
काठमाडौं । नेकपा (एमाले)ले आफ्नो प्रचार सामग्रीमा अध्यक्ष केपी शर्मा ओलीको तस्वीर राख्न छाडेको छ । एमालेले भोलि (बुधबार) कम्युनिष्टको पार्टीको ७७औँ स्थापना दिवस मनाउँदैछ । त्यस अवसरमा केन्द्रीय कार्यालय च्यासलमा विशेष कार्यक्रम आयोजनाको तयारी भएको छ ।
तर, स्थापना दिवसको प्रचार सामग्रीमा ओलीको तस्बिर राखिएको छैन । एमाले महासचिव शंकर पोखरेलले सार्वजनिक गरेको प्रचार सामग्रीमा कम्युनिस्ट पार्टीका संस्थापक सदस्यसँगै एमालेका पूर्व महासचिव मदन भण्डारी र पूर्वअध्यक्ष मनमोहन अधिकारीको मात्र तस्बिर छ ।
एमालेले यसअघिका सबैजसो प्रचार सामग्रीमा अध्यक्ष ओलीको तस्बिर राख्ने गरेको थियो । एमाले सचिवालय बैठकले २ वर्षअघि सार्वजनिक कार्यक्रम सम्बन्धी ५ बुँदे मापदण्ड जारी पार्दै सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्षबाहेक अन्य कसैको पनि फोटो प्रयोग नगर्ने निर्णय गरेको थियो ।
कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन भन्दै एमालेले पार्टी र जनसंगठनहरूले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्षबाहेक अन्यको फोटो प्रयोग नगर्न एमालेले त्यतिबेला आन्तरिक सर्कुलर नै गरेको थियो । तर, गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा अधिकांश एमाले उम्मेदवारले ओलीको तस्बिरबिनै चुनाव प्रचार गरेका थिए ।
चुनावमा ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा ५ बाहेक अन्त कतै गएर चुनावी सभालाई सम्बोधनसमेत गरेका थिएनन् । पछिल्लो समय एमालेभित्र नेतृत्व परिवर्तनको बहस तीव्र भइरहेका बेला कम्युनिष्ट पार्टीको स्थापना दिवसमै आयोजना हुने कार्यक्रमका प्रचार सामाग्रीमा ओलीको तस्वीर नराखीएको हो ।











