काठमाडौं । सर्वोच्च अदाललते महान्यायाधिवक्ता डा.नारायणदत्त कँडेलको नियुक्तिविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाऊ आदेश जारी गर्दै छलफलका लागि दुवै पक्षलाई बोलाएको छ ।

महान्यायाधिवक्ता कँडेलको नियुक्ति असंवैधानिक दाबी गर्दै अधिवक्ताहरू माधव कुमार बस्नेत, दिपकराज जोशी, शिवराज बरालसमेतलगायतले बुधवार सर्वोच्चमा रिट दायर गरेका हुन् । अयोग्य व्यक्तिलाई महान्यायाधिवक्ताजस्तो पदमा नियुक्त गरेको रिट निवेदनमा उल्लेख गर्दै कँडेलले निरन्तर १५ वर्ष वकालत नगरेको दाबी गरिएको छ ।
महान्यायाधिवक्ता हुन कानुनमा स्नातक उपाधि प्राप्त गरी वरिष्ठ अधिवक्ता वा अधिवक्ताको हैसियतमा कम्तीमा १५ वर्ष निरन्तर वकालत गरेको र वा कम्तीमा १५ वर्षसम्म न्याय वा कानुनको क्षेत्रमा काम गरी विशिष्ट कानुनविदको रूपमा ख्याति प्राप्त गरेको हुनुपर्ने कानुनी व्यवस्था रहेको छ ।
प्रधानमन्त्री बालेन शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत चैत्र २२ गते डा.कँडेललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेका थिए ।











