काठमडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतको केरला राज्यमा भएको वामपन्थी हारसँग जोडेर नेपालको वामपन्थी आन्दोलन संकटमा परेको विश्लेषण गर्नु गलत हुने बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘भारतको केरला राज्यमा भएको वामपन्थीको हारसँग जोडेर नेपालको वामपन्थी आन्दोलन संकटमा परेको भनेर विश्लेषण गर्न थालिएको छ । जबकि केरलामा प्रायः प्रत्येक निर्वाचनमा सत्ता परिवर्तन हुँदै आएको इतिहास छ । अपवादका रूपमा अघिल्लो निर्वाचनमा वाम गठबन्धन पुनः सत्तामा दोहोरिएको थियो ।’
नेपालको वामपन्थको भविष्य कुनै एक चुनावी परिणामले नभइ त्यसका भविष्यमुखी एजेन्डा, जनता, राष्ट्रको हितका पक्षका गतिविधि र जनतासँगको सम्बन्धका आधारमा निर्धारण हुन भन्दै पोखरेलले अहिलेको हार केवल वामपन्थको मात्र हार होइन नभइ नेपालको समग्र लोकतान्त्रिक शक्तिहरूको हार भएको उल्लेख गरेका छन् ।
अहिलेको मुख्य विषय नेपालको लोकतान्त्रिक आन्दोलनको आधारका रूपमा रहेका शक्तिहरूले हारको कारण खोज्नु, त्यसको गम्भीर समीक्षा र मूल्यांकन गर्नु, तथा सुरक्षित लोकतान्त्रिक भविष्य निर्माणका लागि पुनर्जागरण र पुनर्गठनको स्पष्ट योजना तयार गर्नु भएको उनले बताए ।
संकट र चुनौतीको समयमा निराशा र पलायनता अवसरवादी र कायरहरूको बाटो भएको भन्दै उनले एउटा क्रान्तिकारीले संकट र चुनौतीलाई सामना गर्ने र प्रतिकूलतालाई अनुकूलतामा बदल्ने काम गर्ने बताएका छन् ।












