Logo
Logo

सरकारले संसद छलेर ल्याएको आठै अध्यादेश जारी


882
Shares

काठमाडौं । सरकारले सिफारिस गरेको सबै अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका छन् ।

पछिल्लो पटक मंगलबार वैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन्। यसअघि सात वटा अध्यादेश जारी गरेका थिए ।

सरकारले आठ वटा अध्यादेश पठाएको थियो । त्यसमध्ये सात वटा अध्यादेश सहजरुपमा जारी भए पनि संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा विवाद भएको थियो ।

राष्ट्रपति पौडेलले पुनर्विचारका लागि वैशाख १४ मा अध्यादेश फिर्ता पठाएका थिए । तर, सोमबार बसेको मन्त्रिपरिषद् बैठकले फेरि हुबहु सिफारिस गर्ने निर्णय गरेको थियो । त्यसपछि राष्ट्रपति पौडेलले आज उक्त अध्यादेश जारी गरेका हुन् ।

यसअघि वैशाख २० मा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ अध्यादेश जारी गरेका थिए। त्यसअघि वैशाख १९ मा तीन वटा अध्यादेश जारी गरेका थिए ।

जसमा स्वास्थ्य विज्ञान प्रतिष्‍ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश र विश्‍वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ रहेका थिए ।

त्यस्तै, वैशाख १८ मा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिँ) निवारण (तेस्रो संशोधन) अध्यादेश र वैशाख १७ मा सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका थिए ।

पहिलो अध्यादेश वैशाख १७ मै जारी भएको थियो । जुन, सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ रहेको थियो । आह्वान गरिसकेको अवस्थामा संसद् बैठक स्थगित गरेर अध्यादेश ल्याएपछि सरकारको चर्को आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्