Logo
Logo

जेनजी विद्रोहमाथि आरोप नै आरोप


630
Shares

काठमाडौं । माओवादीबाट एमाले प्रवेश गरेका रामबहादुर थापा ‘बादल’ अहिले उक्त पार्टीको कार्यवाहक अध्यक्ष र संसदीय दलका नेता बनेका छन् । तिनै बादलले सेनालाई वैरी देख्न छाडेका छैनन् । बादलकै कारण प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा प्रधानसेनापति प्रकरणबाट राजीनामा दिन बाध्य भएका थिए । त्यस घटनापछि प्रचण्डले यति ठुलो धक्का खाए कि उनको दल पहिलो संविधानसभाबाट दोस्रो संविधानसभाको चुनावमा पुग्दा तेस्रो बन्न पुगेको थियो ।

कटवाल प्रकरण भनी चर्चित घटनामा रक्षामन्त्री थिए बादल । उनकै कारण प्रचण्ड सेनापति परिवर्तनको निर्णय लिन बाध्य भएका थिए । रुक्माङ्गत कटवाललाई हटाएर कुलबहादुर खड्कालाई प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गराएका थिए । तर, तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले उक्त निर्णय सदर नगरेपछि कटवाल पदमै रहे भने, प्रचण्ड राजीनामा दिन बाध्य भए ।

बादलले पछि माओवादी फुटाउन भूमिका खेलेर प्रचण्डलाई अर्को धक्का दिएका थिए । प्रचण्डले सेनापति प्रकरणलाई राजनीतिक जीवनको एउटा ठुलो भुल भन्ने गरेका छन् । एमालेसँगको एकीकरणपछि बनेको नेकपा फुट्दा प्रचण्डलाई बादलले त छाडे तर एमालेको सूर्यमा बादल बने ।

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा बादल गृहमन्त्री थिए । उनी गृहमन्त्री हुँदा नक्कली भुटानी शरणार्थीजस्तो विवादास्पद घटनाहरू भए, जुन घटनामा उनको र परिवारको संलग्नताको आरोप छ । ओलीलाई उक्साउने र विवादास्पद निर्णयमा बादलले साथ दिइरहे । जसका कारण ओलीले उनका कतिपय आग्रहलाई नकार्न सकेनन् ।

एमालेका हस्ती नेताहरूलाई पन्छाएर ओलीले बादललाई आफूपछिको वरियतामा राखेर उपाध्यक्ष बनाए । चुनाव हार्ने आकलनका कारण बादलले प्रत्यक्ष चुनाव नलडी समानुपातिकमा पहिलो नम्बरमा नाम राखे । एमालेका सबै पदाधिकारी चुनाव हारेपछि बादललाई चिट्टा परेको छ अहिले ।

उनी एमालेको संसदीय दलका नेता बने । युवा नेता सुहाङ नेम्वाङको समर्थक र प्रस्तावकसमेत पाउन नसक्ने बनाएर बादललाई ल्याइयो । तर, संसदीय दलको नेता बन्न नपाई उनले सेनासँगको वैरभाव प्रकट गरे । उनको भनाइ पदीय मर्यादा विपरीत थियो भन्ने कुरा एमाले सचिवालय बैठकले खण्डन गरेबाटठ प्रष्ट भएको छ ।

संसदको पहिलो बैठकमा एमाले संसदीय दलका नेताको हैसियतले बोल्दै बादलले गम्भीर आरोप लगाएका थिए । सेनाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिताउन भूमिका खेलेको उनको आरोप थियो । रास्वपाको जीतमा व्यङ्ग्यका साथ बधाई दिँदै बादलले बिहीबार संसद्मा सम्बोधन गर्दै भनेका थिए ‘यो अभूतपूर्व विजयमा आन्तरिक रूपमा ककसको निर्णायक भूमिका रह्यो, तथ्यहरूले के स्पष्ट गर्दछन् भने मुख्यतः नेपाली सेना, ब्युरोक्रेसी, सुशीला सरकार, कार्की आयोग, बार्बरा फाउन्डेसन एनजीओ आदि संस्था तथा पात्रहरूको यो विजयमा निर्णायक भूमिका रह्यो । त्यसैले ती संस्था र पात्रहरूलाई पनि म एमालेका तर्फबाट धेरैधेरै बधाई भन्न चाहन्छु ।’

भाद्र २३ र २४ गते जेनजी विद्रोहलाई अघोषित रूपमा रास्वपाको नेतृत्वमा भएको रंगक्रान्ति भने । उनले भने, ‘फागुन २१ आमनिर्वाचनमार्फत् निलो क्रान्तिलाई वैधानिकता प्रदान गरियो । यसमा सेनाको भूमिका रहेको थियो ।’

जेनजी विद्रोहमा सहभागी भएका विभिन्न शक्तिलाई खलनायकको रूपमा उनले व्याख्या गरे । उनको आशय सेनाले खलनायकको भूमिका खेलेको भन्ने थियो । अदृश्य शक्तिहरू विद्रोहका पछाडि लागेको टिप्पणी गरे । उनले भने, ‘अदृश्य शक्तिहरू टीओबी, एआई, अल्गोरिदम, गोयबल्स, मिडिया ट्रायलहरु जसले राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संघीयता, शान्ति र समृद्धिका नायकहरूलाई खुँखार खलनायक र हत्याराका रूपमा स्थापित गरे । देश जलाउने र आफ्नो राष्ट्रिय पहिचान मेटाउने खलपात्रलाई महानायक बनाए ।’

बादलको बोलीले एमालेलाई भारी परेको छ । एमालेका हस्ती नेताहरू ईश्वर पोखरेल, विष्णु पौडेल, योगेश भट्टराई, गोकर्ण बिष्टलगायतले बादलको बोलीको आलोचना मात्र गरेनन् एमालेको सेना र कर्मचारीतन्त्रप्रतिको विश्वास प्रकट गरे ।

बादलको बोली एमालेलाई भारी परेको बुझेर उनीहरू बचाउमा उत्रिनुपरेको थियो । ओलीको जस्तोसुकै हर्कतलाई साथ र समर्थन गर्ने भएरै बादल एमालेमा महत्त्वपूर्ण पद पाउन सफल भए । तर, उनी एमालेको सूर्यमा कालो बादल बनिरहेका छन् । बादलका कारण एमालेको साख झन् गिर्दाे छ ।

प्रतिक्रिया दिनुहोस्