Logo
Logo

काठमाडौंलाई सडक मानवमुक्त बनाउने अभियान, पहिलो दिन ३६ जनाको उद्धार


0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकालाई ‘सडक मानवमुक्त’ बनाउने अभियानअन्तर्गत पशुपति क्षेत्रको तिलगंगामा ‘स्क्रिनिङ सेन्टर’ (होल्डिङ सेन्टर) सञ्चालनमा ल्याइएको छ ।

काठमाडौं महानगरपालिका, पशुपति क्षेत्र विकास कोष र मानव सेवा आश्रमको संयुक्त पहलमा वैशाख २२ गतेदेखि तिलगंगामा उक्त सेन्टर सञ्चालन गरिएको हो । अभियानको पहिलो दिन पशुपति क्षेत्रका विभिन्न स्थानबाट ३६ जना सडक सहयोगापेक्षीहरूको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये २८ जनालाई सेन्टरमा राखिएको छ भने केही व्यक्तिहरू सेन्टरको पर्खाल नाघेर भागेका थिए । उद्धार गरिएकामध्ये ५० प्रतिशतभन्दा बढीलाई सोही दिन साँझसम्ममा परिवारसँग पुनर्मिलन गराइएको महानगरले जनाएको छ ।

महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सेन्टरको स्थलगत निरीक्षण गर्दै पूर्वाधार, स्वास्थ्य सुविधा र व्यवस्थापनबारे जानकारी लिएकी छन् । सो क्रममा उनले उद्धार गरिएका व्यक्तिहरूसँग कुराकानी गर्दै उनीहरूको पारिवारिक अवस्था र सडकमा आउनुपर्ने कारणबारे चासो राखेकी थिइन । उनले सडकमा आश्रितहरूको व्यवस्थापन गर्दा पारिवारिक पुनर्मिलनलाई प्राथमिकता दिइने र असहाय एवं बेवारिसेलाई मात्र आश्रममा राखिने प्रष्ट पारिन् ।

महानगरले हाल बिहान, दिउँसो र राति गरी तीनवटा सिफ्टमा उद्धार टोली परिचालन गरिरहेको छ । विशेषगरी पशुपति लगायतका धार्मिक र पुरातात्विक क्षेत्रमा सडक आश्रितहरूको संख्या धेरै भएकाले ती क्षेत्रमा केन्द्रित भएर काम भइरहेको छ । स्क्रिनिङ सेन्टरको स्थापनासँगै अब उद्धार गरिएका व्यक्तिहरूको वास्तविक अवस्था पहिचान गर्न सहज हुने र अभियानले थप गति लिने महानगरको विश्वास छ ।

कार्यवाहक प्रमुख डंगोलकाअनुसार सडकमा रहेका असहाय तथा अलपत्र नागरिकहरूको उचित व्यवस्थापनका लागि महानगरको टोली बिहान, दिउँसो र राति गरी तीन सिफ्टमा खटिएको छ । विशेषगरी पशुपति लगायतका मठमन्दिर र सम्पदा क्षेत्रमा देखिएका समस्या समाधान गर्न पशुपति क्षेत्र विकास कोषसँगको समन्वयमा काम भइरहेको उनले जानकारी दिइन् ।

महानगरले सञ्चालनमा ल्याएको स्क्रिनिङ सेन्टरले सडकबाट उद्धार गरिएका व्यक्तिहरूको अवस्था वर्गीकरण गर्नेछ । पारिवारिक अवस्था भएका, असहाय, अशक्त र उपचारको आवश्यकता भएका व्यक्तिहरूलाई छुट्टाछुट्टै व्यवस्थापन गर्न यस केन्द्रले सहज बनाउने महानगरको विश्वास छ ।

महानगरपालिकाले सडकमा कोही पनि नागरिक भोकै बस्न नपरोस् र कसैले पनि सडकमा कष्टपूर्ण जीवन व्यतित गर्नु नपरोस् भन्ने उद्देश्यका साथ यो अभियान सञ्चालन गरेको हो । यसबाट सडकमा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग पुग्ने र नागरिकले सरकारको अभिभावकत्व महशुस गर्ने डंगोलले बताइन् ।

महानगरपालिकाले यस अभियानलाई सफल बनाउन आम नागरिकसँग सहयोगको अपेक्षा गरेको छ । सडकमा कोही पनि व्यक्ति अलपत्र परेको वा बिरामी अवस्थामा भेटिएमा मानवसेवा आश्रमको सार्वजनिक गरिएको टेलिफोन नम्बरमा सम्पर्क गर्न महानगरले अनुरोध गरेको छ । यो कार्य सबैको साझा दायित्व भएको भन्दै कार्यवाहक प्रमुख डंगोलले यसमा सबै पक्षलाई हातेमालो गर्न आग्रह गरिन् ।

पहिलो दिन उद्धार गरिएकाहरूमा ६ जना महिला र २२ जना पुरुष छन् । उनीहरू २५ देखि ७८ वर्ष उमेर समूहका छन् । ठेगानाका आधारमा उनीहरू सोलुखुम्बु, सर्लाही, मकवानपुर, सुनसरी, मोरङ, बारा, महोत्तरी, खोटाङ, धनकुटा, सुर्खेत र दोलखा लगायतका जिल्लाका रहेका छन् । उद्धार गरिएकामध्ये चार जनामा मानसिक स्वास्थ्य समस्या देखिएको छ भने एकजना ज्येष्ठ नागरिक कुकुरको टोकाइबाट घाइते भएका छन् । ह्विलचेयर र वैशाखी प्रयोगकर्ताहरूलाई पनि सेन्टरमा ल्याएर आवश्यक उपचार र स्याहारको व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्