
काठमाडौं । रुपन्देहीमा प्रहरीले गोली हानेर लागु औषध तस्करीमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुपन्देहीको रोहिणी गाउँपालिका–२ खुरहुरियाका विशाल यादव, भारतको महाराजन्ज पर्सामलिक ग्राम बिसुनपुरुवाका १८ वर्षीय अरुण कुमार र सोही स्थानका २० वर्षीय विनय पाण्डेय रहेका छन् ।
रोहिणी गाउँपालिका–४ कोटहवामा लागुऔषध ओसारपसार भइरहेको सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो भैरहवा र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
कोटहवाबाट छिपागढतर्फ आइरहेको तीन जना सवार यूपी ५६ एफ ९९०१ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्न खोज्दा भाग्ने क्रममा उनीहरु लडेका थिए । लडेका युवकहरुलाई नियन्त्रणमा लिने क्रममा उनीहरुले प्रहरीलाई ढुंगासमेत प्रहार गरेका थिए ।
ढुंगा लागेर प्रहरी घाईते भएपछि एक राउण्ड हवाई फायरसहित दुई राउण्ड गोली प्रहार गरी उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए ।
चन्दका अनुसार पक्राउ परेकाहरुले प्रयोग गरेको मोटरसाइकल जाँच गर्दा लागुऔषध फेनरागन ११०० एम्पुल, डाइजेपाम ११०० एम्पुल र ब्रुफिन ११०० एम्पुल फेला परेको छ ।
बाँया खुट्टाको पिडुलामा गोली लागेर घाइते भएका यादवको भीम अस्पतालमा उपचार भइरहेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










