुले दिएको सल्लाह सम्झेर भनेको मान्नु हुनेछ ! एक दिन म तपाइँलाई हृदय देखि नै बधाइ दिनेछु ! त्यो दिन चाँडै आवोस् ! जय देश !

प्रतिक्रिया दिनुहोस्