काठमाडौं। संयुक्त अरब इमिरेट्स (युएई) ले इरानतर्फबाट प्रहार गरिएका दर्जनौँ क्षेप्यास्त्र र ड्रोनहरू अवरोध गरिएको दाबी गरेको छ ।

युइएको रक्षा मन्त्रालयका अनुसार इरानबाट प्रहार गरिएका १२ वटा बैलिस्टिक क्षेप्यास्त्र, ३ वटा क्रुज क्षेप्यास्त्र र ४ वटा ड्रोनलाई रक्षा प्रणालीले निष्क्रिय पारेको जानकारी दिएको हो । उक्त आक्रमण रोक्ने क्रममा ३ जना घाइते भएको मन्त्रालयले जनाएको छ । साथै हालसम्म इरानतर्फबाट प्रहार गरिएका कुल ५४९ बैलिस्टिक क्षेप्यास्त्र, २९ क्रुज क्षेप्यास्त्र र २ हजार २६० ड्रोनलाई युएईको रक्षा प्रणालीले रोकिसकेको दाबी गरिएको छ ।
घटनामा हालसम्म २२७ जना घाइते भएका छन् । घाइतेमध्ये विभिन्न देशका नागरिक रहेका छन् । इरानी आक्रमणमा युएईका ३ सैनिकको ज्यान गएको बताइएको छ । तीमध्ये एक मोरक्कोका नागरिक थिए, जो सशस्त्र बलसँग सम्झौतामा कार्यरत थिए ।
यसैबीच कुल १० जनाको मृत्यु भएको छ । मृतकमध्ये पाकिस्तान, नेपाल, बङ्गलादेश, भारत, मिस्र तथा प्यालेस्टाइनका नागरिक रहेका छन् ।
रक्षा मन्त्रालयले देशको सुरक्षा प्रणाली पूर्ण रूपमा तयारी अवस्थामा रहेको जनाएको छ । कुनै पनि खतरासँग डटेर सामना गर्ने र राष्ट्रको सुरक्षा, स्थायित्व तथा हितको रक्षा गर्न आवश्यक सबै कदम चालिने मन्त्रालयले स्पष्ट पारेको छ ।












