Logo
Logo

भेप सुन तस्करी प्रकरणः महरा बाबु-छोराविरुद्ध संगठित अपराध र भ्रष्टाचारमा मुद्दा


2k
Shares

काठमाडौं । विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन तस्करी गराएको अभियोगमा पूर्वसभामुख तथा नेकपा नेता कृष्णबहादुर महरासहितलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार महरा, उनका कान्छा छोरा राहुल महरा र नेपाल सरकारका सहसचिव अरुण पोखरेलसहितलाई प्रतिवादी बनाएर करिब ७ करोड रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार चिनियाँ तस्करी गिरोहसँग मिलेर भेपको आवरणमा सुनको अवैध ओसारपसार गराउन उनीहरूको संलग्नता देखिएको छ । पुस २०७९ मा भेपभित्र लुकाएर नेपाल भित्र्याइएको सुन ‘पास’ गराउन पूर्वसभामुख महरासहितका व्यक्तिहरूले भूमिका खेलेको अभियोगपत्रमा उल्लेख गरिएको छ।

यसअघि यही प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले महरालाई पक्राउ गरेको थियो । तर, पक्राउ परेको पाँच दिनमै उनी छुटेका थिए । सीआईबीले भेप तस्करी प्रकरणमा जोडिएका ‘हाइप्रोफाइल’ व्यक्तिहरूको प्रत्यक्ष संलग्नता पुष्टि हुन नसकेको भन्दै महरालाई क्लिन चिट दिएको थियो ।

महरासँगै पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा तथा पूर्वमाओवादी विद्यार्थी नेता दीपेश पुनलाई पनि सीआईबी अनुसन्धानबाट सफाइ दिइएको थियो ।

तर, सरकारी अनुसन्धानले भने कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको चिनियाँ तस्करी गिरोहसँग पटक–पटक टेलिफोन सम्पर्क भएको देखाएको थियो । अनुसन्धानअनुसार बाबु–छोराले उक्त गिरोहसँग २ सय ५६ पटक फोन सम्पर्क गरेका थिए।

यति धेरै सम्पर्क देखिए पनि प्रारम्भिक अनुसन्धानमा कृष्णबहादुर महरा प्रतिवादी नबनेको विषयले त्यतिबेला नै गम्भीर प्रश्न उठाएको थियो ।

यो तस्करी जालोमा पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन तथा परराष्ट्र विज्ञ जीवन गुरुङको नामसमेत जोडिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्