काठमाडौं । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले पार्टीमा एकता र रूपान्तरणका लागि १५औँ महाधिवेशनबाट नयाँ पुस्तालाई नेतृत्व सुम्पिनुपर्ने बताएका छन् । शुक्रवार विज्ञप्ति जारी गर्दै बडूले पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकसँग वर्तमान अवस्थामा पार्टीलाई थप बलियो, जिम्मेवार र एकताबद्ध बनाउनुपर्ने बताएका छन् ।

बडूले १४औँ महाधिवेशनको चार वर्षे कार्यकाल सकिएपछि २०८२ मङ्सिर भित्र १५औँ नियमित महाधिवेशन हुनुपर्ने भए पनि तत्कालीन नेतृत्वको असहमतिबिच विशेष महाधिवेशन गरिएको बताएका छन् । विशेष महाधिवेशनलाई निर्वाचन आयोगले वैधता दिएपछि त्यसलाई चुनौती दिँदै सर्वोच्च अदालतमा मुद्दा परेको बडूले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन आफू लगायत अन्य नेताहरूले रुख चिन्ह र चार तारे झन्डा सहित सक्रिय सहभागिता जनाएको उनको भनाइ छ । यद्यपि, सङ्गठन भित्रका केही कमजोरी र मतदाताको परिवर्तनको चाहना अनुरूप निर्वाचन परिणाम नआएको तितो सत्यलाई स्वीकार गर्दै सभापतिले नैतिक जिम्मेवारी स्वीकार गरिसकेको उनको भनाइ छ ।
बडूले सर्वोच्च अदालतले पार्टीको आधिकारिकताका विषयमा गर्ने फैसला सबैले मान्नुपर्ने बताएका छन् । उनले निर्वाचनको कारण वा विशेष महाधिवेशन हुँदा नहुँदाको अवस्थाको काल्पनिक व्याख्यामा अलमलिएर समय खेर नफाल्न आग्रह गर्दै लोकतान्त्रिक उपलब्धिलाई बचाउन र नयाँ पुस्तालाई लोकतन्त्रको मार्गमा हिँडाउन कांग्रेस थप बलियो, जिम्मेवार र एकताबद्ध हुनुपर्ने बताएका छन् ।












